विक्षिप्त छन् भूकम्प प्रभावित क्षेत्रका बालबालिका – Nepal Press

विक्षिप्त छन् भूकम्प प्रभावित क्षेत्रका बालबालिका

पश्चिम रुकुम । ९ वर्षका प्रमिस चन्द प्रत्येक दिन आफ्नो भत्किएको घरमै घोत्लिन्छन् ।

पश्चिम रुकुम सानोभेरी गाउँपालिकामा रहेको सानोभेरी मावि बलिबाङमा कक्षा ४ मा पढ्दै गरेका चन्दको लत्ताकपडा देखि पाठ्य सामाग्री कुनै पनि बचेन ।

अहिले सम्म पनि किताब कपि भूकम्पमै पुरिएको छ । चन्दलाई सबै भन्दा ठूलो पीडा आफ्नो भाइ निर्जाल बितेकोमा छ ।

सँगै विद्यालय जाने देखि खेल्ने सम्मको सानो भाइ भूकम्पमा पुरेर बितेपछि उसको मनस्थितिमा चोटो पुगेको छ प्रमिसको बुवा लोकबहादुर भन्छन् ‘किताब कलम पुरिएका छन् घर विद्यालय भत्किएका छन् बालबालिकामा ठूलो चोट पुगेको छ ।’

साँझ अबेर सम्म बाहिर बस्ने यहाँका बालबालिकाहरू अहिले एक्लै बाहिर बस्दैनन् । शौचालय जाँदा पनि डरका कारण बाहिर एक जना बस्नु परेको उनका बुवाले सुनाए ।

‘हामीलाई डर लाग्छ । फेरि भूकम्प आउँछ र हामीलाई पनि पुर्छ कि जस्तो लाग्छ’ कक्षा ५ मा अध्ययन गरिरहेका अर्जुन ओली भन्छन्, ‘सबै किताब कपि पुरिए अब कसरी पढ्ने भन्ने चिन्ता छ ।’

बालबालिकामा भूकम्पले बढी मानसिक तनाव दिएको भन्दै केही दिन अघि सम्म यहाँ सामूहिक खाने बस्ने व्यवस्था गरिएको थियो ।केहि दिन बलिबाङ हेल्थ पोस्टमा खेलौना राखेर मनोरञ्जन दिइएको थियो ।

अहिले भूकम्पका पराकम्पनहरु आउन छोडेपछि बालबालिका अभिभावकसँग आफ्नो पुरानो घरमा फर्किएका छन् । बेला बेला उनीहरू तर्सिने, डराउने र झस्किने गरेको ८७ वर्षका केशव बहादुर चन्द बताउँछन् ।

केशवसँगै उनकी पत्नी पानकुमारी चन्दा र १६ वर्षका कमल चन्द भूकम्पमा पुरिएका थिए । करिब २ घण्टा पछि उनीहरूको उद्धार गरियो । शरीर पुरिएर मुख बच्चा आफू जोगिएको केशवलाई लाग्छ । केशव पत्नीको अहिले काठमाडौँमा उपचार भइरहेको छ । छोरा बेलाबेलामा त्रसित हुने गरेको केशवले बताए । ‘अहिले ताहावा लाग्दा पनि भूकम्प गरेको हो कि भनेर तर्सिन्छ’ उनले भने, ‘यहाँ धेरै बालबालिका प्रभावित छन् ।’

उद्धार र पुनर्निर्माणमा खटिएका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भरत शाह पनि भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूको लागि मनोपरामर्शदाता आवश्यकता रहेको बताउँछन् ।

‘धेरै ठाउँका बालबालिका किताब पुरियो भन्ने चिन्तामा रहेको देखियो । साथीभाइ गुमाएको पीडा पनि छ’ उनले भने, ‘तत्काल मनोपरामर्शदाताबाट उनीहरूलाई बुझाउन आवश्यक देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर