क्रिकेटरलाई पुरस्कार घोषणाले अर्नाको चर्चा बढ्यो, विजनेस बढेन ! – Nepal Press

क्रिकेटरलाई पुरस्कार घोषणाले अर्नाको चर्चा बढ्यो, विजनेस बढेन !

काठमाडौं । अर्ना बियरले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कारको वर्षा गरिरहेको छ । घरेलु मैदानमा टी-२० विश्वकप छनोट प्रतियोगिताअघि नै उसले विभिन्न शीर्षकमा खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको थियो ।

अर्नाले प्रत्येक रनका लागि ब्याट्सम्यानलाई १ हजार रुपैयाँ र प्रत्येक विकेटका लागि बलरलाई २५ हजार दिने घोषणा गरेको छ । यस्तै एउटा छक्कालाई २० हजार, चौकालाई १० हजार दिनेछ । बलरले प्रत्येक डट बलमा १ हजार तथा मेडन ओभरमा १० हजार पाउनेछन् । क्याच आउट र रन आउट गर्नेलाई पनि पुरस्कार छ ।

अर्नाले यसरी खेलाडीलाई ठूलो राशी पुरस्कार दिने भनेपछि क्रिकेट समर्थकहरु खुशी भएका छन् । उनीहरुले सामाजिक सञ्जालमा अर्नाको जयजयकार गरिरहेका छन् । कम्पनीको निकै राम्रो ब्रान्डिङ भएको चर्चा चलेको छ । मदिराजन्य उत्पादनको सोझै सञ्चारमाध्यममा विज्ञापन गर्न नपाइने अवस्थामा यो तरिकालाई धेरैले सराहना पनि गरेका छन् । यद्यपि, पुरस्कारको ढाँचालाई लिएर अर्नामाथि कतिपय प्रश्न पनि उठेका छन् ।

अर्ना बियरका महाप्रबन्धक अरुण केसी उत्पादनको प्रचारप्रसारभन्दा पनि खेलाडीलाई हौसला दिन खोजिएको बताउँछन् ।

उनले भने, ‘एसिया कप क्रिकेट प्रतियोगितामा पनि नेपाली खेलाडीलाई हामीले अहिले जसरी नै प्रोत्साहन गरेका थियौं । त्यतिबेला हाम्रो पहलले खेलाडीलाई हौसला मिलेको महसुस गरेर त्यसलाई फेरि दोहो¥याएका हौं ।’

एसिया कपमा पनि अर्नाले यसैगरी पुरस्कार घोषणा गरेको थियो । खेलाडीले १८ लाख रुपैयाँ अर्नाबाट पाएका थिए । यो प्रतियोगितामा पनि अहिलेसम्म अर्नाको ३० लाख रुपैयाँ जति बिल उठिसकेको छ । अझै एउटा खेल नेपालले खेल्न बाँकी छ ।

केसी भन्छन्, ‘हामीले क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा गरेपछि अन्य कम्पनीहरुले पनि पछ्याएका छन् । यो राम्रो हो । यसले राम्रो म्यासेज पनि गइरहेको छ । दर्शकदेखि हरेक क्षेत्रका मान्छेले अर्नाले राम्रो गर्‍यो भन्ने प्रतिक्रिया दिइरहेका छन् ।’

कम्पनीले क्रिकेट खेलाडीलाई नगद पुरस्कार बियर विक्री बढाउन नभएको बताएको छ । नगद पुरस्कार घोषणापछि व्यापार खासै नबढेको पनि कम्पनीको दाबी छ । कम्पनीका अनुसार वार्षिक रुपमा अर्ना बियर वार्षिक २८ देखि ३० लाख कार्टुन बिक्री हुने गरेको छ ।

केसीले भने, ‘पहिले र अहिलेको उस्तै उस्तै नै हो । बिक्री उल्लेख्य बढेको छैन ।’

बियर कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष गरेर ५०० जनालाई रोजगारी दिएको छ । अर्नाको एमएलअनुसार १६० देखि ४५० रुपैयाँको बियरका बोतल बजारमा उपलब्ध छन् । अर्ना लाइट, अर्ना प्रिमियम, अर्ना स्ट्राेङ र अर्ना ८ बजारमा पाइन्छ । क्यान, सानो बोतल र ठूलो बोतलमा बियर उपलब्ध छ ।

अर्ना बियरमा यती र एभरेष्ट ग्रुपको लगानी रहेको छ । २०७३ सालमा स्थापना भएको कम्पनीमा ५ अर्बभन्दा धेरै लगानी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर