बुमराह आज पाकिस्तानविरुद्ध उत्रन तयार, विपक्षी तेज बलरलाई ओझेलमा पार्न सक्लान् ? – Nepal Press

बुमराह आज पाकिस्तानविरुद्ध उत्रन तयार, विपक्षी तेज बलरलाई ओझेलमा पार्न सक्लान् ?

कोलम्बो । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको आफ्नो पहिलो खेलमा आइतबार भारतले पाकिस्तानसँग सामना गर्दै छ । चिरप्रतिद्वन्द्वीविरुद्ध खेल्न केएल राहुल र जसप्रित बुमराह उपलब्ध भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

यसअघि बुमराह श्रीमतीको डेलिभरीका कारण समूहगत चरणको दोस्रो खेल अगाडी भारत फर्किएका थिए । राहुल भने फिटनेसका कारण सुरुवाती दुई खेलमा उपलब्ध थिएनन् ।

टोलीका सबैभन्दा प्रभावशाली तेज बलर बुमराहको पुनरागमनले टोलीको मनोबल उच्च बनेको देखिन्छ । समूहगत चरणमा भारतले पहिलो खेल पाकिस्तानविरुद्ध ब्याटिङ गरिसकेपछि वर्षा भएर अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाललाई १० विकेटले हराएको थियो ।

पाकिस्तानले सुपर फोरको आफ्नो पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । पाकिस्तानले समूहगत चरणको पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।

पाकिस्तानका लागि तीन तेज बलर शाहिन शाह अफ्रिदी, ह्यारिस रौफ र नसिम शाहले शानदार प्रदर्शन गरिरहेका छन् । तीन खेलमा रौफले ९ तथा अफ्रिदी र शाहले ७-७ विकेट लिएका छन् । रौफ र अफ्रिदिको घातक बलिङपछि समूहगत चरणमा भारतले पाकिस्तानविरुद्ध ६६ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

बुमराहको पनि जारी प्रतियोगितामा टेस्ट हुन बाँकी छ। सम्भावित वर्षाका कारण यो खेलका लागि रिजर्भ डे राखिएको छ ।

आइतबार वर्षाका कारण खेल रोकिएको अवस्थामा सोमबार सुचारु हुने छ । वर्षाले लगातार प्रभावित भएपछि प्रतियोगिताका खेलहरूलाई पालेकेलेबाट कोलम्बोमा सारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *