राप्रपा भन्छ : गणतन्त्रवादी दलहरु त्रसित मानसिकतामा पुगे, अब गणतन्त्र जोगिँदैन – Nepal Press

राप्रपा भन्छ : गणतन्त्रवादी दलहरु त्रसित मानसिकतामा पुगे, अब गणतन्त्र जोगिँदैन

काठमाडौं । संसदका दुई बलिया राजनीतिक दलहरुलाई बाहिर राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ‘सर्वदलीय’ बैठक डाके । गणतन्त्र मान्ने र शान्ति प्रक्रियामा सहभागी दलका शीर्ष नेता बैठकमा सहभागी थिए ।

संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र गणतन्त्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बैठकमा निम्त्याइएको थिएन । सहभागी नेताहरुले एक स्वरमा गणतन्त्र र संविधानविरुद्ध प्रहार हुन थालेको भन्दै यसको रक्षाका लागि एकजुट हुने प्रण गरेका छन् ।

यता, बैठकमा निम्तो नपाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आजको बैठकलाई गणतन्त्रवादी दलहरुको पराजित मानसिकताको उपजको संज्ञा दिएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनतालाई डेलिभरी दिन नसकेको गणतन्त्रको आयू लामो नरहेको बताए ।

उनले भने, ‘गणतन्त्र यो देशका लागि सुहाउँदो व्यवस्था होइन भन्ने जनताले बुझिसकेका छन् । अब दलहरु बैठक बस्दैमा गणतन्त्र जोगिँदैन । यो उनीहरुको पराजित मानसिकता मात्रै हो ।’

६२÷६३ सालपछि माओवादीको हिंसात्मक आन्दोलनको जगमा अनायाश आएको गणतन्त्रले देशको सार्वभौमिकता र एकता नै खण्डित बनाएको तथा जनतालाई डेलिभरी पनि दिन नसकेको श्रेष्ठको बुझाइ छ ।

उनी थप्छन्, ‘गणतन्त्रप्रति जनताको मोह भंग भइसकेको छ । अब उनीहरुले अवस्था परिवर्तन मात्र होइन कि व्यवस्था परिवर्तन नै चाहेका छन् । यो जनभावनाको नेतृत्व राप्रपाले गर्नेछ ।’

गणतन्त्रविरोधि माहोल बढ्दै जाँदा गणतन्त्रवादी राजनीतिक दलहरु आत्तिनु स्वभाविक रहेको श्रेष्ठको प्रतिक्रिया छ । देशका विद्यमान समस्या समाधानका लागि संसदभित्रको राजनीतिक शक्तिलाई विश्वासमा लिएर जानुपर्नेमा यसरी कित्ताकाट गर्न खोज्नु प्रधानमन्त्रीको गलत कदम भएको पनि उनले बताए ।

अब राप्रपा गणतन्त्र उल्ट्याउने आन्दोलनमा उत्रिन्छ त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हामी घोषितरुपमा नै राजतन्त्रवादी हौं । हामीले संविधानलाई आलोचनात्मक समर्थन मात्र गरेका छौं तर राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डा छोडेका छैनौं । आफ्नो एजेन्डाका लागि सडकमा जाने कुरा स्वभाविक नै हो ।’

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन विदेशबाट फर्किएपछि आन्दोलनको विषयमा ठोस निर्णय लिने उनले बताए । जनताको साथ लिएर चार वर्षभित्रै गणतन्त्र उल्ट्याएर राजतन्त्र ल्याउने उनले दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर