कवि, निबन्धकार थाम्सुहाङकाे ‘शब्दथुम’ सार्वजनिक – Nepal Press

कवि, निबन्धकार थाम्सुहाङकाे ‘शब्दथुम’ सार्वजनिक

काठमाडौं । कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति कवि बैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्धय रोशन शेरचन र कुमारी लामाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ कवि काइँलाले थाम्सुहाङले ऐतिहासिक १७ थुमबारे नलेखेर किन ‘शब्दथुम’ मात्रै लेखे भनेर आफूलाई जिज्ञसा लागेको भन्दै ठट्टा समेत गरे । उनले भने, ‘शब्द भनेकै ब्रह्म र ब्रह्म भनेकै शब्द हुन् । थुम भनेको लिम्बूमा कडा वा अप्ठेरो भन्ने हुन्छ । शब्दथुम शब्दको ब्रह्म जस्तो पो लाग्यो ।’

लेखक थाम्सुहाङले आफ्ना बुवाका बारेमा मोहक निबन्ध लेखेको बताए । साथै काइँलाले ‘शब्दथुम’को गद्य लेखन शैली मीठो र लोभलाग्दो भएको बताउँदै थाम्सुहाङले निबन्धहरुमार्फत् दर्शन र चिन्तनमा आफ्नो मत जाहेर गरेको पनि बताए । काइँलाले भने, ‘सानो प्रयासलाई कसैले नगन्ने समयमा लेखकले सानो ठाउँबाट उठेका सांस्कृतिक आन्दोलनमा मिहनि ढंगले लेखेका छन् ।’

समीक्षक बानियाँले एक सय कवि जन्मिँदा एउटा निबन्धकार जन्मन पनि गाह्रो हुने समयमा ‘शब्दथुम’ अर्थपूर्ण रहेको बताए । निबन्धका नाममा यात्रा टिपोट मात्रै बढी हुने गरेको बताउँदै बानियँले थपे, ‘कविले लेखेको यस निबन्धहरुमा काव्यको सुवास भेटिन्छ ।’ निबन्धका नाममा मिडियाले झैं सूचना बेचिने समयमा थाम्सुहाङले निबनधमार्फत् काव्यत्मक सुवास छरेको बताए ।

त्यस्तै निबन्धकार शेरचनले भने, ‘निबन्धमा विचारमा प्रष्टता, सहिष्णु र सहअस्तित्वमा जोड दिइएको छ । पहिचान मुद्दा र जराको खोजीमा अग्रसर लेखक पहिलो निबन्धबाटै स्थापित भएका छन् ।’ शेरचनले थाम्सुहाङका निबन्धमा साहित्यिक वैचारिक चिन्तन पाइने समेत बताए ।

निबन्धकार लामाले थाम्सुहाङलाई पूर्णकालीन साहित्यिक कार्यकर्ता भन्दा फरक नपर्ने बताइन् । रैथाने ज्ञान, पहिचान र सांस्कृतिक आन्दोलनको पक्षधरता बोकेका लेखकका निबन्धमा छिप्पिएको वैचारिकता पाइने लामाको भनाइ थियो । उनले भनिन्, ‘‘इतिहास केन्द्रीकरणको भञ्जनका रुपमा पात्रहरु आएका छन् । अग्रजहरुको प्रभाव ग्रहण गरेर लेखकले आफूलाई निखारेका छन् ।’

लेखक थाम्सुहाङले १७ वर्षपछि दोस्रो कृतिका रुपमा ‘शब्दथुम’ आएको बताए । ‘सपना लिम्बू भाषामा देख्छु, बोल्छु नेपाली, कलेजमा अंग्रेजी पढेँ,’ उनले भने, ‘यसले नेपाली भाषामा पकड कमजोर त छैन डर लागिरहन्थ्यो ।’ कुनै पनि पुस्तकले मानव समाजलाई थोरै भए पनि अंशदान गर्नुपर्छ भन्ने लागेरै यो निबन्ध आएको उनको भनाइ थियो । ‘शब्दथुम’मा इन्डिगो इन्कले प्रकाशन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर