लुम्बिनीबाट एमालेको ‘आँखोदेखी’- ओलीको उत्तराधिकारी खोजेको कि आन्तरिक लोकतन्त्र रोजेको ? – Nepal Press

लुम्बिनीबाट एमालेको ‘आँखोदेखी’- ओलीको उत्तराधिकारी खोजेको कि आन्तरिक लोकतन्त्र रोजेको ?

रूपन्देही । नेकपा एमालेमा केपी ओलीको उत्तराधिकारी को हो ? ओली आफैंले नभनेसम्म वा नेतृत्वबाट ओलीले बिदा नलिएसम्म सम्भवतः यो प्रश्न अनुत्तरित नै रहनेछ । तर, पनि लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा भएको लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीमा नयाँ जीवन र तरंग भने सिर्जना गरेको छ ।

एमाले वृत्तमा भावी नेतृत्वको रूपमा हेरिएकामध्ये उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले आफ्नै प्रदेशको नेतृत्वका लागि दुई समूहमा उम्मेदार उठाएको विषय अहिले चर्चामा छ ।

यो विषयमा समाचार सार्वजनिक भएपछि पार्टी अध्यक्षकै अगाडि दुवैजनाले त्यसो नभएको दावी गरेपनि उनीहरूका नाममा समूह बनाएका नेताहरूलाई रोक्न निर्देशन दिन सकेनन् ।

अधिवेशन उद्घाटनका दिन पार्टीको नेतृत्व केपी ओलीबाहेक अरुको विकल्प नरहेको भनेका विष्णु पौडेलले गुट निर्माण गरेको विषयमा कसैको नाम नलिई चर्को आलोचना गरे । उनले त्यो विषय जोडेर बनाएको टिकटक आफैँले शेयर गरेका छन् ।

राजनीति बुझेका जोसुकैले त्यो भनाइ प्रष्टसँग बुझेका छन्, पौडेलले नचाहे पनि मैदानमा उनको नाम लिएर उम्मेदवार बन्ने क्रम अब शुरू भएको छ । केही समयअघि पौडेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा सकृय हुन अगाडि सारेको भन्दै विवादमा ल्याउन खोजिएपछि उनले स्पष्टरूपमा केपी ओलीको विकल्प नभएको प्रष्ट पारेका थिए ।

लुम्बिनी प्रदेशमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन होस् भन्ने ओलीको चाहना थियो । उनले त्यहि भएरै बुटवलबाट फर्किदा पौडेललाई आफूसँगै काठमाडौं लगे भने पोखरेल बेइजिङतिर लागे ।

पौडेल र पोखरेल मैदानमा नभए पनि उनीहरूलाई छाता बनाएर यहाँ प्यानलबन्दी भयो । लगभग बराबरी मत आयो र झिनो मतान्तरले पौडेल पक्षधर भनिएका राधाकृष्ण कँडेलको टिमले जित्यो ।

तर यही विषयसहित मतान्तर देखिएका उपाध्यक्ष पौडेल र महासचिव पोखरेललाई यहाँको निर्वाचनले थप टाढा बनाउँछ वा नजिक अहिले भन्न सकिने अवस्था छैन ।

लुम्बिनीबाट एमालेका करिब आधा पदाधिकारी छन् । उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी (निलम्वित) लुम्बिनीबाटै छन् ।

यसपटक लुम्बिनीमा देखिएको प्यानलबन्दी जसरी पौडे र पोखरेलको नाममा भयो के अन्य प्रदेशमा पनि उनीहरूकै नाममा होला त ? यो प्रश्न पनि अनुत्तरित छ तर उम्मेदवार बन्नेले एउटा नेताको नाम लिनेबित्तकै अर्कोले दोस्रोको नाम लिने भएकाले नचाहेरै पनि एमालेमा त्यो सम्भावना भने देखिन्छ ।

तर यति हो कि, एमालेमा ओलीको विकल्प पौडेल र पोखरेल दुवैले नखोजेका कारण यदि उनीहरूकै नाममा तल प्यानल बने भने पनि ओली नेतृत्वमा भइञ्जेल त्यसले निर्णायक अर्थ राख्दैन ।

यद्यपि एमालेमा ७० वर्षे उमेरहद कायमै रहदा ओलीसहित ईश्वर पोखरेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादलसहितका नेताहरू अवकाश हुने भएकाले स्वाभाविकरूपमा पौडेल र पोखरेलको नाममा तलसम्म कार्यकर्ताको प्यानलबन्दी नहोला भन्न सकिन्न । यद्यपि एमालेमा पौडेल र पोखरेलसँगै केपी ओलीपछिको नेतृत्वका दाबेदार सुरेन्द्र पाण्डे पनि हुन् ।

लुम्बिनीबाट एमालेको सन्देश

नेकपा एमाले लुम्बिनीको नयाँ नेतृत्व पार्टी अध्यक्ष ओलीको चाहानाविपरीत निर्वाचनमार्फत चयन भएको छ । यसले एमालेमा लामो समयदेखि अघोषितरूपमा रोकिएको आन्तरिक प्रतिस्पर्धा खुला गरेको छ ।

निर्वाचनका केही विधिहरू उपयुक्त थिएनन् तर पार्टीलाई लोकतान्त्रिक विधिबाट अगाडि बढाउन सबैभन्दा उत्तम विकल्प निर्वाचन नै हो जुन लुम्बिनीबाट सुरू भएको छ । तर, यस्तो निर्वाचनमा अमूक समूहका नाममा प्यानलगत टीम बनाएर गरिएको यो निर्वाचनले आउने जिल्ला, पालिका र वडासम्मका अधिवेशनलाई धक्का पुग्नेछ ।

यो एमालेको पहिलो प्रदेश अधिवेशन भएकाले अन्य प्रदेशमा पनि अब चुनावी प्रतिस्पर्धाका लागि बाटो खुलेको छ । यो निर्वाचनले एमालेमा ओलीविरुद्ध बोल्न वा उनको इच्छाविपरीतको गतिविधि गर्न असम्भव रहेको प्रचार पनि लुम्बिनीले गलत सवित गरेको छ ।

१० औं महाधिवेशनमा ओलीको निर्णयविपरीत लागेका नेताहरू भीम रावल र घनश्याम भुसालले चुनावमा टिकट नपाएको उदाहरण धेरैले दिँदै आएका थिए । फरक मतलाई पेल्ने अध्यक्ष ओलीको नीतिका कारण एमालेमा एकल निर्णय हाबी भएको आरोप लागिरहेका बला अब संस्थागत निर्णय र प्रक्रियामा जानुपर्ने सन्देश लुम्बिनीको अधिवेशनमार्फत पाएका छन् ।

के भन्छन् चुनाव गराउने कमाण्डर ?

लुम्बिनीको अधिवेशनमा चुनावबाट होइन सर्वसम्मत गराउन प्रदेश इन्चार्ज पद्मा अर्याल, युवा नेता सूर्य थापालगायतले धेरै प्रयत्न गरे । अर्यालले काम गर्ने जिम्मेवारी लिन एकभन्दा बढी नेता आकांक्षी भएकाले निर्वाचनमा जानुपरेको बताइन् । सर्वसम्मति गर्न खोजे पनि निर्वाचनमा जानुलाई अन्यथा लिन नहुने उनको भनाइ छ ।

अर्यालले भनिन्, ‘नेतृत्व चयन गर्न अथक र अनवरत कोसिस गरेपनि सम्भव भएन । र, लुम्बिनी प्रदेशमा बडो सौहाद्र वातावरणमा मतदानबाट नतिजा आयो, यसले सबैलाई सकारात्मक सन्देश दिएको छ, हामीले सहमति र निर्वाचनका दुवै विधि अपनायौं । पार्टी बनाउन कुर्बानी गरेका, क्षमता भएका र क्रियाशील नेताको ठूलो पंक्ति छ । काम गर्न खोज्नेले जिम्मेवारीमा इच्छा गरेपछि हामीले मात्रै सहमति गरेर भएन । सबैलाई अवसर दिनुपर्‍यो । त्यसैले हामीले १२ जिल्लामा ८ वटामा सर्वसम्मत गर्‍यौं । ४ जिल्लामा चुनावको परिस्थिति बन्यो । प्रदेशमा पनि सचिव सहमतिमा टुंग्याएका छौं । अध्यक्षमा मात्र के भयो भनेर हेर्नुहुँदैन । धेरै संख्या सर्वसम्मत र थोरैमा चुनाव भएको छ ।

धेरैले लुम्बिनीमा दुई समूह बनेको बताएको तर समूह बाहिरबाट पनि उपाध्यक्ष, उपसचिव, अन्य सदस्यहरूमा उम्मेदारी परेको विषय नल्याएको उनले बताइन् । सबैलाई चित्त बुझाउन नसकेपछि चुनाव नै लोकतान्त्रिक विधि भएको उनले बताइन् ।

लुम्बिनीमा भएको यस्तो चुनावबाट अरू प्रदेश र दलले पनि सिक्न सक्ने उनको भनाइ छ ।

‘यहाँबाट सिक्ने कुरा धेरै छन् । पहिलोपटक अधिवेशनबाट प्रदेश कमिटी चुस्त बनाउने पार्टी एमाले हो,’ उनले भनिन्, ‘अरू ६ प्रदेशले पनि लुम्बिनीबाट सिक्नुपर्छ र अन्य पार्टीले पनि हामीबाट सिक्न सक्छन् ।’ उनले लुम्बिनीमा यो निर्वाचनमा बनेको समूह आजैका मितिबाट सकिएको दावी पनि गरिन् ।

एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले सहमतिको अथक प्रयास असफल भएर निर्वाचनको विधि अपनाइएको र अब निर्वाचनमा गएका सबैजना पार्टीको मिसनमा आ-आफ्नो जिम्मेवारीमा फर्केको बताए । थापा लुम्बिनी प्रदेश कमिटीको निर्वाचनका लागि एक सातादेखि केन्द्रबाट खटिएका थिए ।

प्यूठानमा गठबन्धनलाई पराजित गरेर चुनाव जितेपछि थप लोकप्रिय बनेका पोलिटब्युरो सदस्य थापा अध्यक्ष मण्डलको सचिव बनेर काम गरेका थिए । थापाले अध्यक्षले सर्वसम्मत नेतृत्व चयन गर भनेर भन्नु स्वाभाविक रहेको भन्दै निर्वाचन प्रक्रिया पनि लोकतान्त्रिक पद्धति नै भएकाले अन्यथा लिन नहुने बताए ।

बुटवलको संयोग

बुटवलबाट नै एमालेले पहिलो पटक चुनावमार्फत् नेतृत्व चुनेको इतिहास छ र त्यो चुनावमा अहिलेका अध्यक्ष केपी ओली झलनाथ खनालसँग पराजित भएका थिए । अहिले त्यही बुटवलमा चुनावमा नजाऊ भन्ने उनको निर्देशन नेता-कार्यकर्ताले मानेनन् ।

बुटवलमा २०६५ फागुन ५ देखि १४ गतेसम्म चलेको एमालेको आठौं महाधिवेशनले निर्वाचनमार्फत् नेतृत्व छानेर पार्टीलाई बहुपदीय ढाँचामा लगिएको थियो । पहिलोपटक एकल नेतृत्व प्रणालीबाट बहुपदीयमा लगिएको थियो । जुन एजेण्डा पनि केपी ओलीकै थियो । त्यो भन्दा अगाडि महाधिवेशनको हलले केन्द्रीय सदस्य चुन्ने र पहिलो केन्द्रीय कमिटीको बैठकले महासचिव चुन्ने परम्परा थियो । त्यसो गर्दा नेतृत्वले नरूचाएको व्यक्ति केन्द्रीय कमिटीमा आउनै कठिन थियो ।

त्यो समयमा महासचिव पार्टीको प्रमुख हुने सिस्टम थियो । ओलीले त्यसकोविरुद्ध सातौं महाधिवेशनमा लगेको प्रस्ताव माधव नेपालले अस्वीकृत गरेका थिए । तर, बुटवल महाधिवेशनले त्यो परम्परा भत्काउँदै प्रतिनिधिले प्रत्यक्ष भोटबाट केपी ओलीलाई हराउँदै अध्यक्षमा झलनाथ खनाललाई जिताएका थिए । केन्द्रीय कमिटीदेखि पार्टीका केन्द्रीय निकायसम्म त्यसैगरी चुनाव भएको थियो । यसबीचमा केही समय रोकिएको एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा बुटवलबाटै पुनः सुरू भएको छ ।

पद्मा अर्यालको नेतृत्व क्षमता

पार्टी अध्यक्षको चाहना र निर्देशनविपरीत भएको चुनावबाट राधाकृष्ण कँडेलले एक पदाधिकारीबाहेक बहुमत सदस्यहरू जिताएपछि उनको उम्मेदारी प्रतिनिधिले पुष्टि गरेका छन् । एमाले लुम्बिनीको यो चुनावले रोचक र नयाँ समीकरण बाहिर ल्याएको छ । प्यानलबन्दी रोक्न खोज्दाखोज्दै सचिवबाहेकका पदमा चुनाव भयो ।

पार्टी नेतृत्वले महासचिव शंकर पोखरेलनिकटका रिजाललाई सर्वसम्मत अध्यक्ष बनाउन अधिकतम पहल गरेको हल्ला निर्वाचनको अघिल्लो दिन सो समूहको प्रचारमा लागेका केन्दीय सदस्यहरूले नै प्रतिनिधिलाई सुनाएका थिए ।

उनीहरूले पार्टीको आधिकारिक लाइन रिजाल भएको र अध्यक्ष ओली, महासचिव पोखरेल, उपमहासचिव ज्ञवालीको निर्णय भएको प्रतिनिधिलाई सुनाएका थिए । यद्यपी पार्टीले कसैको नाममा जबर्जस्ती सर्वसम्मत गर्न निर्देशन दिएन ।

केही नेताले रिजालको पक्षमा निर्णय सुनाउन प्रदेश इन्चार्ज पद्मा अर्याललाई धेरै पटक आग्रहसमेत गरेका थिए । तर, कसैको पक्षमा नखुलेर लगातार आफ्नो अडानमा रहेकी अर्यालले केही पदमा सर्वसम्मत र केही पदमा निर्वाचन गराएर पार्टी प्रतिनिधिको मन जित्ने प्रयास गरिन् ।

यहाँको सन्देश बोकेर उनी बुधबार काठमाडौं गएकी छन् । के सन्देश पाउनेछन् पछि समयक्रममा पक्कै खुल्नेछ । तर, लुम्बिनीले एमालेमा केही समयदेखि मुल्तबीमा रहेको आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विधि पुनः खुलेको छ ।

ओलीका हरेक कदमलाई दरिलो समर्थन गर्ने सूर्य थापाले उद्घाटनअघि र पछि सहमतिमै नेतृत्व चयन हुने र पत्रकारले बनाएका समूह पानीको फोकाजस्तै हुने भनेका थिए । उनको गृहजिल्लाका उम्मेदवार रिजालको पक्षमा पनि उनी बाहिर खुलेर प्रचारमा आएनन् तर भित्री तयारी भने गरिरहे । जिल्लाले नेतृत्व पाउने विषय नै महत्वपूर्ण भएको सुनाउँदै आएका थिए ।

महासचिव भ्रमणमा गएपछि अध्यक्ष ओलीले बुटवलमै रहेका कावा महासचिव प्रदीप ज्ञवालीलाई पार्टीको जिम्मेवारी नदिएर सचिव पद्मालाई दिए । प्रदेश इन्चार्ज भएका कारण पद्माले सो जिम्मेवारी पाएकी हुन् ।

ओलीले बन्द सत्रमै भनेका थिए, ‘हुन त उपमहासचिव अब कार्यवाहक महासचिव प्रदीपजी यही हुनुहुन्छ, तर प्रदेश इन्चार्जको हिसाबले यो अधिवेशनका विषयमा मेरो र पार्टीको सबै निर्णय गर्ने अधिकार पद्माजीलाई दिएको छु, जे गर्नुपर्छ, जे सुनाउनुहुन्छ, उहाँले नै आधिकारिकरूपमा गर्नुहुन्छ, केही कुरा दिएको छु जुन उहाँलाई नै थाहा छैन ।’

केन्द्रीय नेता को कता ?

प्रदेश अधिवेशनमा शीर्ष नेताहरूले प्रकटरूपमा प्यानल बनाएनन् । कसैको पक्ष वा विपक्षमा पनि देखिएनन् । किनभने एमालेमा अहिले केपी ओलीको विकल्पमा कोही खडा भएका छैनन्, त्यसैले तल बन्ने गुटहरू पनि ओलीविरोधमा छैनन् ।

यद्यपी विष्णु पौडेल र शंकर पोखरेलको नाममा बनाएको दुईवटा समूहमा नेताहरू विभाजित बने । अहिले बनेको यो समूह स्थायी रहन्छ वा भत्किन्छ भन्नेमा धेरै कार्यकर्तालाई चासो र चिन्ता छ ।

राधाकृष्ण कंडेलको पक्षमा उपाध्यक्ष विष्णु पौडेलसहित शीर्ष नेताहरूले समर्थन गरेपनि मैदानमा देखिएनन् । उनलाई उपाध्यक्ष युवराज ज्ञवाली, सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी (निलम्बित), स्थायी कमिटी सदस्य दलबहादुर रानाको मौन समर्थन रहेको चर्चा चल्यो ।

पोलिटब्युरो सदस्यहरू ठाकुर गैरे, लीला गिरी, खिमलाल भट्टराई, वैजनाथ चौधरी, नेत्र पन्थी, खेममान खड्का, दधिराम न्यौपाने, केन्द्रीय सदस्यहरू दिनेश पन्थी, गणेश खनाल, दीपा शर्मा, एकराज विश्वकर्मा, गणेश खनाललगायतको समर्थन रहेको तर मैदानमा नखटिएको उनीनिकट नेताहरूको दावी छ । तर, सचिवहरू विश्वकर्मा, विष्ट र अन्य केही नेताहरू भने खुलेरै कँडेलको पक्षमा लागेका थिए ।

महासचिव शंकर पोखरेलको बलियो साथ रहेको भनिएका हरि रिजालको पक्षमा पदाधिकारीबाट उपमहासचिव प्रदीप ज्ञवालीले समर्थन जुटाएको भनिएपनि उनले समेत खुलेर मैदानमा कसैको पक्ष वा विपक्ष लिएनन् ।

पोलिटब्यूरो सदस्यहरू नरुलाल चौधरी, शान्ता चौधरी, विमला घिमिरे, केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, नारायण आचार्य, शिव सुवेदी, कुमार दशौदी, थानप्रसाद गैरे, सूर्य ढकाल, लक्ष्मण ज्ञवाली पूरै मैदानमा खटेको देखिन्थे ।

पार्टी अध्यक्षको निर्देशन किन टेरेनन् कंडेल र रिजालले ?

भदौ १६ गते अधिवेशनको उद्घाटन सत्र र १७ गतेको बन्दलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भएकाले जसरी पनि सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

‘यस्तो बेलामा निर्वाचनमा जाँदा राम्रो सन्देश जाँदैन, यो पार्टीको कठिन समय हो, आकांक्षी दुवै नेताहरू पार्टीको खम्बा हो, त्यसैले सहमति खोज्नुस् तर हुँदै नभए तपाईँहरूलाई उम्मेदार बन्ने छुट छ’ ओलीले प्रतिनिधिलाई भनेका थिए ।

तर, प्रदेश अध्यक्षका आकांक्षीद्वय कँडेल र रिजाल ‘टसमस’ नभएपछि अन्ततः अधिवेशनको समय नै लम्ब्याएर मतदानमा जान निर्वाचन कमिटी बाध्य भयो । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेलनिकट रहेर प्यानलगतरूपमा निर्वाचनका जाने सूचना पाएका ओलीले त्यो भत्काउन यसरी निर्देशन दिएको एमालेका नेताहरूको अनुमान छ ।

अध्यक्ष ओलीको चाहना नेताका नाममा गुट नबनुन् भन्ने देखिन्थ्यो । लुम्बिनीमा यसरी समूह बने अन्य प्रदेशको अधिवेनमा प्रभाव पर्ने भएकाले सकभर सर्वसम्मत नेतृत्व छनोटमा ओलीको जोड थियो ।

कँडेल र रिजाल उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसँग जोडिएपछि पौडेल र पोखरेलले समेत अधिवेशनको उद्घाटन शत्रमा आफूहरूले कुनै गुट नचलाएको भनेर स्पष्टीकरण नै दिनु परेको थियो ।

‘नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन । तपाईँहरू एकताबद्ध भएर जानुपर्छ’, अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्न सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई भएको भन्दै सबै नेता कार्यकर्ता र सिंगो पार्टी एकताबद्ध भएर अघि बढ्न सार्वजनिक रूपमै आह्वान गरेका थिए ।

‘फैसला दिनु पर्‍यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस्’, प्रदेश इन्चार्ज अर्याललाई समेत ओलीको निर्देशन थियो । यद्यपि ओलीले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताएका थिए ।

ओली एमालेमा लोकतान्त्रिकरणका पहिलो प्रस्तावकसमेत रहेकाले उनले चुनावलाई निषेध भने गरेनन् । यदि अध्यक्षले चाहेको भए निर्वाचन मण्डलले नाम टाँसेर भने पनि अधिवेशन टुंग्याइदिन सक्थ्यो

त्यसबखत अध्यक्ष ओलीले पार्टीभित्र आम रूपमा आत्मकेन्द्रlत हुने प्रवृत्ति बढेकोमा असन्तुष्टि समेत जनाएका थिए । तर अध्यक्ष ओलीको निर्देशन लुम्बिनीको हकमा लागु हुन सकेन ।

एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले भने लुम्बिनीको नेतृत्व छनोटमा अपनाएको प्रक्रियालाई लोकतान्त्रिक अभ्यास भनेका छन् ।

‘हामीले लोकतान्त्रिक अभ्यास गरेका छौ । यसलाई सिंगो पार्टीपंक्तिले असाध्यै सहजरूपमा लिन्छ र एकताबद्ध भएर सुदृढ पार्टी निर्माणमा क्रियाशील हुनेछ’, भट्टराईको भनाइ छ ।

लुम्बिनीपछि असोज ८ र ९ बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेशमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ । त्यस्तै असोज १२ र १३ मा कोशी, १५ र १६ गण्डकीको, १९ र २० मा उपत्यका विशेष प्रदेश असोज २१ र २२ मा सुदूरपश्चिम प्रदेश र २४ र २५ गते मधेश प्रदेशको अधिवेशन गर्ने एमालेको तयारी छ ।

रिजालको सन्देश र उनलाई अगाडि सारेका नेताहरूको मौनता

बुधबार प्रदेशको नयाँ निर्वाचित पार्टी कमिटीको शपथ ग्रहणमा प्रमुख प्रतिस्पर्धी हरि रिजालले उत्तम राजनीतिक व्यवहार देखाएका छन् । आफू पार्टीलाई बलियो बनाउन प्रतिस्पर्धामा गएको तर प्रतिनिधिको मन जित्न नसकेकाले पुनः आफूले पाएको जिम्मेवारी अनुसार खटिने बताए ।

उनले सबै मिलेर नै पार्टी बनाउने प्रतिबद्धता गरेर सहभागी सबै नेता तथा कार्यकर्ताको वाहीवाही पाए । तर, उनलाई जसरी पनि मैदानमा टिकाउने मुख्य नेताहरू भने सो कार्यक्रममा देखिएनन् ।

केन्द्रीय सदस्यहरू भूमिश्वर ढकाल, चेतनारायण आचार्य, नारायण आचार्यलगायतका नेताहरू कार्यक्रम हल नजिकै भएपनि पुगेनन् । सहभागी अन्य नेताहरूले हरि रिजाललाई मैदानमा पठाउनेहरू देखिनुभएन त भनेर हाँसो गरिरहेका थिए ।

रिजालले पार्टी नेतृत्वको सिग्नल लिएरै मैदानमा गए पनि सफलता पाएनन् बरु भइरहेको केन्द्रीय सदस्य पदसमेत गुमेको छ । महासचिव पोखरेलनिकट भएकाले उनले चाँडै पुनः मनोनयन वा महत्वपूर्ण जिम्मेवारी पाउन सक्ने बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर