शैलुङको थुम्कोबाट देखेको देश – Nepal Press
ब्लग

शैलुङको थुम्कोबाट देखेको देश

चलचित्र क्षेत्रमा आउनुअघि म मार्सल आर्ट गर्थेँ, गराउँथेँ पनि । उकालो सिँढी दौडिएर चढ्नुपर्थ्यो । चढ्ने मात्रै हैन, अर्को मानिस वा गरुङ्गो सामान बोकेर दौडिन पनि पर्थ्यो । ती सबै काम हाम्रो जिम्मेवारी थिए ।

मार्सल आर्टमा स्थापित भएपछि मात्रै चलचित्र क्षेत्रमा प्रवेश गरेको हुँ ।

यसपटक संयोगले म शैलुङ यात्रामा निस्किएँ । यात्राका क्रममा खोलाखर्कबाट करिब ३५-४० मिनेटको उकालोमा पैदल हिँड्नुपर्‍यो । उकालोको पैदल यात्रा जति रोमाञ्चक थियो, उत्ति नै नोष्टालजिक पनि । उकालो यात्राले मलाई झण्डै-झण्डै विस्मृतिमा पुगिसकेको मेरो मार्सल आर्टको समय सम्झाइदियो ।

धेरै वर्षपछि त्यस्तो उकालोमा हिँड्ने अवसर पाएको थिएँ । त्यो उकालो जति चढ्दै गएँ, उत्ति नै मेरो विगततिर फर्कँदै गएँ । विगतको सम्झना सहितको यात्रा बडो सुन्दर थियो ।

हरेक चिजलाई बुझ्ने तरिका मेरो आफ्नै किसिमको छ । आफ्नै दृष्टिकोणले हरेक चिजलाई बुझ्न रुचाउँछु । शैलुङको ती उकालोको हरेक सिँढीहरू पनि मैले आफ्नै किसिमले चढेँ । उकालो यात्राका क्रममा कसैसित बोलिनँ । चुपचाप सिर्फ चुपचाप लामो लामो सास लिँदै उकालो चढिरहेँ । यसरी यात्रा गर्नु मेरा लागि एक खालको मेडिटेसन हो ।

म जुन ठाउँमा पुग्छु, त्यस ठाउँको प्रकृति अनुसारको मेडिटेसन गर्ने गर्छु । कुनै कुनै यात्रामा बोल्दा पनि ऊर्जा खर्च हुन्छ । त्यसैले त्यो ऊर्जा म अक्सर हिँड्नमा खर्च गर्छु । खोलाखर्कको उकालो पनि मैले एकै फेरोमा कतै पनि नरोकिई आफ्नै लयमा पार गरेँ । उकालोको यात्रामा यात्रा गरिरहेका सबै चुपचाप थिए । सबैले लामो लामो सास फेरिरहेका थिए । आवाजको नाममा निस्किएको लामो लामो सासले कानलाई झंक्रित बनाइरहेको थियो ।

शैलुङमा म पहिलोपटक पुगेको थिएँ । सडक मार्गबाट शैलुङसम्म पुगेका थियौं । त्यहाँको वातावरण गज्जबको थियो । भौगोलिक विकटता त थियो, तर स्थानीयको माया तथा सत्कारले विकटता होइन, मानवताको मात्रै अनुभव भयो ।

हाम्रो करिब ५० वटा गाडीको लामबद्ध र्‍याली थियो । र्‍यालीलाई हेर्न गाउँ गाउँबाट स्थानीयहरू आउनुभएको थियो । अनि उहाँहरूले गर्नुभएको स्वागत लगायत दृश्यहरू अहिले पनि मानसपटलमा ताजै छन् । कोरोना महामारीको समयमा जनतालाई चेतना दिन हामी त्यसरी नै गाउँ गाउँ गएका थियौँ । त्यसपछि भने यो नै पहिलो गाउँ यात्रा हो मेरो ।

हामीलाई धुलिखेलमा पञ्चेबाजा बजाएर स्थानीयले स्वागत गर्नुभयो । धुलिखेलबाट शैलुङतर्फको केही सहज यात्रा पश्चात सिन्धुलीबाट पारी लागेपछि भने ‘एड्भेञ्चर’ सुरू भएको थियो । ठाउँ ठाउँमा स्थानीयको स्वागत, माया, आत्मियता तथा स्थानीय खाना र परिकारले अहिले पनि ताजा महशुस भइरहेको छ । दोरम्बामा खाएको कटुस, स्थानीय खाना र परिकारका स्वादले मलाई निकै नै पुराना दिनहरूमा पुर्‍यायो । चलचित्र सुटिङ गर्न जाँदा प्रायः यसरी नै खाने गर्थ्यौँ । यसरी नै रमाइलो गर्ने गर्थ्यौँ ।

शैलुङ यात्राका क्रममा बाटोमा चौँरी गाईको बास्ना आइरहेको थियो । चौँरीको दूध, चौंरीकै छुर्पी, चौरीकै बास्नाको महकले कतै प्रकृतिमा लिप्त भइरहेको महसुस हुन्थ्यो । खोलाखर्कमा पाहुनाको स्वागतका लागि स्थानीय संस्कृति अनुसारका झाँकीका साथै परिकार राखिएको रहेछ । त्यस ठाउँको सँस्कार नै रहेछ यस्तो ।

आधुनिकताका नाममा मानिसहरूले आफ्नो संस्कार बिर्सँदै गएका छन् । स्थानीय संस्कृति संकटमा परिरहेको यस्तो विषम परिस्थितिमा शैलुङले आफूलाई बचाएर राखेको रहेछ ।

खोलाखर्कमा सगुनका रूपमा पाहुनाहरूलाई स्थानीय प्याला दिइयो । मैले चाहिँ प्याला लिइनँ । विगतमा बियर पिउँथे । अहिले छाडेको धेरै नै भइसक्यो । साथीहरूले प्याला लिएर ‘इन्जोय’ गर्नुभयो । मैले त्यही हेरेर रमाइलो मानेँ । चिसो ठाउँमा चिसोबाट ज्यानलाई केही न्यानो बनाउन त्यो संस्कार सही हो । स्वास्थ्यका लागि पनि यो राम्रो हो सायद ।

शैलुङ यात्रापूर्व मैले शैलुङबारे कुनै पनि जानकारी लिएको थिइनँ । जानकारी नलिई यात्रामा निस्कँदा त्यहाँको वास्तविक जानकारी प्राप्त हुन्छ । जसको आनन्द अर्कै हो भन्ने लाग्छ मलाई । मलाई केही थाहा नभएको ठाउँमा पुगेर त्यस ठाउँमा रमाउन र हराउनमा छुट्टै खालको आनन्द प्राप्त हुन्छ ।

जब उकालो चढेर शैलुङको थुम्कामा पुगेँ, तब लाग्यो नेपाल टुक्राटुक्रा स्वर्ग मिलेर बनेको सुन्दर राष्ट्र हो । भलै त्यसको कदर पनि हामीले गर्न सकेका छैनौँ । र, प्रचार पनि गर्न सकेका छैनौं । शैलुङका थुम्काहरूमा खेल्ने हावा र हावासँगै आइपुगे स्थानीय संस्कृति र संस्कारको महक वास्तवमै प्राकृतिक थिए ।

हामी शैलुङ पुग्दा अँध्यारो भइसकेको थियो । दृश्यावलोकन गर्न त सकिएन, तर शैलुङ ठाउँ नै त्यस्तो रहेछ ! राति पनि मोहित बनाइरहने वातावरण । झनै दुबो र जडिबुटीको ओछ्यानमा रात कट्ने भएपछि मन त्यसै अल्लहदित भइरह्यो ।

म क्याम्पिङ टेन्टमा एक्लै थिएँ । बाहिर जोडले हावा चलिरहेको थियो । क्याम्पिङ टेन्टमा भने हावा छिरेको थिएन । बिहानै साढे चार बजे उठेँ ।

प्रायः बिहान साढे चार बजे उठ्ने मेरो दैनिकी नै हो । तर, अरु साथीहरू भने सुतिरहेका थिए । शैलुङ शान्त थियो । मैले टेन्टभित्रै मेडिटेसन गरेँ । त्यसपछि अलि माथि रहेको गुम्बामा गएँ । गुम्बा रहेको ठाउँ वास्तवमै विशेष थियो । उसो त तीर्थ भएको ठाउँ मेरा लागि विशेष नै हुन्छ ।

गुफाबाट करिब ४५ मिनेट ओरालोतर्फ केही साथीहरूसँग लागेँ । दुबो तथा अन्य जडिबुटीले सजिएका शैलुङका थुम्काहरू, भर्खर चर्न शुरू गरिरहेका चौँरीहरूले बिहानको परिवेशलाई सुनौलो बनाएको थियो । हामी हिँड्दै शैलुङको तल रहेको जंगलमा पुग्यौँ ।

अलि जंगलमा पुगेपछि एक अपरिचित महिला हामी भएको ठाउँमा आउनुभयो । र भन्नुभयो, ‘तपाईँहरूलाई लेराउन माताले आदेश दिनुभएको छ, हिँड्नुहोस् ।’
हामी उत्सुक हुँदै महिलाको पछि पछि लाग्यौँ ।

हामी गुफातर्फ हैन, जंगलतर्फ गयौँ । ती महिलाले हामीलाई जहाँ पुर्‍याउनुभयो, त्यो ठाउँ वास्तवमै गज्जबको थियो । त्यस ठाउँबारे त्यहाँका स्थानीयलाई पनि त्यति जानकारी रहेनछ । जंगलभित्र रहेको त्यस ठाउँमा रहेका आकृतिहरू मानिसले नै कुँदेका जस्ता देखिन्थे । तर, सबै प्राकृतिक नै थियो । त्यहाँ पूजा पनि गर्ने गरिएको रहेछ । मैले त्यहाँ करिब एक घण्टा ध्यान गरेँ । त्यहाँ केही फोटो पनि खिचाइयो ।

(तस्वीरमा मैले ध्यान गरेको पछाडि ठूलो नन्दी (साँढे) को आकृति छ । तर, यो ढिस्को हो ।)

अध्यात्म एक विज्ञान हो । कुनै पनि ठाउँमा जाँदा त्यहाँ मानिसले के सोचेर गएको हुन्छ भन्ने कुराले फरक पार्छ । म सकेसम्म अध्यात्म, विज्ञान तथा विज्ञानभन्दा पनि माथि पुगेर सोच्ने प्रयास गर्छु । आजकल सामाजिक सञ्जालतर्फ मानिसहरू धेरै नै भुलिसकेका छन् ।

चिया पनि नखाई गएको र भोक पनि बढ्दो भएकाले हामी गुफामा भने गएनौँ । दिउँसो त्यहाँबाट फर्कियौँ । त्यसपछि शैलुङको थुम्कामा स्थानीय संस्कृति अनुसारका झाँकीहरूमा हामी रमायौँ ।

विकट हुँदा पनि त्यहाँ घण्टौँदेखि हिँडेर आएका स्थानीय र उहाँहरूको मायाले म भावविभोर भएको थिएँ । मजस्तो कलाकारलाई दिनका लागि केही हुँदैन भन्ने फील हुन्थ्यो ।

०००

मलाई केही महिना अघिदेखि नै एलर्जीको समस्या थियो । म केही कमजोर पनि थिएँ । शैलुङ जाने क्रममा मलाई डर थियो, गाह्रो त हुने हैन ? तर शैलुङमा कुनै समस्या भएन । काठमाडौंमा गाह्रो भइरहेको मलाई त्यहाँ गएपछि सहज भयो ।

मैले केही दिनलाई पुग्ने गरी औषधि बोकेर गएको थिएँ । तर, पानीले औषधि भिज्यो र बिग्रियो । शैलुङको दोस्रो दिन राति सम्ममा औषधिको कमी भइसकेको थियो । फेरि बिरामी बल्झेला भन्ने डरले तेस्रो दिन बिहानै काठमाडौं फर्किएँ ।

शैलुङबाट चौँरीको नौनी र डल्ले खुर्सानी ल्याएँ ।

शैलुङमा दुई रात बिताइसकेपछि र त्यहाँको तीर्थस्थलहरूको अवलोकन गरिसकेपछि मलाई पनि शैलुङको पर्यटन प्रवर्द्धनमा केही गर्ने सोच आएको छ । म त्यहाँ मेरा केही कार्यक्रमहरू गर्नेछु र भिडिओ बनाउनेछु ।

शैलुङ पर्यटन तथा अध्यात्मिक पर्यटनको हिसाबले एकदमै महत्वपूर्ण भूमि रहेछ । त्यसको प्रचार अझ धेरै हुनुपर्छ । पर्यटन प्रवर्द्धनका लागि सञ्चालित संघसंस्था, पर्यटन बोर्ड, पर्यटन विभाग लगायतले पहल लिनुपर्छ । यस क्षेत्रमा पर्यटन विकास गर्ने र शैलुङलाई विश्वसामु फैलाउने उद्देश्य लिनुपर्छ ।

नेपाल सुन्दर देश हो । तर, हामीले गलत नेताहरू छानेका कारण हामीलाई उनीहरूले यस्तो अवस्थामा पुर्‍याएका हुन् । पर्यटनकै माध्यमबाट हाम्रो मुलुकको विकास हुनेमा शंका छैन । हामीले हाम्रा पर्यटकीय क्षेत्रको पहिचान गरेर त्यसको प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता हो । छोटो दूरीमै गर्मी वा हिउँ परेको ठाउँमा पुग्न सकिन्छ ।

हाम्रा राजनीतिक दलको ध्यान र स्वार्थ पनि मैले शैलुङमा देखेँ । प्राकृतिक हिसाबले त्यस्तो सुन्दर ठाउँ, जहाँबाट आफैं दृश्यावलोकन गर्न सकिन्छ, त्यस ठाउँमा भ्यूटावर बनाइएको छ । नेताहरूले त्यहाँका जनतालाई क्षणभरको विकास गरेर झुक्याएका छन् । जबकि त्यहाँसम्म पुग्ने सडकको विकासबारे उनीहरूलाई चिन्ता छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *