अब काठमाडौंनजिकै प्याराग्लाइडिङको मज्जा, चन्द्रागिरीबाट उडेर चित्लाङमा ल्याण्ड – Nepal Press

अब काठमाडौंनजिकै प्याराग्लाइडिङको मज्जा, चन्द्रागिरीबाट उडेर चित्लाङमा ल्याण्ड

काठमाडौं । काठमाडौं उपत्यका नजिकको ‘हिल स्टेसन’ चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरू भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङका नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट ‘एडभेञ्चर्स अफ इयर-२०१२’ अवार्ड विजेतासमेत हुन् ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने सुनुवार बताउँछन् । चन्द्रागिरी (२३ सय मिटर)बाट सुरू भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिन्छ । अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्य‍ू’ का साथै काठमाडौं उपत्यकाको अधिकांश भू*भागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भू-भाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले जो कोहीलाई मोहित बनाउँछ ।

उडानको अधिकांश समय जंगलमाथि हुने भएकाले जंगलको हरियाली त्यहाँको अर्को मज्जा हो । सरकारी अनुमतिअनुसार, कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवार बताउँछन् । दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनले बताए ।

स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरीमा लगानी गरेको बताउँछन् ।

उनले भने, ‘नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौँमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु ।’

कम्पनी ‘क्रस कन्ट्री’ उडाउन गराउन समेत तयारी अवस्थामा रहेको उनले बताए । चन्द्रागिरीमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भैसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ ।

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरि करिब ६ वर्षको प्रयासमा चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू गर्न सफल भएको सुनुवारले जानकारी दिए ।

कति लाग्छ शुल्क ?

कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रूपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडिओका साथै गाडीमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने-आउने सुविधा उपलब्ध हुनेछ । फोटो र भिडिओको उपकरणको प्रबन्ध कम्पनीले नै गर्छ । सोही प्याकेजका लागि विदेशी नागरिकले प्रतिव्यक्ति १२ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने छ ।

कम्पनीको सवारीमा जाने-आउने सुविधा नलिने नेपाली पर्यटकले ७ हजार २ सय रूपैयाँ तिरे प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् ।

के ख्याल गर्ने ?

प्याराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो हुँदा उडानका क्रममा हावाको वेगले अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ‘टेक अफ’ को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ ।

कसरी गर्ने बुकिङ ?

चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेञ्चर्सलाई उडान गर्नुभन्दा एक दिनअघि नै सम्पर्क गर्नुपर्नेछ । जसका लागि कम्पनीको वेबसाइट मार्फत वा ९८५६०५७३३९ मा फोन गरेर पनि बुकिङ गर्न सकिने भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर