दसैँमा देश छाड्दै परदेशिएका पाइलाहरू (भिडिओ) – Nepal Press

दसैँमा देश छाड्दै परदेशिएका पाइलाहरू (भिडिओ)

काठमाडौं । देशभर दसैँको उल्लास छ । थातथलो फर्किनेको सडक जाम, पारिवारिक जमघट, पिङ र मेला अनि मीठोमसिनो परिकारले चाडलाई झन् रमाइलो बनाइरहेको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृष्य भने केही फरक छ ।

अधिकांश चाडबाडमा रमिरहँदा रोजगारीका लागि विदेशिने युवाहरूको ताती छ विमानस्थलमा । रहरभन्दा पनि बाध्यताले विदेशिएका उनीहरूमा एकातिर चाडबाडको संघारमा परिवारसँग बिछोडिनुको पीडा त छँदैछ । अर्कोतिर तिनै परिवारको भविष्यको सपना ।

हामी विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन पुग्दा त्यहाँ रोजगारी र पढ्नका लागि विदेशिएका दुईथरी अनुहार देखिए । तर, दुईथरीकै कुरा भने समान थियो- देशमा अवसर छैन, गरिबी बढ्यो, भविष्य देखेनौं । रहर नभई बाध्यताले विदेशिनु परेको उनीहरूको भनाइ छ ।

एक विद्यार्थीले भने, ‘यहाँ पढ्ने वातावरण पनि छैन, पढेर पनि भोलि के गर्ने भविष्य अन्यौल छ । दसैँका मुखमा घर छाड्नु रहर त के थियो र ? त्यही पनि सुन्दर सपना बोकेका छौं । खुसी नै मान्नुपर्छ ।’

रोजगारीमा हिँडेका अर्का एक युवाले भने, ‘आमाले डाको छोडेर रुँदा आफू पनि रोयो भने उहाँ झनै कमजोर हुनुहुन्छ, त्यसैले आँसु झार्न डर लाग्यो ।’

बिदाई गर्न एयरपोर्ट पुगेका बुबाआमा, आफन्तले टीका, खादा लगाएर आँसु झार्दै कठोर मनले हात हल्लाइरहेका थिए । हातमा पासपोर्ट बोकेर उड्न ठिक्क परेकाहरूको पनि गहभरी आँसु देखिन्थ्यो । दसैँले छोपिसकेकाले धेरैले त रातो अक्षता टपरामा मुछेर एयरपोर्ट लगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर