भष्मे डनको चश्मा – Nepal Press

भष्मे डनको चश्मा

काठमाडौं । सात वर्षअघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ बाट ‘भष्मे डन’ पात्रको जन्म भयो । चलचित्रको शीर्षक पात्र ‘पशुपति प्रसाद’ भए तापनि दर्शकको मन भने भष्मे डनले जितेको थियो ।

चलचित्रमा भष्मे डनको भूमिका अभिनेता विपीन कार्कीले निभाएका थिए । उनको लागि यो भूमिका ‘लक्की चार्म’ नै सावित भयो भन्दा फरक पर्दैन । ‘पशुपति प्रसाद’ पछि उनले थुप्रै चलचित्रमा थरिथरि भूमिका निभाए, तर उनलाई अहिले पनि अधिकतम दर्शकले ‘भष्मे डन’ भनेर नै चिन्ने गर्छन् । दर्शकमाझ अत्यधिक लोकप्रिय उही ‘भष्मे डन’ लाई मुख्य पात्र बनाएर ‘पशुपति प्रसाद २-भष्मे डन’ निर्माण भएको छ, जुन यही शनिबार अर्थात् कात्तिक ४ बाट देशभर एकसाथ रिलिज हुँदैछ ।

‘भष्मे डन’ पात्र दर्शकको लागि जति विशेष छ, त्यति नै महत्वपूर्ण विपीनको लागि पनि छ । त्यसैले त उनले अहिलेसम्म पनि ‘भष्मे डन’ बन्दा आफूले लगाएको चश्मा सुरक्षित साथ राखेका छन् । पशुपतिप्रसादमा उनले लगाएको चश्माको कथा पनि रोचक नै छ । त्यो चश्मा उनलाई एकजना साथीले दिएका थिए । चश्मा उनको साथीको हजुरबुवाको थियो । हजुरबुवाले जवान हुँदा लगाउने सो चश्मा मृत्युअघि नातिलाई दिएका रहेछन् । त्यही चश्मा साथीले विपीनलाई दिएका थिए ।

उनलाई मनपर्ने भएकाले विपीन त्यो चश्मा प्राय लगाएर हिँड्थे । पशुपति प्रसादको छायांकन हुँदा पनि उनले त्यो चश्मा लगाएरै गएका थिए । खासमा, उनलाई पशुपति प्रसादमा लेन्स लगाउन मन थियो । उनले प्रोडक्सन टीमसँग माग राखेका पनि थिए । तर, प्रोडक्सन टीमले उनको माग अस्वीकार गर्‍यो ।

‘लेन्स लगाउने सोच थियो । गएर भनेँ पनि । (हाँस्दै) तर त्यतिबेला शंकर पाण्डेले पत्याएनन् । कहाँ सबैलाई जे भन्यो त्यही दिएर हुन्छ भन्ने कुरा आएपछि मैले दीपेन्द्र दाइलाई आएर सुनाए,’ विगत सम्झिँदै विपीन सुनाउँछन् ।

निर्देशक दीपेन्द्र के खनालले नै उनलाई आफूले लगाएकै चश्मा चलचित्रमा लगाउन सुझाएका थिए ।

‘लेन्स प्रोडक्सनले दिएन भनेपछि दाइले मैले लगाइरहेको चश्मातर्फ देखाउँदै यही चस्मा लगाऊ न, दामी देखिएको छ भन्नुभयो । उहाँले भनेपछि ठीकै छ भन्ने भयो । अनि त्यही चश्मा लगाइयो,’ उनले जोडे ।

विपीन आफूले निभाएको कुनै पनि पात्रको केही चिनो घरमा राख्न रुचाउँदैनन् । घरमा राखिएको त्यो चिनो वा प्रप्सले आफुलाई सो पात्रबाट माथि उठ्न नदिने उनको धारणा छ । तर, भष्मे डन गर्दा आफूले लगाएको चश्मा भने उनले अहिलेसम्म पनि सम्हालेर राखेका छन् । भष्मे डनसँग आफ्नो इमोसन जोडिएकाले पनि त्यो चश्मा राखेको उनको भनाइ छ ।

भष्मे डनमा उनले यही चश्मा लगाएका छन् । सात वर्ष भइसकेकाले चश्माको सिसा फुटे पनि सिसा फेरेर उनले त्यही चश्मालाई सिक्वेलमा पनि प्रयोग गरेका छन् ।

पशुपति प्रसादबाट विपीनले दर्शकको अप्रत्याशित माया पाए । तर, पहिलो संस्करणमा पशुपति प्रसादको निधन भइसकेकाले उनलाई यो चलचित्रको दोस्रो संस्करण बन्छ भन्ने मनमा एक रत्ति थिएन । त्यसमाथि, आफ्नै मुख्य भूमिकामा हुनेबारे त उनले सोचेका पनि थिएनन् ।

विपीन भन्छन्, ‘भष्मे डनमै चलचित्र बन्छ भन्ने मेरो मनमा थिएन । एक त चलचित्र हेर्दा सिक्वेल नै बन्दैन जस्तो लागेको थियो । यदि बनिहाल्यो भने म नछुट्ने पात्र हुँ जस्तो चाहीँ लागेको थियो ।’

‘भष्मे डन’ मा काम गर्दा आफूलाई झनै मज्जा आएको उनको अनुभूति छ ।

‘मज्जा आउँदा आउँदै चलचित्र सकियो । पशुपति प्रसादको छायांकन गर्न जम्मा ७, ८ दिन लागेको थियो होला, यो भागको छायांकन सक्न ५६ दिन लाग्यो । लगभग हरेक दिन छायांकनस्थलमै थिएँ म,’ उत्साहित हुँदै उनले थपे ।

सात वर्षअघि आफूले निभाएको पात्रमा पुन फर्कन कलाकारलाई सहज पक्कै छैन । त्यहीँ पात्रलाई यतिका वर्षपछि फर्काउन धेरै मेहेनत र अभ्यास जरुरी पर्दछ । तर, सात वर्षपछि पनि भष्मेको क्यारेक्टरलाई ब्याक गर्न आफूलाई भने गाह्रो नभएको विपीन बताउँछन् ।

उनी भन्छन्, ‘केही गाह्रो भएन, किनकी पात्र त्यही हो । के गर्ने भन्ने स्पष्टै थियो । कुन मुडको क्यारेक्टर भन्ने पहिले नै तय थियो । फरक थियो त मात्र उसको भूमिका ।’

चलचित्रको मूल कथा भष्मेकै भएकाले आफू यसपालि झनै जिम्मेवार भएको विपीन सुनाउँछन् । चलचित्र हेरेपछि दर्शकबाट आउने तारिफ र आलोचना दुवैको लागि उनी तयार भएर बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *