बुटवलमा सिद्धार्थ केबलकार सञ्चालनको अन्तिम तयारीमा, लुम्बिनीसँग हुने भयो प्रतिस्पर्धा – Nepal Press

बुटवलमा सिद्धार्थ केबलकार सञ्चालनको अन्तिम तयारीमा, लुम्बिनीसँग हुने भयो प्रतिस्पर्धा

रुपन्देही । बुटवलमा लुम्बिनी केबलकारपछि सिद्धार्थ केबलकार सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

२०७७ सालको फागुनमा ९ दिनको अन्तरमा शिलान्यास भएका यी दुई केबलबारमध्ये बुटवलबाट पाल्पाको बसन्तपुर जाने लुम्बिनी केबलकार जेठबाट सञ्चालनमा आइसकेको छ । बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म चल्ने सिद्धार्थ केबलकार मंसिरभित्र सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको छ ।

निर्माण थालेको दुई वर्षभित्रै केबलकार सञ्चालनमा ल्याउने योजनासहित काम थालिए पनि कोरोना महामारी र आर्थिक संकटले केही ढिलाइ भएको कम्पनीले जनाएको छ । कम्पनीले तिहारपछि केबलकार सञ्चालन गर्ने गरी तयारी भइरहेको जनाएको हो ।

लुम्बिनी केबलकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेका थिए । सोही वर्षको फागुन ९ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ केबलकारको शिलान्यास गरेका थिए ।

कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरूङले तिहारलगत्तै केबलकार परीक्षण गर्ने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार एक अर्ब रूपैयाँ लगानीमा केबलकार बनिरहेको छ ।

बुटवलको नुवाकोट डाँडाको ऐतिहासिक महत्व भएकाले इतिहासबारे जान्न खोज्नेहरुका लागि यो ठाउँ महत्वपूर्ण रहने नुवाकोट विकास समितिका अध्यक्ष तथा केबलकारका सञ्चालक माधव नेपाल बताउँछन् । नेपाली सेनाका तत्कालीन कर्णेल उजिर सिंहको कमान्डमा ब्रिटिस फौजलाई परास्त गरेको जितगढी किल्ला र राजा मणिमुकुन्द सेनको शीतकालीन दरबारको शीर हुँदै मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको पाल्पाको नुवाकोटसम्म पुग्ने भएकाले यसको ऐतिहासिक महत्व रहेको उनले बताए । मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा पर्दै आएको छ ।

देउराली डाँडादेखि केबलकारमा ७ मिनेट यात्रापछि नुवाकोट पुग्न सकिनेछ । यो यात्रा बुटवल बजार अवलोकन गर्दै हरियाली जंगलमाथिबाट हुनेछ । चुरे क्षेत्रमा पाइने जंगली जनावर र चराचुरूंगी पनि देख्न सकियोस् भनेर सुरूका टावर होचो बनाइएको छ । आधा किलोमिटरभन्दा माथि पुगेपछि भने तिनाउ नदी, बुटवल, भैरहवा, भारतको नौतनहवा र गोरखपुरसम्मको दृश्यावलोकन गर्दै नुवाकोट पुग्न सकिने नेपालले बताए ।

केबलकारको टप स्टेसनमा होटल तथा रिसोर्ट निर्माण भइरहेको छ । त्यहाँ बगैंचा र सिद्धार्थ गौतम बुद्ध संग्रहालय पनि बनाइने कम्पनीले जनाएको छ । अहिले केबलकारको बटम स्टेसन रहेको बुटवलको देउराली डाँडामा पार्क निर्माण भइरहेको छ । केबलकारका अध्यक्ष गुरूङले अहिलेसम्म केबलकारतर्फ ८५ र पूर्वाधारतर्फ ६५ प्रतिशत काम सम्पन्न भएको बताए ।

उनका अनुसार बटम स्टेसनमा वाटर फाउन्टेनसहितको बगैंचा निर्माण गरिनेछ । यहाँ कफी सप र रेस्टुरेन्टसमेत निर्माण गरिनेछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेकाले यहाँ कमलको फूल आकारमा लोटस पार्क निर्माण गरिने अध्यक्षन गुरुङले बताए । पार्कमा सिद्धार्थ गौतमका सात वटा पाइलाको प्रतीक पनि राखिनेछ ।

‘सिद्धार्थ गौतम जन्मिनेबित्तिकै सात पाइला हिँडेका थिए भनिन्छ । त्यसैको सम्झनास्वरूप कमलको फूल आकृतिमा ६ पाइला बटम स्टेसनमा रहने छन् भने सातौं पाइला टप स्टेसनमा रहने छ’, अध्यक्ष गुरूङले भने, ‘टप स्टेसनमा कमलको फूलको आकृतिसहितको सातौं पाइलामाथि गौतम बुद्धको ५० फिट अग्लो मूर्ति बनाइनेछ ।’

बुटवलदेखि नुवाकोटसम्म केबलकार सञ्चालनपछि पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । २५ वटा गोन्डुला (केबलकारको बाकस) रहने केबलकारको क्षमता अधिकतम दैनिक १० हजारसम्म रहेको कम्पनीले जनाएको छ ।

यसअघि बुटवलदेखि साँघुरो जंगलको बाटो हुँदै नुवाकोट जानुपर्थ्यो । केबलकार निर्माणको तयारी थालिएपछि बुटवलको बेलवास शान्तिचोकदेखि ११ किलोमिटर पर्यटन मार्ग निर्माण गरिएको छ । सिद्धबाबाको बाटोमा समस्या आउँदा त्यसको वैकल्पिक मार्गको रुपमा पनि यसलाई प्रयोग गरिँदै आएको छ ।

सिद्धार्थ केबलकारको गुरूयोजनाअनुसार टप स्टेशनमका बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुम्बा, भ्यूटावर, स्वास्थ्य केन्द्रलगायतका संरचना तयार हुनेछन् ।

सञ्चालक नेपालका अनुसार नुवाकोटमा हिल साइड रिसोर्ट सञ्चालन गरिनेछ । केबलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटसम्म ल्याउन सकिने उनी बताउँछन् ।

उनका अनुसार नुवाकोटमा जितगढी युद्धको झल्को दिने गरी कुनै पनि कला देखाउन सके पर्यटकको आकर्षण बढ्न सकिने भएकाले त्यसबारे पनि योजना बनिरहेको छ ।

सामुदायिक वनको ६.०९८ हेक्टर क्षेत्र ३० वर्षका लागि भोगाधिकार लिएको केबलकारले सोही क्षेत्र बराबर पाल्पामा जग्गा किनेर वृक्षरोपण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । नुवाकोटमा केबलकार लैजाने योजना २०५५ सालमै बुटवलका तत्कालीन मेयर भोजप्रसाद श्रेष्ठले अगाडि सारेका थिए ।

बुटवलमा यसअघि लुम्बिनी केबलकार सञ्चालनमा आइसकेको र अब सिद्धार्थ पनि सञ्चालनमा आएपछि कसरी खर्च थेग्न सक्छन् भन्ने प्रश्न उठेको छ । अहिले चलेको केबलकारले लिएको शुल्क महँगो भएको गुनासो छ । लुम्बिनी केबलकारले प्रतिव्यक्ति ७५० रुपैयाँ शुल्क लिँदै आएको छ । जुन शुल्कले केबलकार सञ्चालन खर्च थेग्न नसक्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताइन्छ । यस्तो बेला सिद्धार्थ केबलकारलाई खर्च थेग्न चुनौती हुने आंकलन पर्यटन व्यवसायीहरुले गरेका छन् ।

के छ नुवाकोटमा ?

छोटो दुरीको यात्राबाटै बुटवलको चर्को गर्मीबाट उन्मुक्ति मिल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने यहाँका लगानीकर्ता बताउँछन् । सामान्यतया बुटवलभन्दा नुवाकोटको तापक्रम ६ देखि ८ डिग्री सेल्सियस कम रहने भएकाले पनि यहाँको गर्मी छल्ने विकल्पका रुपमा हेरिएको छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण र रमणीय भएकाले नुवाकोटमा सरकारले सडक निर्माण गरेसँगै निजी क्षेत्रबाट गुरूयोजनासहितका अर्बौंका योजना अगाडि बढेका छन् ।

नुवाकोट इतिहाससँग जोडिएको ठाउँ हो । पुर्खाहरु हिँड्ने पुरानो बाटोमात्रै नभएर यहाँ ऐतिहासिक लडाइँ लडेका प्रमाण रहेका छन् । नुवाकोटमा मणिमुकुन्द सेनको पालामा निर्माण गरिएको भैरव मन्दिर छ । यसलाई अग्लो त्रिशुलले सजाइएको छ ।

त्यस्तै मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रूद्र सेनले स्थापना गरेको शिव लिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरू ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशुल तथा ऐतिहासिक रानीकुवा यही छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर