बुटवलमा कांग्रेस नेतृत्वको लागि संस्थापन पक्ष र शेखर समूह मैदानमा – Nepal Press

बुटवलमा कांग्रेस नेतृत्वको लागि संस्थापन पक्ष र शेखर समूह मैदानमा

रुपन्देही । १८ महिनादेखि रिक्त रहेको नेपाली कांग्रेस रुपन्देही २ सभापति र सहसचिवका लागि पार्टीभित्रका दुई समूहबीच सहमति नहुँदा निर्वाचन हुने भएको छ । सहमतिको कुरा भइरहेको बेला बुधबार शेखर कोइराला समूहले उम्मेदार सार्वजनिक गरेपछि अर्को समूह थप असन्तुष्ट बनेको छ ।

रुपन्देही कांग्रेसमा पार्टी संस्थापन समूह बलियो भएपनि बुटवलमा इतर समूह बलियो छ । त्यसमाथि संस्थापन समूहका नेता बालकृष्ण खाण जेल परेपछि अर्को समूह थप बलियो बनेको दावी गरेको छ ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापति र सहसचिव चयनमा सहमति नभएपछि संस्थापन पक्ष र इतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्ट हुँदै सभापति हरि लम्साल ०७९ बैशाख ९ गते साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएपछि सो पद खाली रहेको थियो भने सहसचिव राजबहादुर क्षेत्री रास्वपा प्रवेश गरेपछि खाली रहेको हो । असोज २७ गते हुने सभापति र सहसचिव निर्वाचनबाट छान्न ६७२ प्रतिनिधिले मतदान गर्नेछन् ।

बुधबार बुटवलमा शेखर कोइराला समूहले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितिमा फर्सुराम ढकाललाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । ढकाल केही समयअघिसम्म संस्थापन समूहमा थिए तर अहिले यता लागेका हुन् । सहमतिको प्रयास विफल भएपछि सभापति पदका लागि ढकाललाई अगाडि सारिएको कोइराला पक्षको भनाइ छ ।

सो अवसरमा ढकालले पार्टीलाई एकताबद्ध, गतिशिल र आउंदो निर्वाचनमा बढीभन्दा बढी सीट ल्याउने योजनासहित आफू सभापतिमा उठ्न लागेको बताए । पार्टीभित्र रहेका असन्तुष्ट हटाउने र पार्टीलाई साझा बनाउने आफ्नो प्रमुख भूमिका हुने उनको भनाइ छ ।

संस्थापन पक्षबाट भने प्रजापाल गिरी सभापतिको उम्मेदवार बन्ने तयारीमा छन्। संस्थापन पक्षले बिहीबार उम्मेदार घोषणा गर्ने तयारी गरेको छ । रुपन्देही कांग्रेसले नेता रोमणि पाठकको संयोजकत्वमा हरिबहादुर आचार्य र रामबहादुर कार्की सदस्य रहेको समिति बनाएर साझा उम्मेदार बनाउन खोजेपनि कुनै सहमति नभएपछि निर्वाचनमा गएर छान्नुपरेको हो । कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले भने उम्मेदारी सार्वजनिक भएपनि अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर