जनयुद्धकी घाइते माओवादी लडाकु मञ्जु- जसको एक फोनले सिंहदरबार र बालुवाटारमा ‘हाइ अलर्ट’ – Nepal Press

जनयुद्धकी घाइते माओवादी लडाकु मञ्जु- जसको एक फोनले सिंहदरबार र बालुवाटारमा ‘हाइ अलर्ट’

सुर्खेत । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा मंसिर १९ गते बिहान ८ बजेतिर पूर्व लडाकु महिला मञ्जु धमलाले फोन गरिन् । उनी सचिवालयका लागि अपरिचित भने होइनन् ।

आज भने उनले आफ्ना माग सम्बोधन नगरेर अप्रिय घटना हुने धम्की दिएपछि सचिवालयले तत्कालै सुरक्षा निकायलाई अलर्ट गरायो ।

उनले सरकारले उपचार खर्च हेरेन भने आज सिंहदरबार भित्र २ जनाले विष सेवन गर्ने र २ जनाले शरीरमा पेट्रोल छर्केर आगो लगाउने धम्की दिएकी थिइन् ।

त्यसपछि एकाएक प्रहरी चेकजाँच बढेको फोटो समाचार नेपाल प्रेसमा आएको थियो । धम्की दिने महिला को हुन् भन्ने फलोअप गर्ने क्रममा उनी सम्पर्कमा आइन् र उनको बारेमा थप जानकारी समेत आफैँले दिइन् ।

को हुन् मञ्जु धमला ?

२०६१ साल असोज १६ गते दाङ जिल्लाको धोवीघाट रण मैदानमा परिणत भयो । नेपाली सेना र माओवादी छापामारहरुबीच भीषण बमबारी चल्यो ।

अत्याधुनिक हतियारका विषालु गोलीहरू दुवै पक्षबाट चले । त्यही लडाइँमा कालिकोट रास्कोट नगरपालिका–८ बाहुनथानकी मञ्जु धमला पनि माओवादी छापामारका रूपमा सहभागी थिइन् । लडाइँका क्रममा मञ्जु धमलाको खुट्टामा गोली लाग्यो ।

गोली लागेको १६ दिनपछि उनले भारतको चण्डीगढमा उपचार गराएकी थिइन् । धमलाले त्यहाँ ३ वटा अप्रेसन गरिन् । गोली निकाल्ने काम भयो खुट्टा रड हालिन् ।

देब्रे खुट्टाको हिपको पछाडिबाट गोली लागेर अगाडि निस्किनुका साथै कम्मरको जोइन भाँचिएर नशा पनि चुँडिएको धमलाको भनाइ छ ।

धमलाले हालसम्म २८ वटा अप्रेसन गरिसकेकी छन् । बेलाबेलामा खुट्टामा घाउ आउने गरेको र घाउलाई निको पार्नका लागि खुट्टाको मासु पटक पटक काटेर घाउ पुर्ने गर्दा खुट्टा नै क्षतविक्षत भएको उनी सुनाउँछिन् ।

उनलाई हिँडडुल गर्न पनि असहज हुने गरेको छ । वैशाखी र लौरीको सहारामा खुट्टा लतार्दै हिँड्ने गरेको धमलाले बताइन् । गोली लागेको २० वर्ष भयो तर, सरकार र पार्टी नेतृत्वले केही नगरेको उनको गुनासो छ ।

उनले ११० पटक खुट्टा प्लास्टर गरिसकिन् । २८ वटा अप्रेसनमा अब ३ वटा अप्रेसन बाँकी छ । रगतनली जोड्ने, ढाडको नशा च्यापिएको र खुट्टा पैतालाको आर्थोथेसिसको अप्रेसन बाँकी रहेको उनको भनाइ छ ।

धमला भन्छिन्– २६ पटक नेपालमा अप्रेसन गरेर भ्यागुतो सरहको जिन्दगी भयो । अब म नेपालमा अप्रेसन गर्दिनँ । एक पटक सरकारको जिम्मेवारी हो भने बाहिर लिएर दिल्ली अथवा विदेशमा कतै उपचार गरिदेऊ भनेर धर्नामा पनि बसेकी छु ।

सरकारले नेपालमा नै उपचार गर्न भनेको र आफूले यहाँ उपचार नगर्ने बताएको उनको भनाइ छ ।

उनले भनिन्- हामी संघर्ष गरेर आएका हौँ । पार्टीको एजेन्डा बोकेर सुशासनका लागि लडेका घाइते हौँ । देशका घाइते हौँ । देशका लागि लडेकाले पेन्सन र राहत पाएका छन् । हामी निस्वार्थ रूपमा घाइते भएका मान्छे हौँ । हामी सरकारकाविरुद्ध माइतीघर अथवा सिंहदरबारमा जहाँ भए पनि आन्दोलन गर्ने हो । जहिले सम्म न्याय पाइँदैन । सरकारले उपचार गरेन भने निरन्तर रूपमा आन्दोलन गर्ने हो ।

पति पत्नी दुवै जनयुद्धका घाइते

उनका श्रीमान् पनि जनयुद्धका घाइते हुन् । श्रीमानको पनि आँखा, पाखुरा, पेट र टाउकोमा गोलीको छर्रा लागेको छ । दाहिने आँखाको रगत नली सुकेको धमालाले नेपाल प्रेसलाई बताइन् ।

कक्षा १२ मा अध्ययनरत १७ वर्षका छोरा र ७ कक्षामा पढ्ने १२ वर्षकी छोरीको शिक्षाका लागि उनका श्रीमान् वैदेशिक रोजगारीमा मलेसिया र दुबई गए । तर, केहि वर्षपछि आँखाले राम्रोसँग काम नगरेपछि नेपाल फर्किए ।

उनी भनिन्छन्- हाम्रो पेशा भनेको कृषि हो । यो अपाङ्ग शरीरले काम गर्न पनि सक्दैन । छोराछोरीको पढाइ खर्च पुराउन हम्मे हम्मे भएको छ । अरू केही विकल्प छैन ।

यदि सरकारले उपचार खर्च हेरेन भने आज सिंहदरबार भित्र २ जनाले विष सेवन गर्ने, २ जनाले शरीरमा पेट्रोल छर्केर आगो लगाउने र प्रधानमन्त्री र गृह मन्त्रालय अगाडि १२५ जना सडकमा सुतेर आन्दोलन गर्ने चेतावनी दिएको उनले स्वीकार गरिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उपचारका लागि भनेर अर्थ मन्त्रालयलाई दुई पटक चिठी लेखिसकेको उनको भनाइ छ ।

यस्तै, उपचारका लागि आर्थिक सहायता भनेर क्याबिनेटमा पास हुँदा पनि अर्थ मन्त्रालयले पैसा दिन मानेको छैन । यदि पैसा दिन मानेन भने आज अर्थ मन्त्रालयमा नै झडप गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर