राजनीतिक दलको महाधिवेशनमा नागरिक उन्मुक्तिको कीर्तिमान, ८ हजार प्रतिनिधि सहभागी हुने – Nepal Press

राजनीतिक दलको महाधिवेशनमा नागरिक उन्मुक्तिको कीर्तिमान, ८ हजार प्रतिनिधि सहभागी हुने

नाउपाका संरक्षक रेशम चौधरी भन्छन्- हिमाल, पहाड र तराईको साझा पार्टी बन्छ, २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत हुन्छ

धनगढी । नेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने भएको छ ।

पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने पार्टीका संरक्षक तथा संस्थापक नेता रेशमलाल चौधरीले जानकारी दिए ।

नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टिकापुरमा हुँदैछ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने चौधरीले बताए ।

नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सकेसम्म ७७ वटै जिल्लाको प्रतिनिधि गराउन नेताहरूलाई खटाइएको चौधरीले बताए ।

हालसम्म महाधिवेशन प्रतिनिधि चयन भएका जिल्लामा अनुगमन टोली खटाएर उनीहरूको पृष्ठभूमिबारे अध्ययन थालिएको बताए । घुसपैठ नहोस् भनेर अनुगमनकर्ता खटाइएको हो ।

अब पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि कम्तीमा एक पालिकादेखि निर्वाचन क्षेत्रसम्म अनिवार्यरुपमा गएर महाधिवेशन प्रतिनिधि बनाउन १५ दिने सूचना जारी गरिएको चौधरीले बताए ।

जहाँ पार्टीको संगठन विस्तार भइसकेको छैन,त्यहाँ गएर महाधिवेशन प्रतिनिधि चयन गर्ने जिम्मेवारी उनीहरूलाई छ । अनुगमनकर्ताले नै पर्यवेक्षक पनि छनौट गर्ने तर उनीहरूले मतदानको अधिकार भने पाउने छैनन् ।

प्रायः राजनीतिक दलले महाधिवेशन प्रतिनिधि कमभन्दा कम चयन गर्छन् । तर नाउपाले भने ८ हजार प्रतिनिधिका बीच टिकापुरमा महाधिवेशन गर्दैछ । उनीहरूको व्यवस्थापन समेत त्यहीँ गरिनेछ ।

पार्टीको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना रहेको संरक्षक चौधरीले बताए । अहिले पार्टी नेतृत्व भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ चौधरीले गरिरहेकी छन् ।

चौधरीले नाउपालाई हिमाल,पहाड र तराईका जनताको साझा पार्टीका रूपमा विकास गरिने बताए ।

यी हुन् नागरिक उन्मुक्तिका अनुगमनकर्ता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर