मध्यबजारमा अलकत्रा पोल्दै ठेकेदार, जनताको स्वास्थ्यमाथि खेलवाड – Nepal Press

मध्यबजारमा अलकत्रा पोल्दै ठेकेदार, जनताको स्वास्थ्यमाथि खेलवाड

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको घनाबस्तीबीचमा अलकत्रा पकाएको कालो धुवाँको मुस्लोले यहाँका नागरिकले सास्ती पाएका छन् । ठेकेदारको दबाबका कारण घनाबस्तीबीच नै अलकत्रा जलाउने गरिएको छ । जसका कारण स्थानीयलाई समस्या परेको छ ।

अन्य ठाउँमा विकल्प हुँदाहुँदै पनि खड्का निर्माण सेवाले बस्तीको बीचमा अलकत्रा पोल्ने काम गर्दै सताएको गुनासो स्थानीयको छ ।

सधैँ व्यस्त रहने मङ्गलगढी चोक मुख्य क्षेत्र नजिकै रहेको पुरानो बसपार्कमा धुवाँ प्रदूषण हुने गरेको छ । जुन ठेकेदारको लापरबाहीले आम जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको मङ्गलगढी चोकमा व्यवसायी गर्दै आएका वसन्त सिग्देल बताए ।

‘यो चोक आसपासमा दैनिक हजारौँ मानिसले आवतजावत गर्ने गरेका छन् । बसपार्क, मङ्गलगढी चोक, क्याम्पस लाइन, वीरेन्द्रचोक, हटिया लाइन र घण्टाघर आसपासका नागरिक बढी जोखिममा पर्ने गरेका छन् ।’ उनले भने– ‘वीरेन्द्रनगरमा विकास हुने क्रममा ३ महिना सहेर बस्यौँ । तर, यो सधैँको यस्तै हो भने यहाँ बस्न नै गाह्रो भयो । अब ४७ वटै सडक कालोपत्रे हुँदासम्म हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा अब हामी सहेर बस्न सक्दैनौँ । यो बन्द गर्नका लागि प्रशासन, नगरपालिका र वडामा पटक पटक निवेदन दियौँ । कसैले पनि सुनुवाइ गरेको छैन । जनताको स्वास्थ्यभन्दा विकास होइन होला नि ? अन्यत्र यति धेरै विकल्प छँदै छ ।’

सोही क्षेत्रमा होटल व्यवसाय गर्दै आएकी सुमिता ढुङ्गानाले अलकत्रा पोलेको गन्ध र धुवाँले ग्राहकहरू आउनै छाडेको बताइन् । उनले भनिन्– ‘कालो धुवाँको मुस्लो बिहानदेखि साँझसम्म निस्किन्छ । नाक, आँखा एकदमै पोल्छ । श्वास फेर्न पनि गाह्रो हुन्छ । यो समस्या भोगेको महिनौँ भयो अहिलेसम्म रोकिँदैन । यो धुवाँ एकदमै धमिलो, कालो र गन्हाउने हुँदा मुख छोपेर बस्नुपर्छ ।’

निर्माण सेवाले वीरेन्द्रनगरका भित्री ४७ वटा सडक कालोपत्रे गर्न जिम्मा लिएको छ । जसमा हालसम्म १२÷१३ वटा सडक कालोपत्रे गरिसकेको छ । निर्माण कम्पनीले वीरेन्द्रनगर नगरपालिकासँग डेढ वर्ष पहिला ०८० असार मसान्तसम्म काम सक्ने गरेर सम्झौता गरेको निर्माण व्यवसायी टेकबहादुर खड्काले नेपाल प्रेसलाई जानकारी दिए । तर, उक्त काम सम्झौताअनुसार समयमा नसकिएको हुँदा सारिएको उनको भनाइ छ ।

उनले भने, ‘अब सबै ठाउँबाट दबाब आएको हुँदा यसलाई बन्द गर्ने अथवा काम रोक्ने की के गर्ने भन्ने विषयमा हाम्रो छलफल हुँदै छ । नगरपालिकासँग पनि यसको विषयमा कुरा भइरहेको छ ।’

वीरेन्द्रनगर नगरपालिकाभित्रका सडक खड्का निर्माण व्यवसायीले गर्दै आएको हुनाले नगरपालिकाले नै उक्त स्थानमा काम गर्नका लागि ठाउँ दिएको नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले बताए ।

उनका अनुसार नगर प्रमुखले निर्माण कम्पनीलाई बोलाएर यसको विषयमा कुराकानी भइरहेको जानकारी दिए । निर्माण कम्पनीले ठाउँ खोजिरहेको र स्थानीयले कुनै ठाउँमा काम गर्न नदिने हुँदा समस्या भएको उपप्रमुख खनालको भनाइ छ ।

उनले भने, ‘निर्माण कम्पनीले कि ठाउँ हुनुपर्‍यो की काम बन्द गर्छु भनेको छ । अब यसको कोर्डिनेसन गरेर छिट्टै नै टुङ्गाउँछौं । यसले मानिसको स्वास्थ्यमा असर त परेको छ । अब यसको छिटोभन्दा छिटो समाधान गर्छौँ ।’

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा. नवराज केसीले चिसोमा जुन सतहमा श्वासप्रश्वास लिन्छौँ त्यो सतहको हावाहरूको घनत्व बाक्लो हुने हुँदा धूम्रपान, आगोबाट निस्केको धुवाँ, अलकत्राको धुवाँले मानिसले श्वास फेर्ने सतहमा लामो समयसम्म रहने हुँदा विभिन्न खालका समस्या देखिन सक्ने र यसले जनस्वास्थ्यमा गम्भीर असर पार्ने बताउँछन् ।

गर्मीमा हुरी लागेको, पानी परेको समयमा एकदमै छिट्टो हराउने तर जाडोमा लामो समय रहने भएकाले धेरै असर गर्ने उनको भनाइ छ ।

‘हाम्रो इक्सोपर टाइम बढ्छ । मिनेट र घण्टौँसम्म त्यसैले श्वास फेर्नुपर्ने हुँदा शरीर र फोक्सोभित्र गइसकेपछि अनेकै प्रकारका रोग लाग्ने सम्भावना हुन्छ,’ उनले भने, ‘जसका कारण श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण, रुघाखोकी, निमोनिया, स्वास्थ्यमा, फोक्सो, घाँटीको क्यान्सर, एलर्जी हुने गर्छ । बस्तीको बीचमा अलकत्राको धुवाँ प्रदूषण हुनु धेरै खतरा हो, प्रशासन र नगरपालिकाले गम्भीर रूपमा ध्यान दिनुपर्ने हो तर यो देखिएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर