उपप्रधानमन्त्री खड्काको दाबी- संविधानमार्फत प्राप्त उपलब्धिलाई हल्लाउने प्रयास भयो (भिडिओ) – Nepal Press

उपप्रधानमन्त्री खड्काको दाबी- संविधानमार्फत प्राप्त उपलब्धिलाई हल्लाउने प्रयास भयो (भिडिओ)

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूले नै गरेका कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको बताए । संघीय कानून बनाउने कुरामा चुकेको खड्काको स्वीकारोक्ति छ । २०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसकेको उनले बताए ।

खड्काले भने, ‘नेपाली कांग्रेसको अगाडि नेपालको अहिलेको राजनीतिको अगाडि वर्तमान संविधान, सन्धी, लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरुको अगाडि एउटा राजनीतिक चुनौती छ, संविधान कार्यान्वयनको । संविधान जारी गर्दा हामीले संविधान सभाका अगाडि संविधान सभामार्फत सिंगो नेपाली जनताहरु समक्ष संसारका लोकतन्त्रवादीहरुलाई दिएको विश्वास र वचन पूरा गर्ने प्रक्रिया बाँकी छ । संविधानलाई संशोधनमार्फत समृद्ध गर्दै लैजानुपर्ने काम बाँकी छ ।’

संविधानबाट अलग रहेर राजनीति गरिरहेका दलहरूलाई संविधानलाई समृद्ध गर्दै समेट्नुपर्नेमा उनको जोड छ ।

‘आपसका मतभेदलाई, असहमतिलाई, व्यक्ति-व्यक्तिबीचका असहमतिलाई पार्टी सञ्चालनका सन्दर्भमा भएका असहमतिलाई, पार्टीको निर्णय प्रक्रियामा भएको असहमतिलाई हामीले यसरी नै छलफल गरेर टुंग्याउनुपर्ने छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर मुद्दा बनाएर संविधानलाई हल्लाउने कोसिस भइरहेको छ । संविधानलाई चलाउने कोसिस भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको छ । त्यसलाई जोगाउनु छ, कार्यान्वयन गर्नु छ’, उनले भने ।

उपप्रधानमन्त्री खड्काले जनतामा छाएको निराशालाई आशा र विश्वासमा परिणत गर्ने र पार्टी पंक्तिमा भएको आशंकालाई चिर्न सक्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर