जलविद्युत उद्यमी सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसियसनको उपाध्यक्षमा निर्वाचित – Nepal Press

जलविद्युत उद्यमी सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसियसनको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । बिजबेलका संस्थापकसमेत रहेका युवा जलविद्युत् उद्यमी सुशील पोखरेल वर्ष २०२३-२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन् । विकासोन्मुख यात्रामा अगाडि बढेको देशका लागि विश्व जलविद्युत् मञ्चमा नेपालको यो गौरवपूर्ण उपलब्धि हो ।

कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो । दूरदर्शी नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा उनको निरन्तरको लगावका कारण पनि उनलाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको थियो । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने छन् ।

विश्व जलविद्युत् मञ्चमा भएको यो उपस्थितिले दिगो स्वच्छ तथा नवीकरणीय ऊर्जा विकासमा कटिबद्ध भएर लाग्ने उनको अभियानलाई त प्रोत्साहन मिलेको छ नै यससँगै नेपालको गरिमालाई समेत उचाइमा पुरÞ्याएको बताइएको छ । पोखरेलले लामो समयदेखि हरित ऊर्जा र दिगो जलविद्युत् विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आएका छन् ।

उपाध्यक्षमा नियुक्त भएसँगै पोखरेलले नेपालको जलविद्युत् क्षेत्रलाई विश्वको लगानीयुक्त गन्तव्य बनाउने अभियानलाई आफूले अझ प्रबलरूपमा अगाडि बढाउने बताए । ‘दिगो जलविद्युत् मापनको मापदण्डका आधारमा नेपालका जलविद्युत् आयोजनाहरू प्रमाणीकरण भएका छन्’, उनले खुशी व्यक्त गरे, ‘यसले हामीलाई हरित ऊर्जा विकासमार्फत दिगो भविष्यको आधार निर्माण गर्न पर्याप्त अवसरहरू प्रदान गरेको छ ।’

दिगो जलविद्युत विकासमा अविराम खटिइरहेका पोखरेलले सन् २०३५ सम्म १००० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने एउटा अग्रगामी अभियान लिएर हिँडेका छन् । आज उनले बिजबेल कम्पनी मार्फत मध्य तथा दक्षिण एसियामा हरित ऊर्जामार्फत दिगो भविष्य निर्माण गर्ने अभियानमा आफ्नो गर्विलो पहिचान बनाउँदै अगाडि बढेका छन् ।

३ दिनसम्म भएको सम्मेलनमा विभिन्न देशका ९०० भन्दा बढी नीति निर्माता, बुद्धिजीवी, कूटनीतिज्ञ तथा जलविद्युत् क्षेत्रमा दशकौंदेखि काम गरिरहेका कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता थियो । सम्मेलन समापनको दिन जारी ’बाली घोषणापत्र’ले स्वच्छ तथा नवीकरणीय ऊर्जामार्फत न्यून कार्बनयुक्त अर्थतन्त्र एवम् एकीकृत जलविद्युत् विकास गर्नुपर्नेमा जोड दिएको छ ।

आइएचएको वर्ष २०२३-२५ को अध्यक्षको नेतृत्व अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलले गर्ने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर