खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्रीका लागि दिइने, प्रति केजी ११५ मा बेच्नुपर्ने – Nepal Press

खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्रीका लागि दिइने, प्रति केजी ११५ मा बेच्नुपर्ने

काठमाडौं । चाडबाडको मौका छोपी व्यापारीले बजारमा चिनीको कृतिम अभाव गरिरहेको बेला साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै उक्त व्यवस्था मिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कालोबजारी नियन्त्रणका लागि ३ हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको बताइएको छ ।

यसका साथै अवैधरूपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित थिए । काठमाडौंसहित विभिन्न ठाउँबाट अवैधरूपमा सयौं बोरा चिनीसमेत बरामद गरिएको थियो ।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा विक्रेता संघअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेकोमा ग्राहकको भिड बढेपछि खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यो चिनी प्रतिकिलो ११५ रूपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएको निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ ।

खुद्रा व्यापारी तथा व्यवसायीले आजदेखि साल्ट ट्रेडिङ कालिमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर