ओलीको नजरमा यस्तो छ देश पछाडि पर्नुको कारण (भिडिओ) – Nepal Press

ओलीको नजरमा यस्तो छ देश पछाडि पर्नुको कारण (भिडिओ)

भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको टिप्पणी गरेका छन् ।

मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले कुनै श्राप परेर नेपाल पछि परेको नभई सत्ता र स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गरे ।

नेपाल गरिब हुनुको कारण सत्तासीनहरूको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुनु र चासो नहुनु रहेको ओलीको भनाइ छ ।

उनले भने, ‘सरकार उपयुक्त बनेन भने, दृष्टिकोण भएको सरकार बनेन भने, देशप्रति इमान्दार सरकार बनेन भने जनता र जनताका हीतहरुप्रति सरकार जवाफदेही भएन भने देश गरिब हुन्छ । पछाडि पर्छ । कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन । सत्ता स्वार्थ भएर आत्मकेन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ ? नेपाल गरिब हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुने, चासो नहुने त्यसकारण हो ।’

भोजपुर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा ओलीलाई जिल्ला अध्यक्ष शरणकुमार राईले भोजपुरे खुकुरी, षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले रुद्राक्षसहित बालागुरु षडानन्दको फोटो, भोजपुरकी उपमेयर निर्मला शेर्पाले टक्सारको करुवा मायाको चिनोस्वरूप उपहार दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर