भेरीका मेयर भन्छन्: एकद्वार प्रणालीका नाममा कांग्रेस-माओवादी नेताको राहत राजनीति चल्दैछ – Nepal Press

भेरीका मेयर भन्छन्: एकद्वार प्रणालीका नाममा कांग्रेस-माओवादी नेताको राहत राजनीति चल्दैछ

‘देश विदेशबाट मेरा साथीहरूले पठाएको राहतसमेत कांग्रेस र माओवादीहरूले सीडिओलाई दबाब दिएर रेकर्डमा नराखी वडा तोकेर पीडितलाई होइन आफ्ना कार्यकर्तालाई पठाइरहेका छन्’

काठमाडौं । जजारकोट सदरमुकाम समेटिएको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले भूकम्प प्रभावितको राहत वितरणमा एकद्वार प्रणालीका नाममा सत्ता गठबन्धनका नेताहरूले पीडित नागरिकमाथि खुलेआम विभेद गरिरहेको बताएका छन् ।

कांग्रेस र माओवादीका प्रभावशाली नेता तथा मन्त्रीहरूले जिल्ला विपद व्यवस्थापन समितिको रेकर्डमै नराखी आफ्ना कार्यकर्ता र आफूलाई मत दिने भनेर चिनिएकाहरूलाई मात्र राहत दिइरहेको मेयर घर्तीले बताए ।

नेपाल प्रेससँग कुरा गर्दै भेरीका मेयर घर्तीले राहत वितरणमा विभेद र खुलेआम राजनीतिकरण भइरहँदा आफू भूकम्प पीडित जनतासँगै रहेको बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई कांग्रेस र माओवादीका नेताहरूले दबाबमा पारेर वडा र व्यक्ति तोकेर जिल्लामा जम्मा भएको राहत पठाइरहेको दाबी गरे ।

घर्तीले भने, ‘अहिले म नेपाल प्रेससँग कुरा गरिरहँदा पनि पीडित जनतासँगै छु । कुन वडामा कति प्रभावित छन्, कसको अवस्था के छ भन्ने कुरा मलाई थाहा हुन्छ कि अरुलाई ? तर, यहाँ मलाई मेरा शुभचिन्तकले देश विदेशबाट सम्झिएर पठाएको राहत सामग्रीमा समेत कांग्रेस माओवादीले सीडीओमार्फत वडा तोकेर राजनीति गरिरहेका छन् । ५ हजार त्रिपाल चाहियो भन्दा दिँदैनन्, लुकाएर आफ्ना कार्यकर्तालाई बाँडिरहेका छन् ।’

घर्तीले विभिन्न बहानामा सत्ताधारीहरूले भेरीको आकाशमा हेलिकप्टर आतंक मच्चाएकाले आफूले विरोध गरेको भन्दै गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीको सहयोगमा आफूले मंगलबार वडा नम्बर २ मा राहत वितरण गर्न सम्भव भएको बताए ।

जाजरकोटमा आएको राहत बीचमै माओवादी नेता जनार्दन शर्माले डाइभर्ट गरेर रुकुम पश्चिमतिर लगेको र एनआरएनका पराजित अध्यक्ष आरके शर्माको नेतृत्वको टोलीसहित उनले माओवादी कार्यकर्तालाई बाँडिरहेको आरोपसमेत लागेको छ ।

मेयर सीपी घर्तीले नेपाल प्रेससँग यसो भने,

अहिले म तपाईसँग कुरा गरिरहेको बेलामा पनि जनतासँगै फिल्डमा छु । यहाँ त्रिपालको समस्या छ । खाद्यान्न पनि पुरिएको छ । मलाई चिन्ने माया गर्ने धेरै साथीहरूले देश विदेशबाट सम्पर्क गरेर राहत पठाउनुभएको छ । एकद्वार प्रणालीबाट वितरण गर्ने भनेर सीडीओमार्फत पठाइने भनियो । तर, यसमा राजनीतिकरण भएको छ र सत्ता गठबन्धनका नेताहरूले विभेद गरेका छन् । भेरी नगरपालिकाका लागि मलाई साथीहरूले पठाएको राहत पनि सीडी‍ओमार्फत वडा तोकेर पठाइएको छ । यहाँ कुन वडामा कसलाई आवश्यक छ भन्ने हामी स्थानीय सरकारले हो तर उनीहरूले आफ्ना कार्यकर्ताका लागि राहतको दुरूपयोग गर्दैछन् । विपद व्यवस्थापन समितिको रेकर्डमा नराखी पठाइएको छ । सीडीओलाई मैले ममार्फत आएको राहत नगरपालिकामा पठाउनुस् भनेँ । तर, उनीहरूले वडा तोकेर पठाउन सीडीओलाई दबाब दिएका छन् । प्रधानमन्त्री राहत कोषमा ५ अर्ब रूपैयाँ जम्मा भएको भनिएको छ, त्यो पैसा कहाँ छ ? पीडितको अवस्था दयनीय छ । यहाँ हेलिकप्टर आतंक मच्चाइएको छ । एकद्वार प्रणालीका नाममा प्रभावशाली नेताले विभेद गरेका छन् । मैले बाध्य भएर बोल्नुपरेको हो । एनआरएन अध्यक्ष डा. बद्री केसीजीको टीम यहाँ आएर हामीले पीडितलाई राहत दिन पायौं । स्थानीय विपद व्यवस्थापन समितिलाई पूरै बेवास्ता गरिएको छ । मेयर अर्को पार्टीको छ भनेर यस्तो गरिएको हो भने यो दुर्भाग्यपूर्ण छ । हामीले भेरी नगरपालिकाको विपद व्यवस्थापन कोष खडा गरेका छौं । त्यो कोषको बैंक खातामा सीधै सहयोग रकम पठाउन आव्हान समेत गर्छौं ।

भूकम्प पीडितका लागि सहयाेग गर्न चाहनेहरुले भेरी नगरपालिकाले उपलब्ध गराएकाे नेपाल बैंककाे खातामा सहयाेग गर्न सकिन्छ । नगरपालिकाकाे नेपाल बैंकमा रहेकाे खाता BHERI NA.PA. PRAKOP BYAVASTHAPAN KOSH खाता नं‍. 07503000007002000001 मा रकम जम्मा गरेर सहयाेग गर्न नगरपालिकाले आग्रहसमेत गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर