केन्द्रीय सदस्यहरूको आपत्तिपछि पत्रकार महासंघले विज्ञप्ति सच्यायो, बद्री केसीलाई एनआरएनए अध्यक्ष स्वीकार – Nepal Press

केन्द्रीय सदस्यहरूको आपत्तिपछि पत्रकार महासंघले विज्ञप्ति सच्यायो, बद्री केसीलाई एनआरएनए अध्यक्ष स्वीकार

काठमाडौं । महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिप्रति केन्द्रीय कार्य समितिका सदस्यहरूले नै विमति जनाएपछि नेपाल पत्रकार महासंघले एनआरएनएका अध्यक्ष डा.बद्री केसीलाई एक पक्षका अध्यक्ष भनेर जारी गरेको विज्ञप्ति सच्याएको छ ।

नेपाल प्रेसमा महासंघको विवादास्पद वक्तव्यको समाचार आए लगत्तै केन्द्रीय सदस्य रमेश खतिवडालगायतले आन्तरिक ग्रुपमा महासंघको साझा चरित्रविपरीत किन एनआरएनएको विवादमा एक पक्ष भएको भनी आपत्ति जनाएको स्रोतले जनाएको छ ।

नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ पछिल्लो समय सत्ता गठबन्धनको भातृ संगठनमा परिणत भएको आरोप पुष्टि हुने गरी विज्ञप्ति जारी भएको थियो ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा. बद्री केसीलाई एनआरएनको एक पक्षका अध्यक्ष भनेर सम्बोधन गर्दै माओवादी उम्मेदवारका रूपमा पराजित आरके शर्माको पक्षधरता लिइएको थियो ।

त्यसमा केन्द्रीय सदस्यहरूले विज्ञप्तिमा एक पक्षीय अध्यक्ष भन्न जरुरी थिएन भन्दै महासंघका बेल्जियम च्याप्टर अध्यक्षमाथि भएको आक्रमणको निन्दा मात्र गरे पुग्ने सुझाव दिएको महासंघ स्रोतले जनाएको छ ।

‘उनीहरूमध्ये को आधिकारिक, को कुन पक्षका हामीलाई के मतलब ? एनआरएनएको विवादमा हामी तटस्थ भएकै जाति थियो । यो विज्ञप्ति कसले मस्यौदा गरेको हो ? बद्री केसीलाई के उद्देश्यले संस्थागतरुपमै एक पक्षका अध्यक्ष भनिएको हो ? स्पष्ट पारियोस्’ केन्द्रीय सदस्यहरूको यो प्रश्नपछि महासंघ केन्द्रीय कार्यालयबाट केसीलाई एनआरएन अध्यक्ष भनेर अर्को विज्ञप्ति जारी भएको हो ।

मंगलवार एनआरएनए कार्यालयमा भएको स्वागत कार्यक्रम बिथोल्न माओवादी नेताहरूसहित गएका आरके शर्मा र बुद्धि सुवेदीलगायतले होहल्ला गरेपछि भएको विवादका क्रममा आरकेसँगै गएका बेल्जियम निवासी सञ्चारकर्मी ओम शर्मालाई चोट लागेको थियो ।

शर्मामाथि एमाले निटक युवा संघबाट आक्रमण भएको भन्दै पत्रकार महासंघले निन्दा गरेर निकालेको विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचनबाट निर्वाचित नेतृत्वको अस्तित्व अस्वीकार गरिएकोमा महासंघको व्यावसायिक तटस्थताप्रति प्रश्न उठेको थियो ।


प्रतिक्रिया

2 thoughts on “केन्द्रीय सदस्यहरूको आपत्तिपछि पत्रकार महासंघले विज्ञप्ति सच्यायो, बद्री केसीलाई एनआरएनए अध्यक्ष स्वीकार

  1. निर्वाचनमा पराजित हुने अनि परिणाम मान्दिन भनेर भन्नू कहाँको नैतिकता हो? नेपाल पत्रकार सङ्घ के माओवादीको भात्री सङ्गठनमा रुपान्तरित भएको हो? कहिले मतपत्र चपाएर, कहिले बाक्सा साटेर त कहिले गणना बहिष्कार गरेर आएको माओवादीमा अझै त्यस्तो व्यवहार छ। काङ्ग्रेस मुकदर्शक बनेको नै छ।

  2. यो पत्रकार महासंघ पनि कुन गतिलाहरू भएको संगठन हो र ? अधिकांश सदस्यहरू पत्रकारिता कम दलाली बढी गर्छन् । त्यसमा पनि अहिलेका त शत्प्रतिशत ठगबन्धनको दलालीमा मस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर