बालेन र हर्कको बुई चढेर फाँसीजम त आउँदै छैन ? – Nepal Press

बालेन र हर्कको बुई चढेर फाँसीजम त आउँदै छैन ?

मैले यसअघि ‘पपुलिजमको आडमा फासिजमको प्रयोग ?’ भन्ने लेख लेखेको थिएँ, जसको आशय नेपालमा पपुलिजम भित्रिसकेको र यो कुन रुपसम्म जानसक्छ, यो प्रयोग गर्ने पात्रहरुको सोचमा भरपर्ने भन्ने थियो । पपुलिजमको आडमा नीति र सिद्धान्तविहीन नेतृत्वको आगमनले राजनीतिक धरातल नयाँ स्वरुपमा बदलिँदै गरेको आभाष हुँदैछ । ह्याबरमासले भनेका थिए- आमराय निर्माण गर्न प्रिन्ट मिडियाको धेरै ठूलो योगदान छ । उनको भनाइअनुसार लोकतन्त्रको सुन्दरता भनेको जनताको सहभागिता हो र यसैका माध्यमबाट सार्वजनिक राय निर्माण हुन्छ । मास मिडियाको उदयसँगै ह्याबरमासको पब्लिक स्फेयरको सिद्धान्त कमजोर पर्न गएको भनेर टिप्पणीहरु हुन थाले । त्यसको कारण थियो- अबको राय निर्माण मास मिडियाले गर्न थालेका छन् र ती मास मिडियाहरु भने निश्चित व्यापारिक घरानाहरुको कब्जामा थियो ।

तर, सोसियल मिडियाको उदयसँगै भने मास मिडियाको वर्चश्व तोडिएको छ । अहिले फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालहरु राय निर्माणमा प्रयोग भएको पाइन्छ । प्रिन्ट मिडियाका बेला लेख्ने व्यक्तिहरु सीमित हुन्थे र प्रिन्ट गर्न पनि त्यति सहज हुँदैन थियो । तर, आज सामाजिक सञ्जालको युगमा भने आफ्ना राय राख्न सहज भएको छ । त्यसकारण यसको चुनौती पनि बढ्दो छ । अझ भनौं राजनीतिक वृत्तमा पपुलिस्ट लिडरहरुले शक्ति आर्जनका लागि यसको व्यापक प्रयोग गरेको पाइन्छ । नेपालकै सन्दर्भमा पनि गएको चुनावले सामाजिक सञ्जालको प्रयोग र यसको महत्व दर्शाएको छ । साथसाथै यसका चुनौती पनि थपिएका छन् । यसको गलत प्रयोगले सामाजिक सद्भाव भड्काउने र अराजक नेतृत्व चुनिनेमात्र नभएर घृणाको राजनीतिको उदय हुनेसम्म खतरा रहन्छ ।

केही दिनअघि धरानमा एउटा घटना घट्यो, जसका कारक धरानका स्वतन्त्र मेयर हर्क साम्पाङ थिए । समय मिले दिनमा १०० वटा फेसबुक स्टाटस लेख्ने इच्छा व्यक्त गरेका हर्क साम्पाङ सामाजिक सञ्जालले बनाइदिएका मेयर हुन् भन्दा फरक नपर्ला । उनले सामाजिक रुपमा उठेको मुद्दा मन्दिर अगाडि बनेको चर्चको विषयलाई छलफल र बहसका माध्यमबाट निकास खोज्नुका साटो सामाजिक सञ्जालमा एकोहोरो ढंगले एक धर्मका विरुद्ध लेखिरहे । त्यसले समाजलाई दुई ध्रुवमा उभिन बाध्य बनायो र एक धर्मलाई उक्साउने किसिमले केही व्यक्तिहरुले गोरुको मासु खाएर सामाजिक सञ्जाल नै रंगाए । मानौं, त्यसो गर्नु एउटा ठूलो सामुदायिक विजय थियो । नतिजा के भयो भने त्यसले अर्को धर्मका अतिवादीहरुलाई खेल्ने मौका दियो र धरानमा ठेग्न नसकिने जुलुस निस्कियो । धन्न नेपाली समाजको चरित्र द्वन्द्वलाई अस्वीकार गर्ने भएकाले कुनै अप्रिय घटना घटेन । एउटा पपुलिस्ट नेतृत्वले विचार नपुर्‍याउँदा र अराजक स्टाटस लेख्दाको असर कुन हदसम्म हुँदोरहेछ यसबाट पुष्टि हुन्छ ।

सोसियल मिडियाको उदयसँगै भने मास मिडियाको वर्चश्व तोडिएको छ । अहिले फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालहरु राय निर्माणमा प्रयोग भएको पाइन्छ । प्रिन्ट मिडियाका बेला लेख्ने व्यक्तिहरु सीमित हुन्थे र प्रिन्ट गर्न पनि त्यति सहज हुँदैन थियो । तर, आज सामाजिक सञ्जालको युगमा भने आफ्ना राय राख्न सहज भएको छ । त्यसकारण यसको चुनौती पनि बढ्दो छ ।

यस्तै काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारका रुपमा बालेन शाहले उल्लेखनीय मतसहित विजय हासिल गरे । यसका पछाडि विभिन्न कारण हुनसक्छ । तर, प्रमुख कारण भने स्थापित दलहरुप्रतिको निराशा नै थियो । सामाजिक सञ्जालको रणनीतिक प्रयोगले उनले त्यो जीत हासिल गर्न सफल भएका थिए । उनीसँग काम गरेर देखाउने राम्रो अवसर थियो र छ पनि । हिजो जसरी स्थापित दल र ती दलका नेताहरुलाई गाली गर्दै समर्थन बटुलेका थिए, त्यही तरिकाले काम गर्दा प्रयोग गर्नुको औचित्य छैन भन्ने न उनले बुझ्न सके न त उनका सहयोगीहरुले बुझाउन नै सके ।

कामका महत्वाकांक्षी योजनाहरुलाई यति समयमा गर्न सकिन्छ भनेर समय नै तोक्न उनी पछि परेनन् । तर, जब काम गर्नुपर्ने ठाउँमा पुगे न उनले ६ महिनामा बनाउने भनेको इन्सिनेटर प्लान्ट नै जडान भयो न त उनले स्थापना गरेको भनेको इन्फ्रास्टक्चर एम्बुलेन्सले नै काम गर्न सक्यो । यी सबै फगत लोकप्रियता बटुल्न प्रयोग भएको भान हुँदै जाँदा उनले पपुलिस्ट भइरहने नयाँ फण्डाहरु अपनाउन थाले । मंसिरमा भएको आम निर्वाचनमा प्रदेश तहमा मतदान नगरी भिडियो सार्वजनिक गर्नु पनि उनले जनतामा बढ्दै गरेको संघीयताविरोधी भावनाबाट फाइदा उठाउनु नै थियो । कानूनी रुपमा पनि उनले सार्वजनिक गरेको भिडियो उचित थिएन ।

मेयर बालेन त्यतिमै रोकिएनन् । काम गर्न सक्षम हुने सम्भावना नदेखेपछि उनले आफ्ना भोटर नहुने र राज्य सत्तामा पहुँच नभएका गरिब जनतामाथि प्रहार गर्न थाले । उचित व्यवस्थापन नगरिकनै उनीहरुमाथि प्रहार हुन थाल्यो । नगर प्रहरीबाट भएका निर्मम दृश्यहरु सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । तर उनीसँग यो सबैबाट बाहिर आउने अचुक औषधि थियो, राज्य सत्ता र संरचनामाथि प्रहार गर्ने ! कहिले विमानस्थल परिसरमा तारबार भत्काउने कुरा गर्ने त कहिले सिंहदरबारभित्र बस्नेहरुलाई बाग्मतीमा बगाइदिनुपर्छ भनेर भड्काउ कुरा गर्ने । विकास बजेटको २५ प्रतिशतमात्र खर्च गर्न सकेका उनलाई राहत उग्र राष्ट्रवादले दिलायो । भारतीय फिल्म आदिपुरुषलाई रोक लगाउने र ग्रेटर नेपालको नक्सा आफ्नो कार्यालयमा राखेर उनले राष्ट्रवादी नेताको परिचय दिन सफल भए । उनलाई लाग्यो अब विकासका काममा भन्दा यस्तै स्टन्ट गर्दा बढी फाइदा हुने रहेछ ।

नगर प्रहरीबाट भएका निर्मम दृश्यहरु सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । तर उनीसँग यो सबैबाट बाहिर आउने अचुक औषधि थियो, राज्य सत्ता र संरचनामाथि प्रहार गर्ने ! कहिले विमानस्थल परिसरमा तारबार भत्काउने कुरा गर्ने त कहिले सिंहदरबारभित्र बस्नेहरुलाई बाग्मतीमा बगाइदिनुपर्छ भनेर भड्काउ कुरा गर्ने ।

व्यवस्थाविरोधी सोचका बालेनले एकपछि अर्को व्यवस्था र सरकारलाई चुनौती दिने हर्कत गरिरहे । कहिले अदालतको निर्णय नमान्ने त कहिले संघीयता ! हालैको मात्र घटनालाई हेर्ने हो भने उनले प्रहरी प्रशासनको पनि विरोध गर्न भ्याए । प्रहरीले गरेको नियमित चेकजाँचमा उनकी श्रीमतीसहितको गाडी रोकेर सोधपुछ गरेकै भरमा उनले देशकै प्रशासनिक भवन सिंहदरबारमा आगो लाउने अराजक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए । उनी त्यतिमै रोकिएनन् । पत्रपत्रिकामा सही समाचारहरु सम्प्रेषण हुन थालेपछि आफ्ना परम मित्रको पेज रुटिन अफ नेपाल बन्दको प्रयोग गरेर गर्भवती श्रीमतीलाई अस्पताल लग्न लागेको भनेर भ्रम छर्ने प्रयास गरे । तर, सो प्रयास पनि सफल नभएपछि निजी सचिवालयका माध्यमबाट एउटा विज्ञप्ति निकाले, जसमा उनले सारा दोष ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि थोपर्ने प्रयास गरेका छन् ।

भनिन्छ नि, सर्वश्व नगुमाउँदासम्म प्रतिकूल अवस्थामा हामीले के जोगाएका रहेछौं, पत्तो पाउँदैनौं । लोकप्रियतावाद अर्थात् पपुलिजमले हाम्रै समर्थनमा यसरी अराजकता र अस्थिरता सृजना गरिदिन्छ कि हामी पत्तो नपाइकन फाँसीवादलाई मलजल गर्न पुग्छौं । राजनीतिमा व्यक्तिको समर्थन या विरोध गरिँदैन । राजनीतिमा समर्थन र विरोध त प्रवृत्तिको हुन्छ । लोकतन्त्रमा सहीको समर्थन र गलतको विरोध हुनु सामान्य विषय हो । तर, लोकतन्त्रभित्र मौलाइरहेको पपुलिजमले भने लोकतान्त्रिक प्रणालीलाई ध्वस्त बनाएर फाँसीवादको आधार तय गर्ने निश्चित प्रायः छ । तसर्थ कसैलाई देवत्वकरण पनि नगरौं र दानवीकरण पनि नगरौं । राजनीतिमा पपुलिजमलाई परास्त गर्दै पूर्ण लोकतन्त्रको अभ्यासलाई अगाडि बढाउनुको विकल्प छैन ।


प्रतिक्रिया

2 thoughts on “बालेन र हर्कको बुई चढेर फाँसीजम त आउँदै छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *