शीर्ष नेताको दसैँ : प्रचण्ड, ओली र माधवलाई जुठो, अरुले कसरी मनाउँदैछन् ? – Nepal Press

शीर्ष नेताको दसैँ : प्रचण्ड, ओली र माधवलाई जुठो, अरुले कसरी मनाउँदैछन् ?

काठमाडौं । यतिखेर सबैतिर दसैँको रमझम छ । संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण थातथलो फर्किने क्रम जारी नै छ । मान्यजनको हातबाट टीका र जमरा लाउन नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा हुने गर्दछन् ।

यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कतिपय शीर्ष नेताको विजयादशमीको टीका छैन ।

यो वर्ष यस्तो छ शीर्ष नेताको दसैँ:

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयका अनुसार तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक प्रधानमन्त्रीको परिवारमा दसैँ छैन ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द अचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले यसपटक पारिवारिक भेटघाटमात्र गर्नेछन् ।

उनले भने, ‘यसअघिका वर्षमा पनि प्रधानमन्त्री प्रचण्डले सामान्य रूपमा पार्टीको कामको सिलसिलामा जहाँ हुनुहुन्थ्यो, त्यतै दसैँ मनाउने गर्नुहुन्थ्यो । टीका पनि लगाउने गर्नु हुन्न थियो । यस पटक त झन् शोकमै भएकाले हुने कुरै भएन ।’

प्रचण्डले गत वर्ष आफूले टीका नलगाएपनि परिवारका सदस्यलाई लगाइदिएका थिए ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो वर्षको दसैँ काठमाडौंमै मनाउँदै छन् । विजयादशमीका दिन देउवाले परिवारमै टीकाटालो गर्ने र त्यसपछि निवासमै बसेर नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने तालिका रहेको सचिवालयले जनाएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले नेपाल प्रेससँग भने, ‘सभापति ज्यू आफ्नो निवासमा दसैँ मनाउनुहुनेछ । यसबाहेक गृहजिल्ला डडेलधुरा वा अन्त कतै जाने योजना छैन ।’

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसपाली विजयादशमीको टीका लगाउने छैनन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओलीको परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ । आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् ।

केही दिनदेखि गृहजिल्ला झापामा रहेका ओली कार्यकर्ता भेटघाटसँगै पार्टी र भ्रातृ संगठनको कार्यक्रममा व्यस्त छन् । उनी भोलि नवमीको दिन काठमाडौं फर्किने छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहट पुगेका छन् । फूलपातीकै दिन रौतहट पुगेका नेपाल महानवमीको दिन काठमाडौं फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका कारण नेपालले यस पटक टीका लगाउने छैनन् ।

कपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले भने, ‘उहाँ फूलपातीको दिन रौतहट जानुभएको छ । उहाँको कान्छो भाइको निधन सात महिनाअघि मात्रै भएकाले उहाँको टीका लगाउने कार्यक्रम छैन । शुभकामना आदानप्रदान गर्नका लागि गृहजिल्ला रौतहट जानुभएको हो । महानवमीको दिन काठमाडौं फर्किनुहुन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दसैँ घरमै मनाउनका लागि घटस्थापनाकै दिन झापा पुगिसकेका छन् । उनले यस वर्षको दसैँ झापाको हल्दिबारी १ मा रहेको आफ्नै घरमा बसेर आफ्नो बुवाको हातबाट टीका लगाउने लिङदेनले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘म घटस्थापनाकै दिनमा झापाको हल्दिबारी आफ्नो घरमा आइसकेको छु । अब टीकाको दिन बुवाको हातबाट टीका लगाउने हो । भोलिपल्ट काठमाडौं फर्किन्छु ।’

झापा पुगेको बेला पार्टीका नेता कार्यकर्तासँग भेटघाट तथा शुभकामना आदानप्रदानका कार्यक्रममा पनि सहभागी भइरहेको लिङदेनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौंमै बसेर दसैँ मनाउने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी स्वकीय संयोजक प्रतिभा रावलका अनुसार पार्टीका कार्यक्रम फूलपातीदेखि १० गतेसम्म रोकिएका कारण सभापति १० गतेसम्म काठमाडौं उपत्यकामा नै रहनेछन् ।

उनले भनिन्, ‘सभापतिज्यूको दाजुभाउजू काभ्रेपलाञ्चोकमा हुनुहुन्छ । त्यसैले विजयादशमीको दिन टीका लगाउन काभ्रेपलाञ्चोक जानुहुन्छ । हिजोआज पार्टी तथा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी  भइरहनुभएको छ ।’


प्रतिक्रिया

One thought on “शीर्ष नेताको दसैँ : प्रचण्ड, ओली र माधवलाई जुठो, अरुले कसरी मनाउँदैछन् ?

  1. प्रचण्डलाइ के को जुठो र ? न धर्म न संस्कृति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर