लागू औषधको ट्रान्जिट बन्दै कैलाली, क्विन्टलमा बरामद हुन्छ चरेस – Nepal Press

लागू औषधको ट्रान्जिट बन्दै कैलाली, क्विन्टलमा बरामद हुन्छ चरेस

कैलाली । पछिल्लो समय कैलालीबाट अवैध लागू औषध भित्रिने क्रम बढेको छ । खुल्ला सीमानाकाको फाइदा उठाउँदै तस्करहरूले लागू औषधलाई भारबाट नेपालसम्म पुर्‍याइइरहेका छन् ।

प्रहरीले लागू औषध प्रयोगकर्ता पक्राउ गरिरहेको भए पनि अझै सम्म कारोबारीलाई भने हात लगाउन सकेको छैन ।

प्रहरीकै तथ्याङ्क अनुसार यस आर्थिक वर्षको पाँच महिनामा मात्रै लागू औषधका २०२ मुद्दा दर्ता भएका भन् ती मध्ये सबै भन्दा धेरै कैलालीमा छन् । कैलालीमा मात्रै पाँच महिनामा १२२ मुद्दा दर्ता भएका छन् । त्यसपछि कञ्चनपुरमा ६५, डडेल्धुरामा ५ र डडेल्धुरामा २ मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिममा पछिल्लो पाँच महिनामा २८१ जना पक्राउ परिसकेका छन् । ती मध्ये २१ महिला छन् । लागू औषध सम्बन्धी मुद्दामा यो पाँच महिनामा प्रहरीले तीन जना भारतीयलाई समेत पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २०७७/०७८ मा २५३ मुद्दा दर्ता भएको थियो । त्यसपछि ३५३ र गत आर्थिक वर्षमा ५५० मुद्दा दर्ता भएका छन् । पछिल्लो समय खैरो हिरोइन कैलालीबाट ठुलो परिमाणमा भित्रिरहेको छ ।

पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष प्रहरीले १ किलो भन्दा धेरै खैरो हिरोइन बरामद गरिरहेको छ । प्रहरीले चरेस र गाँजा पनि ठुलो परिमाणमा समातिएको छ । अघिल्लो वर्ष ५० किलो बढी गाँजा बरामद गरेको प्रहरीले त्यस अघिको वर्ष १ क्विन्टल भन्दा धेरै चरेस बरामद गरेको थियो ।

अघिल्लो वर्ष १  क्विन्टल ९ किलो चरेस बरामद गरेको प्रहरीले त्यस अघि १ क्विन्टल १२ किलो बढी चरेस बरामद गरेको थियो । यो कारोबारमा संलग्न रहेकाहरू पनि धमाधम पक्राउ परिरहेका छन् । प्रहरीले अघिल्लो वर्ष ७७७ जनालाई पक्राउ गरेको थियो । त्यस अघि ५५३ जना पक्राउ परेका थिए ।

अहिले कैलाली कञ्चनपुरका थुनुवा कक्षमा अन्य मुद्दाका भन्दा बढी थुनुवा लागू पदार्थसँग सम्बन्धी छन् । अहिले सम्मका २६७ थुनुवा मध्ये लागू पदार्थसँग सम्बन्धित मुद्दामा मात्रै १३७ र अन्य सबै मुद्दामा १३० जना थुनुवा रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले जानकारी दिए ।उनका अनुसार पछिल्लो समय लागू पदार्थको बिक्री वितरण र ओसार पसार बढिरहेको छ ।

पछिल्लो समय पुरुषसँगै महिलाहरू पनि यस क्रियाकलापमा संलग्न रहेको पाइएको प्रहरी उपरीक्षक चौधरीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १३ जना महिला पक्राउ परेका थिए । त्यसपछि १८, २१ हुँदै गत आर्थिक वर्षमा ६६ जना महिला यो मुद्दामा पक्राउ परेका हुन् ।

अहिले युवा अवस्थासँगै १० देखी १५ वर्षका बालबालिका पनि लागु पदार्थ ओसार पसार र सेवनमा लागे पछि प्रहरीलाई थप चुनौती थपिएको छ । प्रहरीले ६० वर्ष सम्मका नागरिकहरू पनि यसमा संलग्न रहेको जनाएको छ ।

गत आर्थिक वर्षमा १० देखी १६ वर्ष उमेर समूहका २ जना पक्राउ परेका थिए । १६ देखी २० वर्ष सम्मका १६८ जनालाई पक्राउ गरेको प्रहरीले २१ देखी २५ वर्ष सम्मका ११ जनालाई समात्यो ।

२६ देखी ३० वर्ष सम्मका ९० जना, ३१ देखी ४० वर्ष सम्मका ४९ जना, ४१ देखी ५० वर्ष सम्मका ३३ जना र ५१ देखी ६० वर्ष सम्म २० जना पक्राउ परेको प्रहरीले उपरीक्षक चौधरीले जानकारी दिए ।

विद्यार्थीको चिन्ता, मन्त्रीको आश्वासन

शनिवार बिहानै धनगढीको आस्था होटेलमा धनगढीका विद्यार्थीहरूले सामाजिक विकास मन्त्री झपट साउँदसँग पछिल्लो समय बढिरहेको लागू औषधको प्रयोगका विषयमा चिन्ता व्यक्त गरे ।

युवाका सवालमा सामाजिक विकास मन्त्रीसँग अन्तरक्रिया कार्यक्रममा उपस्थित विद्यार्थीहरूले मन्त्री साउदसँग पछिल्लो जटिल अवस्था र सरकारले पुराउने पर्ने चासो बारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागी नवीन ढुङ्गानाले युवा विदेश पलायन हुने क्रम बढ्नै गइरहेको भन्दै त्यसलाई रोक्न सरकारको योजनाबारे जिज्ञासा राखेका थिए ।

सन्तोष कुमार चौधरीले लागू औषध ओसार पसार तीव्र रूपमा भइरहेको छ र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा चासो राखेका थिए ।

कृष्ण पुजाराले समाजमा आत्महत्या बढिरहेको र सरकारले त्यसलाई न्यूनीकरण गर्न भूमिका खेल्नु पर्ने विषय बताएका थिए । कपिल दत्त भट्टले शिक्षासँगै संस्कार र शिक्षा सँगै सिप अभियान सुरु गर्नु पर्ने बताएका थिए । नमिता हमालले विभिन्न सचेतनामूलक कार्यक्रम मार्फत युवाहरूलाई कुलतबाट टाढा राख्न सकिनेमा जोड दिएका थिए ।

विद्यार्थी तथा युवाहरूको जिज्ञासा पछि मन्त्री साउँदले सबै समस्या समाधानको लागि प्रदेश सरकार लागिरहेको बताएका थिए ।

युवा वर्गमा लागु औषध नियन्त्रणमा राज्यमा सबै निकायहरू गम्भीर बन्न आवश्यक रहेको बताए । ‘अहिलेको अवस्थामा लागु औषध नियन्त्रण गर्न सकिएन भने आगामी १० वर्षमा यसको अवस्था के हुन सक्छ’ उनले भने ।

उनले यस विषयमा अभिभावक पनि सचेत हुन आवश्यक रहेको बताए ।

समाजमा भविष्य नदेखेपछि आत्महत्या बढिरहेको भन्दै मन्त्री साउदले त्यस्ता घटनाहरू रोक्न सामाजिक चेतना जगाउन आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर