वर्षेनि पूर्वराजासँग टीका लगाउन जाने सुष्मा कार्कीलाई राजतन्त्रको तृष्णा – Nepal Press

वर्षेनि पूर्वराजासँग टीका लगाउन जाने सुष्मा कार्कीलाई राजतन्त्रको तृष्णा

लाइन नबसी सरासर निर्मल निवास पसिन्, राजाको अगाडि घुँडा टेकेरै बसिन्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न हिजो सर्वसाधारणको लामो लाइन लाग्यो शीतल निवासमा । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफू ३ घन्टा लाइन बसेर टीका लगाएको सामाजिक सञ्जालमा लेखेका थिए ।

भीआईपीहरूसमेत लाइन बसेका बेला एक चर्चित सेलिब्रिटी भने सरासर निर्मल निवासभित्र पसिन्, पूर्वराजासँग टीका लगाइन् र फर्किइन् । उनलाई लाइन बस्नै परेन । को हुन् उनी ?
लख काटिसक्नुभयो होला । उनी थिइन् नायिका सुष्मा कार्की । सारी चोलोमा झकिझकाउ देखिएकी सुष्माले घुँडा टेकेर पूर्वराजाको हातबाट टिका थापिरहेको फोटो सार्वजनिक भएको छ । यसमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

सुष्मा स्वयम् भने यो आफ्नो व्यक्तिगत विषय भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘राजाप्रति आस्था हुनु मेरो व्यक्तिगत कुरा हो । म हरेक वर्ष टीका लगाउन जान्छु । कसैलाई मन पर्नु वा नपर्नुसँग मेरो सरोकार छैन ।’

नेपालमा राजतन्त्र चाहिन्छ भनेर खुलेर वकालत गर्ने थोरै कलाकारमध्ये पर्छिन् सुष्मा । विभिन्न अन्तरवार्ताहरूमा उनले गणतन्त्रभन्दा राजसंस्था नै नेपालको हितमा हुने टिप्पणी गर्दै आएकी छन् । यसलाई लिएर कतिपयले सुष्मालाई राजावादी पनि भन्ने गर्छन् । तर, यसो भन्नेहरूप्रति पनि उनको कुनै टिप्पणी छैन ।

‘नेपालमा राजतन्त्र चाहिन्छ भनेर मैलेमात्रै भनिरहेको छैन । अब त जनताले नै भन्न थालेका छन् । होइन भने राष्ट्रपतिको हातबाट टीका लगाउन थोरै मान्छे जाँदा राजाको हातबाट टीका लगाउन यत्रो भिड लाग्ने थिएन,’ उनी भन्छिन् ।

सुष्मा राजाको हातबाट टिका लगाउन थालेको सानैदेखि हो । राजतन्त्रप्रतिको आस्थाले मात्र नभएर पारिवारिक सम्बन्धका कारणले पनि उनी टीका लगाउन जाने गर्छिन् ।

सुष्माकी आमा राणा खलककी हुन् । सुष्माका अनुसार उनका हजुरबुवा (मावलीपट्टिको) युवराजशम्शेर राणा राजपरिषदका सदस्य थिए । त्यसैले उनको मावली परिवार दरबारसँग नजिक थियो ।

‘म सानैदेखि मामाघरमा बसेर पढेको । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा मेरो आफ्नै मामा होइसिन्छ । सानैदेखि विभिन्न अवसरहरूमा राजपरिवारका सदस्यहरूसँग भेट भइराख्थ्यो । राजाले मलाई एउटा कलाकारभन्दा फलानोको नातिनी भनेर चिन्नुहुन्छ । पहिले पनि म हजुरबुवासँग गइरहन्थेँ,’ उनले भनिन् ।

निर्मल निवासमा सुष्मालाई धेरैले चिन्छन् । त्यही बसेर उनले हिजो टिका लगाउन जाँदा लाइन बस्नु परेन ।

उनी भन्छिन्, ‘म ६ बजेतिर गएँ । लाइन त लामो थियो । तर, त्यहाँ मेरो रिलेटिभहरू होइसिन्छ । त्यसैले म सरासर भित्र गएँ । टीका लगाएर आएँ ।’

सुष्मालाई नेपालमा राजतन्त्र फर्किनुपर्छ र फर्किन्छ जस्तो लाग्छ । उनले कहिले भन्ने जवाफ चाहिँ उनीसँग छैन ।

‘मलाई राजनीतिको विषयमा त त्यति आइडिया त छैन, तर राजा आउनुपर्छ र आउनुहुन्छ जस्तो लाग्छ मलाई । राजा भएको देश पो देश जस्तो हुन्छ त होइन र ?’ उनले भनिन् ।

सुष्मालाई कसैले ‘राजावादी’ भन्दा रिस उठ्दैन । सबैले आ-आफ्नो विचार बोकेर बाँच्न पाउनुपर्ने उनको भनाइ छ ।

उनले थपिन्, ‘राजा हुँदा देशको अलिकति भए पनि इज्जत थियो । गणतन्त्र आएपछि कस्तो छ सबैले देखेकै छन्,’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *