कालो अक्षर-रातो अक्षर : मुद्दामा बलियो, प्रस्तुतिमा फितलो – Nepal Press

कालो अक्षर-रातो अक्षर : मुद्दामा बलियो, प्रस्तुतिमा फितलो

काठमाडौं । शिक्षामा कति ठूलो विभेद छ, शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘कालो अक्षर-रातो अक्षर’ले बताउँछ । राज्यले शिक्षालाई निःशुल्क गरेको छ । तर, त्यही निःशुल्क शिक्षामाथि कसको रजाइँ छ, यो नाटकले भन्छ । माफियाहरुले निःशुल्क शिक्षालाई कसरी नाफैनाफाको व्यवसाय बनाएका छन्, यस नाटकले भन्छ ।

पहुँचविहीन हुनु, सीमान्तकृत हुनु, उत्पीडित हुनुको कारण त्यही असमान शैक्षिक अवस्था हो । छेवैमा सामुदायिक स्कुल छ । जहाँ आर्थिक हैसियत नभएका जनताका बालबच्चा पढ्छन् । सँगै छ अर्को निजी स्कुल, जहाँ मध्यम आर्थिक हैसियत भएकाहरु र अर्को महँगो स्कुलमा ठूलाठालूका बालबच्चा अध्ययन गर्छन् । नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने शिक्षामाथिको यस्तो असमान वितरण कसले गर्‍यो ? नाटक ‘कालो अक्षर, रातो अक्षर’ले भन्छ ।

गुणस्तरीय भनिने गरिएको शिक्षा माफियाहरुको पहुँचमा छ । तर, हामीले बालबच्चालाई दिइरहेको शिक्षा पनि वास्तवमा व्यवहारिक छ त ? ती शिक्षा जीवनोपयोगी छ त ? अनि शिक्षाको व्यापारीकरणमा क-कसको हात छ ? शिक्षाको व्यापारीकरण हुनुको खास कारण के हो ? नाटकले यी यावत प्रश्नहरुको जवाफ दिने कोसिस गरेको छ ।

सँगसँगै विद्यार्थी आन्दोलन, उक्त आन्दोलनमा हुने चलखेलबारे नाटकले बताउने कोसिस गरेको छ । आन्दोलनमा जोडिने आन्दोलनकारीको चरित्रलाई पनि नाटकले उदांगो पारेको छ । आन्दोलनमार्फत् परिवर्तनको सपना देखेको स्वप्नजीवी मान्छे कसरी लजेग घिसारेर एयरपोर्ट पुग्नुपर्छ ? साँच्चै परिवर्तनका खातिर आन्दोलनमा होमिएकाहरु अन्तिममा कसरी एक्लो हुनुपर्छ ? आन्दोलन हाँकेकै व्यक्तिहरुले आन्दोलनमा कसरी घुसपैठ गर्छन् ? नाटकले उधिन्ने प्रयत्न गरेको छ ।

असोज १७ गतेदेखि मञ्चन भइरहेको नाटकले यावत प्रश्नहरु उठाएको छ । अहिलेको तड्कारो मुद्दालाई मञ्चमार्फत् प्रस्ट पार्ने कोसिस गरेको छ । तर, मुख्यतया नाटकको खास रोमाञ्चकता नै प्रस्तुति हो । यहाँ भने नाटक चुकेको छ ।

एकै मुद्दामा माइतीघरमा आन्दोलन गर्नु र त्यही मुद्दामाथि थिएटरमा नाटक मञ्चन गर्नु फरक पाटा हुन् । जब माइतीघरमा नाराबाजीमा रुमल्लिएको मुद्दा थिएटरमा पुग्छ, त्यहाँ भने भरपूर कलाले मोहरिएकै हुनुपर्छ । यदि कलाले मोहरिएन भने नाटक मर्छ । नाटकले सास फेर्न छाड्छ । नाटकमा त हरेक पात्रहरु धुकधुक गरेर दर्शकको छातीभित्र धड्किन सक्नुपर्छ । आखेरी मुद्दा त्यही हो । तर, माइतीघरमा जति सीधा भाषामा त्यो मुद्दालाई उठाइन्छ, नाटकमा भने त्यसरी उठाइँदैन । भनिन्छ नि, कलाले कहिल्यै पनि सीधा भाषामा भन्दैन । घुमाएर भन्छ । कला, साहित्यको खासियत पनि त्यही हो ।

‘कालो अक्षर, रातो अक्षर’ मुद्दामा निकै गम्भीर छ । तर, उचित सेट डिजाइन नहुनाले नाटकलाई खल्लो बनाएको छ । सेट डिजाइनले मात्रै होइन, लाइट र कलरहरुमा अझै राम्रो काम गर्न सकिन्थ्यो । फोकस लाइटले घरी कलाकारलाई आधा देखाएको छ, घरी पिठ्युँ देखाएको छ । घरी कलाकार आफैं फोकस लाइटमा नबसेर संवाद डेलिभरी गरिरहेको हुन्छ । रमाइलो दृश्य छ । तर, त्यहाँ नीलो प्रकाश खेलाइएको छ । अक्सर नीलो रङलाई सर्जकहरुले दुःख या पीडालाई देखाउनुपर्दा खेलाउने गर्छन् । यी सानातिना कुरामा ख्याल गरिएको भए नाटकले उठाएको मुद्दा झनै बलियो हुन सक्थ्यो ।

अर्कातिर नाटकले मुद्दा त उठाएको छ । तर, मुद्दा उठाउँदा पात्र छनोटमा चुकेको छ । एक जना मंगोल अनुहार भएको पात्रले आन्दोलनमा केटाहरु जम्मा गर्ने नाइकेको काम गर्छ । उनीहरुको काम भनेको आन्दोलनमा तोडफोड गर्ने हो । अब प्रश्न उठ्छ कि आदिवासी, जनजाति युवाहरु लफडा र झगडा गर्नेमात्रै हुन् ? उनीहरुसँग अलिकति पनि राजनीतिक चेत हुँदैन र ? अनि वैचारिक हिसाबले आन्दोलन हाँकिरहेको पात्र चाहिँ आर्यन मूलको छ ।

नाटकले गम्भीर मुद्दाको उठान गर्दैगर्दा राजनीतिक हिसाबले भने यहाँ चुकेको छ । आन्दोलन हाँक्ने कोही मंगोल पनि त हुनसक्थे ! तर, गोलो, चिम्सो अनुहार भएको, हेर्दै अलि जंकी खालको मान्छे चाहिँ लफडा र झैंझगडा गर्नमात्रै हो ? यस्ता पाटोबाट पनि हेरिएको भए नाटक झनै गजब हुने थियो ।

सँगै त्यही लफडा गर्ने पात्र र अर्को सुदूरपश्चिमको कुनै कुनाका पात्र आन्दोलनमा भ्रष्ट भएर निस्कन्छन् । अब नाटकले सवाल उठाएको छ सीमान्तकृत, उत्पीडित र अवसरबाट बञ्चित भएकाहरुबारे । शिक्षाको व्यापारीकरणबारे सवाल उठाएको छ नाटकले । तर, आन्दोलन भाँड्ने काम चाहिँ राज्यले नै सीमान्तमा पारेको सुदूरपश्चिमको भूगोलबाट आएको पात्रले गर्छ । अनि अर्को चाहिँ मंगोल पात्रले । यसको सीधा अर्थ त ठूल्ठूला सैद्धान्तिक र वैचारिक गफ गर्ने कथित उच्च समुदायको मान्छे त भ्रष्ट हुनै सक्दैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । जब कि यो राज्यलाई सबैभन्दा बढी दोहन गर्ने उनीहरु नै हुन् । नाटक यस विषयमा पनि गम्भीर हुनुपर्थ्यो ।

आन्दोलन दबाउने पात्र प्रहरी पनि मंगोल नै छनोट गरिएको छ । जब कि प्रहरीको उच्च ओहदामा कथित उच्च जातका मान्छे नै धेरै छन् । यीलगायत विषयमा गम्भीर भएको भए नाटक अझै राम्रो हुनसक्थ्यो । यी सवालहरु यो नाटकमा किन पनि तेर्सिन्छन् भने नाटकले राजनीतिक मुद्दा उठाएको छ । जब राजनीतिक मुद्दा उठाइन्छ, त्यहाँ त यस्ता विषयहरुमा झनै धेरै संवेदनशील हुनैपर्छ ।

समग्रमा नाटकले पछिल्लो समयको विद्यार्थी आन्दोलन, आन्दोलनले उठाएको सवाल र आन्दोलनको राजनीतिक अर्थलाई राम्रोसँग स्पष्ट पारेको छ । आन्दोलन किन चाहिन्छ ? आन्दोलन केका लागि हुनुपर्छ ? आन्दोलन सफल पार्न कति धैर्य र लगन चाहिन्छ ? आन्दोलनलाई किनारा दिन कति त्याग र संघर्ष जरुरत पर्छ ? नाटकले प्रस्ट पारेको छ ।

लेखक आके रोमस, परिकल्पनाकार समिक बडाल र निर्देशक दिलीप खत्रीको मेहनतले विद्यार्थी आन्दोलन नाटक थिएटरसम्म पुगेको छ । आन्दोलन थिएटरको मञ्चसम्म पुग्नु आफैंमा अर्थपूर्ण कुरा हो । जसमा कलाकारहरु अनुप न्यौपाने, अजय लामा, दीपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगीता थापालगायतको अभिनय महत्वपूर्ण छ । यो नाटक यही २७ गतेसम्म मञ्चन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *