दुग्ध संस्थाहरुलाई किसानहरुको भुक्तानी गर्न कृषिमन्त्री भुसालले दिए निर्देशन – Nepal Press

दुग्ध संस्थाहरुलाई किसानहरुको भुक्तानी गर्न कृषिमन्त्री भुसालले दिए निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा सोमबार पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिनाभित्र किसानहरुलाई दूधको भुक्तानी गर्न सबै दुग्ध संस्थालाई निर्देशन दिएको बताएका हुन् ।

उनले दुग्ध संस्थाहरुको समस्या समाधान गर्न मन्त्रालयले उनीहरुको स्टक रहेको दूधलगायतका उत्पादन धितो राखी सहुलियतमा ऋण उपलब्ध गराउन पहल गरिदिने बताए ।

दुग्ध संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या समाधान भएर जाने मन्त्री भुसालको भनाइ थियो ।

‘कमसेकम पनि एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी भुक्तानी हुनुपर्छ भनेर निर्देशन गरेका छौं । यो सबैलाई हो, डीडीसीको मात्रै होइन । अरु प्राइभेट कम्पनीहरुको पनि दूधको भुक्तानी बाँकी रहेको कुरा हामीलाई आएको छ’ उनले भने, ‘त्यसकारण सबै दूधको कारोबार गर्ने संस्थाहरुले किसानको एक महिनाभन्दा बढी बाँकी राखिदिनु हुँदैन । एक महिनाको व्यापार गरिसकेपछि त्यसको भुक्तानी दिन सक्नुपर्छ ।’

मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्न आवश्यक काम अघि बढाइएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर