नागरिक उन्मुक्तिमा पार्टीको कार्यकारी अधिकार पनि रेशम चौधरीलाई, यी हुन् अन्य निर्णय – Nepal Press

नागरिक उन्मुक्तिमा पार्टीको कार्यकारी अधिकार पनि रेशम चौधरीलाई, यी हुन् अन्य निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको कार्यकारी अधिकार लिएका छन् । कैलालीका टीकापुरमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट संरक्षक चौधरीलाई आगामी महाधिवेशन सम्पन्न नहुँदा सम्म पार्टीको कार्यकारी अधिकार समेत दिने निर्णय गरिएको हो ।

नागरिक उन्मुक्ति पार्टीले आगामी पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा पहिलो महाधिवेशन गर्न लागेको छ । उक्त महाधिवेशनका लागि संरक्षक चौधरीलाई आयोजक समितिको संयोजक तोक्नुका साथै कार्यकारी अधिकार दिने निर्णय गरिएको हो ।

यस अघि सम्म पार्टीको कार्यकारी अधिकार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीमा रहेको थियो । उनी अहिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री छन् । रेशम पत्नि समेत रहेकी पार्टी अध्यक्ष रन्जितामा रहेको अधिकार केन्द्रीय कमिटी बैठकले रेशमलाई दिने निर्णय गरिएको हो ।

उक्त निर्णय गर्दा रन्जिता चौधरी बैठकमा थिइनन् । १२ गते देखी कैलालीको टिकापुरमा केन्द्रीय समिति बैठक बसिरहेको थियो । बैठक उद्घाटन गर्दै रन्जिता काठमाडौँ फर्किइन् भने उता कैलालीमा अध्यक्षमा हुँदै आइरहेको अधिकार संरक्षकलाई दिने निर्णय गरियो ।

पार्टी अध्यक्षकै अनुपस्थितिमा कार्यकारी अधिकार संरक्षकलाई दिने विषयले अहिले पार्टी भित्रै पनि विवाद सुरु भएको छ ।

केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको छ । बैठकको निर्णयअनुसार आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, भान्सा व्यवस्थापन समितिमा रामेश्वर चौधरी, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सांस्कृतिक तथा झाँकी समितिमा लक्ष्मण किशोर चौधरी, अतिथि सत्कार समितिमा धर्म बहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डाक्टर सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारु, निर्वाचन समितिमा दामोदर पण्डित, राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “नागरिक उन्मुक्तिमा पार्टीको कार्यकारी अधिकार पनि रेशम चौधरीलाई, यी हुन् अन्य निर्णय

  1. सोझा थारू ठग्ने अर्को फटाहा थारू हुन्छ । सोझा मधेशी ठग्ने त्यहिको अर्को फटाहा मधेशी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर