खोटाङ बराहपोखरीबाट झण्डै पौने २ करोडको खसीबोका काठमाडौं निर्यात – Nepal Press
दसैँमा मासु

खोटाङ बराहपोखरीबाट झण्डै पौने २ करोडको खसीबोका काठमाडौं निर्यात

खोटाङ । दसैँको संघारमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाखभन्दा बढीको खसीबोका काठमाडौं निर्यात भएको छ । बाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसीबोका काठमाडौं पुर्‍याएका छन् ।

एउटा खसीको सरदर मूल्य २० हजारले एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिए । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका ६ वटै वडाका किसानको घर-घर पुगेका थिए ।

चाडबाडको बेला टाट्नैबाट खसीबोका बिक्री हुँदा कतिपय एकैघरका किसानले ५-६ लाखसम्म हात पारेका छन् । कतिपयले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि ८ वटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरूले खसीबोका धाप्लाङघाटसम्म हिँडाएर पुर्‍याएका थिए ।

कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौँ पुर्‍याएका पशु सेवा शाखा प्रमुख बञ्जराले बताए । कतिपय किसानले आफैँ उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

१० स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँतिहारका अवसरमा करोडौंको खसी निर्यात भएको बाख्रापालन व्यवसायी संघ खोटाङले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको संख्या बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर