यौन, प्रेम र विवाह – Nepal Press

यौन, प्रेम र विवाह

घटना १ : परिवारको भविष्य सोचेर वैदेशिक रोजगारीमा गएको श्रीमान फर्केर आउँदा बच्चाबच्चीहरुलाई बिचल्लीमा छोडी दुःख गरी कमाएर पठाएको पैसा पनि कुम्ल्याएर श्रीमती अर्कैसँग भागिसकेको हुन्छ ।

घटना २ : स्कुलदेखि मायाप्रेममा परेको जोडी । केटो खानदानी तराई मूलको र केटी पहाडी मूलको । केटीको विवाह प्रस्ताव केटा परिवारले स्वीकार गरेन भन्दै टाढिन खोज्छ । केटीले बलात्कारको मुद्दा हालेर थुनाउँछे ।

घटना ३ : विवाह भएको १७ वर्षमा श्रीमतीले श्रीमानसँग सम्बन्ध विच्छेद गर्छिन् । कारण भन्छिन्- श्रीमानले मलाई धोका दियो, इज्जत र सम्मान दिएन ।

घटना ४ : श्रीमानश्रीमतीको विवाहेत्तर सम्बन्ध । दुबै आत्मनिर्भर । आआफ्नो परिवार बच्चाबच्ची, राम्रै कामधाम पनि गर्छन् । तर, आफ्नो सामाजिक मूल्य मान्यताको डरले परिवारसँग छुट्टिन सकेका छैनन् ।

माथिका घटनाहरुलाई पृष्ठभूमिमा राखेर हेर्दा समस्याको कारण यौन, प्रेम र विवाहप्रतिको मूल्यमान्यता तथा बुझाइहरुमा फरक भएर हो । यस्ता घटना तथा पात्रहरु आजको यो समाजमा धेरै छन् । जुन यौन, प्रेम र विवाहलाई छुट्याएर बुझ्न नसकेर वा नचाहेर भएका हुन्, जसले धेरै व्यक्तिगत तथा सामाजिक प्रश्नहरु पनि खडा गरेका छन् । हाम्रो समाजमा यौनलाई नैतिकतासँग जोडेर हेरिन्छ । जसका कारण यसबारे खुलेर कुरा गर्न वर्जित नै छ भन्दा पनि फरक नपर्ला । तर, हामी यो बुझिरहेका छैनौं कि जुन कुरा वर्जित छ, त्यही कुराप्रति उत्सुकता बढी जाग्छ । यही मानवीय उत्सुकतालाई उचित रुपमा सम्बोधन गर्न वा बुझाउन नसक्दा यौनबारे वास्तविक ज्ञानको कमी भएको हो । जसका कारण अहिले यौन यो समाजको समस्या बनिरहेको छ । ज्ञान भनेको कुनै कुराको जानकारी मात्र नभएर त्यो कुरा किन गर्ने र कसरी गर्ने भन्ने तीन कुराको समायोजन हो । कुनै पनि कुरा तबमात्र समस्या बन्छ जब हामीले त्यस कुरालाई उचित तरिकाले उपयोग गर्न जान्दैनौं । ज्ञानले समाधान वा उपयोगको उपाय सुझाउँछ ।

वैज्ञानिक खोजहरुले यौनलाई मानिसको जैविक वा आधारभूत आवश्यकताको रुपमा प्रष्ट्याएका छन् । प्राणी तथा मानव शास्त्रको सिद्धान्ततःको आधारबाट हेर्दा यौन आफ्नो सन्तान उत्पादनको लागि अपरिहार्य एउटा जैविक प्रक्रिया हो । तर, आज विज्ञानले गरेको प्रगतिले यौन सम्बन्धविना नै कृत्रिम गर्भाधानबाट सन्तान जन्माउने तथा कोख पनि भाडामा लिने पद्धतिसम्म सम्भव भएको छ । कुनै दिन प्रयोगशालामा नै पुरुषको बीर्य र स्त्रीको अण्डा विकास गरी कृत्रिम गर्भाधानबाटै सन्तान जन्माउन सक्ने प्रविधि पनि आउन नसक्ला भन्न सकिँदैन । यसले आजको समाजलाई प्रश्न गर्दैछ कि अविवाहित भएर पनि आमा वा बुबा बन्न पाउँछ कि पाउँदैन ?

प्रेमको नाममा हामी आफ्नो महत्त्वाकांक्षा/सपना पूरा गर्ने वारिस खोज्दैछौं, प्रेमको नाममा अधिकार जमाउन खोज्दैछौं, मालिक बन्न खोज्दैछौं । अनि प्रेमलाई आफ्नो स्वार्थको व्यापार बनाएपछि नाफाघाटामा रुमलिनु त स्वाभाविक हुन्छ, जसले सम्बन्ध एक बन्धन बन्छ ।

मानव विकासको क्रममा सन्तान उत्पादनले मात्र वंश विस्तार सम्भव नहुने भएकाले आफ्नो यौन साथी तथा सन्तानको सुरक्षा तथा भरणपोषणको लागि यौनमा मायाप्रेम पनि जोडिएको दाबी क्रम विकास (evolutionary biology)का वैज्ञानिकहरु गर्छन् । यस संसारमा मानिस मात्र यस्तो प्राणी हो, जो यौनबाट आनन्द पनि प्राप्त गर्छ । त्यसैले मानिसको यौन व्यवहार जैविक मात्र नभई मानसिक आवश्यकताको उपज पनि हो । मानवको आवश्यकता नै सबै कुराको जननी भने जसरी विज्ञान र प्रविधिले यौन आनन्दको लागि विभिन्न साधन तथा यौन साथीको रुपमा सेक्स रोबोटसम्म विकास भइसकेको छ । भोलिका दिनमा सेक्स रोबोटसँगै विवाह हुने दिन पनि देख्न नपर्ला भन्न सकिँदैन । समाज शास्त्रीय सिद्धान्तले पुरुषलाई अरुबाट जन्मिएका सन्तानको पनि थाहा नपाएर सुरक्षा तथा भरणपोषणको भार बोक्नुपर्ने अवस्थाले गर्दा सामाजिक सन्तुलनका लागि यौन सम्बन्धलाई व्यवस्थित र नियन्त्रण गर्न विवाहको व्यवस्था विकास भएको दाबी गरिन्छ । आजभोलि विकसित देशहरुमा मानिसमा प्राकृतिक यौन सम्बन्ध तथा मानवीय सम्बन्धप्रतिको वितृष्णाले जन्मदर घट्दो छ, जुन मानव विकास र समाजको लागि एक गम्भीर चुनौती देखिने सम्भावना छ ।

युवावस्थामा विपरीत लिङ्गीप्रतिको आकर्षण स्वाभाविक र प्राकृतिक हो । तर, हामी यो भ्रम पालेर बाँचेका छौं कि यो फिल्मी प्रेमलाई नै वास्तविक प्रेम भन्दैछौं । यहाँ फिल्मी भन्नुको अर्थ यो मस्तिष्कमा निस्केको एक रस (PEA) को प्रभाव मात्र हो, जसको असर ६ महिनादेखि ३ वर्षसम्म रहनसक्छ । एकछिन आफ्नो वास्तविक जीवनका अनुभवलाई सम्झौं, हामीमध्ये धेरैलाई कसैलाई देख्दा मनमा कुचकुच भएको अनुभव छ होला ! हो, यो त्यही PEA (phenylenthylamine)को प्रभाव हो, जसमा अरु रसहरु norepinephrine र dopamine जोडिन आउँछन् । धड्कन बढ्नु, पसिना आउनु, एक प्रकारको खुशी, आनन्द तथा स्फुर्ती बढेको महसुस हुनु, हरपल मनमा प्रेमीकै यादले ग्रसित हुनु, कुरा गरिरहुँ लाग्नु, छुट्टिन गाह्रो लाग्नु यी सबै कुरा ती रसहरुका कारण उत्पन्न भएका प्रतिक्रियामात्र हुन् । अधिकांश युवायुवती भ्रममा फसेर त्यही आकर्षणलाई प्रेम सम्झिने भुल गर्छन् र काम वासनामा बगेर पागल सरी आफूलाई डुबाउँछन् । जब रसको प्रभाव सकिन्छ तब बुद्धिले काम गर्न थाल्छ, अनि आफ्नो प्रेमीप्रेमिकामा कमिकमजोरी देख्न थाल्छन्, विचारमा अडेर नाफाघाटाको हिसाब गर्न थाल्छन्, जुन सम्बन्ध टुट्नुको कारण पनि बन्न पुग्छ ।

त्यसैले सम्बन्धलाई अगाडि बढाउनु भन्दा पहिले कम्तिमा PEAको असर केही कम हुञ्जेलसम्म (६ महिना) कुर्नु बुद्धिमानी हुन्छ । ताकि आफ्नो भावनालाई तर्कसंगत ढंगले बुझ्न सकौं र वास्तविक प्रेमसम्म पुग्न सकौं । आफ्नो काम वासनालाई बुझी यौन ऊर्जालाई उपयोग गर्न सकियो भने पक्कै त्यो वास्तविक प्रेमसम्म पुग्ने खुड्किलो बन्नसक्छ । यौन त प्रेमको पराकाष्ठामा पुगेपछिको समर्पणको अवस्था हो, जहाँ काम वासना पनि विलिन हुन पुगेको हुन्छ । प्रेमलाई बुझ्न नसकेको कारण सँगै हुनुमा सफलता देख्छौं । अनि विवाहलाई गन्तव्य बुझ्छौं । प्रेमको वास्तविक परीक्षा त सँगै बस्न थालेपछि वा विवाहपछि हुन्छ, जसको लागि शरीरमात्र होइन मन र भाव पनि मिल्नुपर्ने हुन्छ ।

आफ्नो स्वार्थको लागि गरिएको ढोंगी प्रेम त दासता हो । जसले आफ्नो मात्र होइन, अरुको खुशी पनि रित्याइदिन्छौं । वास्तविक प्रेम त सम्पूर्ण जीवनको समाधान हो । कोही कोही मात्र भाग्यमानी छन्, जसले वास्तविक प्रेमको अनुभूती गर्न पाएका छन्, आफू हुनुको अनुभूति लिन पाएका छन् ।

विवाह मानिसको जीवनकालको एक महत्त्वपूर्ण संस्कार हो र यसलाई मानिसको यौन व्यवहारलाई व्यवस्थित गर्नमात्र बनाइएको भनेर बुझ्नुभन्दा पनि विवाहलाई मुक्तिको अवसरको रुपमा बुझ्न सक्यौं भने धेरै राम्रो हुन्थ्यो । हाम्रो सम्बन्ध हाम्रो जीवनको ऐना हो, जसले आफू को हो भनी बुझाउन मद्दत गर्छ । किनकि हामीले अरुलाई गर्ने व्यवहार नै हाम्रो वास्तविक प्रतिविम्ब हो । आजको यस अन्तरनिर्भर संसारमा मानिस एक्लो भई बाँच्न सक्दैन । आफ्नो अस्तित्वको लागि पनि सम्बन्ध अपरिहार्य छ । भौतिक रुपमा हामी कसै न कसैसँग कुनै न कुनै रुपमा निर्भर भएका नै छौं । त्यसैले एक अर्काको आवश्यकता पूर्ति गरी जीवनलाई सहज बनाउन चाहिने साथ र सहयोगको प्रतिबद्धता रुपमा विवाहको सम्बन्धलाई अगाडि बढाउन सक्नुपर्छ । सम्बन्ध गाँस्दा आफ्ना इच्छा र आवश्यकतालाई बुझ्नुका साथै आफूले के कति छोड्नुपर्ने हो, त्यो पनि पहिल्यै बुझ्नुपर्ने हुन्छ । आफ्ना इच्छा, आवश्यकता र खुशीलाई मात्र प्राथमिकतामा राख्दा सम्बन्धमा समस्या उत्पन्न हुन्छ ।

प्रेम भनेको अरुको आवश्यकता र खुशीलाई बुझ्नु हो, त्यसका लागि आफ्ना केही आवश्यकता र खुशीलाई छोड्न पनि सक्नुपर्ने हुन्छ । त्यसैले पारस्परिक प्रेमविना सम्बन्ध अगाडि बढ्न सक्दैन । तर, प्रेमको नाममा हामी आफ्नो महत्त्वाकांक्षा/सपना पूरा गर्ने वारिस खोज्दैछौं, प्रेमको नाममा अधिकार जमाउन खोज्दैछौं, मालिक बन्न खोज्दैछौं । अनि प्रेमलाई आफ्नो स्वार्थको व्यापार बनाएपछि नाफाघाटामा रुमलिनु त स्वाभाविक हुन्छ, जसले सम्बन्ध एक बन्धन बन्छ । आफ्नो स्वार्थको लागि गरिएको ढोंगी प्रेम त दासता हो । जसले आफ्नो मात्र होइन, अरुको खुशी पनि रित्याइदिन्छौं । वास्तविक प्रेम त सम्पूर्ण जीवनको समाधान हो । कोही कोही मात्र भाग्यमानी छन्, जसले वास्तविक प्रेमको अनुभूति गर्न पाएका छन्, आफू हुनुको अनुभूति लिन पाएका छन् ।

पूर्वीय आध्यात्मिक दर्शनले मानिसमा भएको यौन शक्तिलाई यौन प्यास मेट्टाउनमा मात्र खेर नफालेर त्यसलाई मुक्तिको बाटोमा लगाउन भनिएको छ । तन्त्र योगले दुई विपरीत तर परिपूरक शक्ति (स्त्री र पुरुष)को योगले आत्मा वा स्वयंको रुपान्तरण वा खोजको कुरालाई बुझाउन खोजेको हो, जसका लागि हाम्रो शरीरमै विराजमान स्त्री र पुरुषको आधी स्वरुपको योगलाई प्रथम उद्देश्य भनिएको छ । तर, तन्त्र विज्ञानको अल्प ज्ञानले यौनलाई मैथुन (स्त्री-पुरुषको शरीरको सम्बन्ध)मा सीमित बनाएर यौन आसनहरुलाई महत्व दिए । पूर्वीय दर्शनमा भावलाई शक्ति वा स्त्री र विचारलाई शिव वा पुरुषको रुपमा लिइन्छ । यही शिव र शक्तिको मिलनले नै हामीभित्रको आत्माको दर्शन गराँउछ र अध्यात्मको उद्देश्य यही आत्म वा स्वयंको खोज वा रुपान्तरण हो । जनावर जसरी बाँचेर मर्नु भनेको यो जीवनको सुखद अवसरलाई गुमाउनु हो । आधुनिक जैविक विज्ञानले हाम्रो मस्तिष्कमा भाव र विचारको छुट्टाछुट्टै केन्द्र हुन्छ भनेको छ । भाव हावी हुनु वा विचार हावी हुनु यो दुइटै कुराले जीवनलाई उल्झन बनाइदिन्छ, तर्कसंगत निर्णय लिन भावलाई बुझ्नु अपरिहार्य छ । डा. डानियल गोलम्यानका अनुसार भाव र विचार हाम्रो मानसिक जीवनको पूरक हुन् र यी दुईबीच राम्रो तालमेलले भावनात्मक बुद्धिमत्ता प्राप्ति सम्भव हुन्छ, जसले जीवन र जगतलाई सन्तुलित रुपमा बुझ्न सम्भव हुन्छ । सरल रुपमा बुझ्नु पर्दा विचार र भावको मिलन भनेको आत्मबोधको अवस्था हो ।

पूर्वीय दर्शनमा भावलाई शक्ति वा स्त्री र विचारलाई शिव वा पुरुषको रुपमा लिइन्छ । यही शिव र शक्तिको मिलनले नै हामीभित्रको आत्माको दर्शन गराँउछ र अध्यात्मको उद्देश्य यही आत्म वा स्वयंको खोज वा रुपान्तरण हो । जनावर जसरी बाँचेर मर्नु भनेको यो जीवनको सुखद अवसरलाई गुमाउनु हो ।

आफूलाई स्वीकार गर्ने र माया गर्नेले मात्र अरुको महत्त्व र भावनालाई पनि कदर गर्नसक्छ । आफू आफ्नो भइसकेपछि सबै आफ्नै लाग्छ र त्यहाँ कुनै आग्रह हुँदैन । कुनै पूर्वाग्रह हुँदैन, मात्र स्वीकार हुन्छ । त्यसैलाई वास्तविक प्रेम भनिन्छ, मुक्ति भनिन्छ । वास्तविक प्रेम भनेको आफ्नो विचार, तर्क, भावभन्दा माथिको अवस्था हो, जहाँ कुनै भेद हुँदैन । जसको पछाडि कुनै कारण हुँदैन । त्यहाँ लिनु होइन, दिनु हुन्छ । आफ्नो खुशी होइन, अरुको खुशीको ख्याल हुन्छ । आफ्नो यौन साथी वा प्रेमीको महत्व र भावनालाई कदर गर्दै यौन सम्बन्धलाई दुबैले माया व्यक्त गर्ने साधनाको रुपमा उपयोग गर्न सक्दा सम्भोग हुन्छ, जहाँ दुबैले भोग गर्ने अवस्था हुन्छ । यही सम्भोगले मात्र त्यो परम आनन्द र परमात्मा (वास्तविक प्रेम) प्राप्त सम्भव हुन्छ ।

यसरी एक अर्काप्रतिको समर्पणले दुई शरीरको मात्र नभई मन र आत्माको मिलन सम्भव हुन्छ, जसलाई योग भनिन्छ । यस्तो योग भनेको १ जोड १ बराबर २ होइन ११ हुन्छ, जहाँ एकले अर्कोको अस्तित्वलाई स्वीकार गरेको हुन्छ र आफूलाई बृहततामा रुपान्तरण गर्न सफल हुन्छ । जब एक अर्काप्रतिको प्रेमको विस्तार आफ्ना सन्तानमा हुन्छ, यसको प्रभाव दुईमा मात्र सीमित नभएर परिवार र समाजमा पनि फाइदा पुग्छ । सायद यौनलाई काम वासना पूर्ति गर्ने माध्यममात्र बनाएको कारण हामीमा पनि प्रेमको प्रशारण नभएको हो कि ? ओशो रजनीशले बुझाउन खोजेको ‘सम्भोग से समाधि तक’ भनेको सायद यही होला । आधुनिक जैविक विज्ञानका अनुसन्धानहरुले पनि स्वस्थ यौन सम्बन्धले सम्भोगको चरमोत्कर्षमा मस्तिष्कमा निस्केका रसहरु oxytocine, endorphine, serotonin, dopamine को प्रभावले आत्मीयता बढाउन, तनाव कम गर्न, स्फुर्ती बढाउन तथा आनन्द दिनुका साथै विभिन्न रोग तथा दुःखाइहरुमा राम्रो गर्ने पुष्टि भएका छन् । ध्यानको अवस्थामा पनि सम्भोगको चरमोत्कर्षमा जस्तै मस्तिष्कमा निस्किने रसहरु oxytocine, endorphine, serotonin, dopamine निस्किने कुरा अनुसन्धानले पनि पुष्टि भएको छ । त्यसैले नियमित ध्यान गर्नेहरुमा यौन लिप्तता हराउँदै जान्छ । किनकि ध्यानबाट नै आनन्द प्राप्त भएको हुन्छ । अब छनोट हाम्रो हो, आनन्द ध्यानबाट लिने कि यौनबाट ? तर, यस्तो गल्ती पनि नहोस् कि आफ्नो अहंको नाममा काम वासनालाई दबाउँदै जबरजस्ती कुमार वा कुमारीको ढोंग देखाउने ! कुमार वा कुमारीको अर्थ आफ्नो भ्रमलाई मार्नु वा चिर्नु हो, स्त्री-पुरुष शरीर भोग्य वस्तु होइन भन्ने सत्यको बोध हो ।

यौन प्रकृतिको अनुपम देन हो, जसले दुई विपरीत (स्त्री-पुरुष) शक्तिलाई नजिक ल्याई यस सृष्टिलाई सम्भव बनाएको छ । तर, अहिले यौन ऊर्जालाई काम वासना पूर्ति गर्ने माध्यम मात्र बनाउन खोजिएको छ, यससँग जोडिएको एकअर्काप्रतिको जिम्मेवारी र उत्तरदायित्वलाई नजरअन्दाज गरिँदैछ । यौनलाई सौदाबाजी र पुरुषार्थको औजार बनाएर दुरुपयोग गरिँदैछ । नारी-पुरुषको सम्बन्धलाई यौनमा विसर्जन गर्नु वा शारीरिक तहमा सीमित राखेर हेर्नु भनेको सगरमाथा जित्न हिँडेको मान्छे आधार शिविरसम्म मात्र पुगेर गर्व गर्नु जस्तै हो । दुई विपरीत शरीर-शक्ति आमुनेसामुने हुँदा जनाउने जैविक प्रतिक्रियालाई यौन वा प्रेम भनी सरलीकृत गरी त्यसको आवेगमा बग्ने वा नैतिकताको कसीले हेरेर त्यसबाट भाग्ने कुराले यौनको वास्तविक शक्तिलाई बुझ्न सकिँदैन । यौनलाई आफ्नो प्रभुत्व वा आधिपत्य जमाउने वा मोलमोलाइ र सौदाबाजीको माध्यम बनाइ दुरुपयोग गर्नाले समस्यामा पर्नु स्वाभाविक हो । जहाँ मन जोडेको छैन, भावना जोडेको छैन, हत्तारिएर शरीरमात्र जोड्न खोज्नु भनेको वेश्याबृत्तिभन्दा फरक छैन, जसले कुनै तृप्ति दिँदैन । त्यस क्षणिक आनन्दको लागि बारबार त्यही दोहोराएर लान्छ, एक प्रकारको नशा वा आशक्ति उत्पन्न गराउँछ ।

यौन सम्बन्धलाई आफ्नो मनोबृत्ति वा काम वासना पूर्ति गर्ने साधनको रुपमा मात्र उपयोग गर्नाले आत्म सन्तुष्टिको अनुभूति हुँदैन, झन बढी लोभ र लिप्तता जन्मन्छ । जसका कारण यौन शक्तिलाई परमात्मासम्म वा भनौं वास्तविक प्रेमसम्म पुग्ने माध्यम बनाउन चुक्छौं । काम वासनाविनाको चोखो आत्मा छ भने स्पर्श वा अंगालोमा मात्र पनि प्रेमको सागरको अनुभूति पाउन सक्छौं । वैज्ञानिक तथ्यहरुले पनि आत्मीय स्पर्श तथा अंगालोमा love hormone (oxytocine) निस्कने कुरालाई पुष्टि गरेका छन् । तर, यौनलाई बुझ्न नसक्दा त्यो सामिप्यतासँग पनि डराउन पुग्छौं । काम वासनाबाट माथि उठ्न सक्यौं भने मात्रै यौनको ऊर्जालाई उपयोग गर्न सक्षम हुन्छौं । त्यसैले यौन, प्रेम र विवाहलाई बुझौं, वास्तविक प्रेम शरीर र मनको नाताभन्दा माथि हुन्छ, जुन विराट रुपमा फैलिएको हुन्छ । प्रेमको लागि यौन जरुरी छैन । तर, यौनका लागि प्रेम जरुरी छ र विवाह भनेको यौनका लागि लाइसेन्स मात्र पनि होइन । जबसम्म प्रेम, यौन र विवाहलाई छुट्याएर बुझ्न सकिँदैन, समस्या ज्युँका त्युँ रहिरहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *