एसिया कपः नेपाल-पाकिस्तान म्याचमा मुल्तान रंगशाला भरिभराउ हुने, कति टिकट बिके ? – Nepal Press

एसिया कपः नेपाल-पाकिस्तान म्याचमा मुल्तान रंगशाला भरिभराउ हुने, कति टिकट बिके ?

करिब ३० हजार सिट क्षमताको रंगशालामा ७ हजार सिट मात्रै बुक हुन बाँकी

काठमाडौं । पाकिस्तानको मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच भोलि नेपाल र आयोजक राष्ट्रबीच हुँदैछ । यो म्याचलाई लिएर नेपालीहरु जति उत्साहित छन्, पाकिस्तानमा पनि कम रौनक छैन ।

सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकन टीममाथि आतंकवादी हमला भएपछि यस देशमा लामो समय अन्तर्राष्ट्रिय क्रिकेट नै भएन । अहिले पनि विदेशी टीमहरु पाकिस्तान भ्रमणमा आउन हिच्किचाउने गरेका छन् । सुरक्षाको कारण देखाएर विगतमा धेरै देशले पाकिस्तान भ्रमण रद्द गरेका थिए ।

प्रतिस्पर्धी देश भारतको अर्घेल्याईंले गर्दा पाकिस्तानले यसपालीको एसिया कप आयोजना गर्न पाउनेमा समेत संशय थियो । लामो खिचातानीपछि पाकिस्तान र श्रीलंकामा एसिया कपका खेलहरु हुने भएका हुन् । उद्घाटन खेल पाकिस्तानमा हुनेछ भने फाइनल श्रीलंकामा हुनेछ ।

एसिया कप खेल्न सबैभन्दा पहिले पाकिस्तान पुगेको टीम नेपाल हो । अभ्यास खेलसमेत खेल्न भनेर केही दिन अगावै गएको नेपाली टीमलाई पाकिस्तानी सरकारले भीभीआइपी सुरक्षा र सत्कार दिएको छ भने पाकिस्तानी जनताले निकै माया दिइरहेका छन् । सामाजिक सञ्जालमा नेपाली समर्थक र पाकिस्तानी समर्थकबीच हार्दिकता आदानप्रदान भइरहेको छ । हिजो पाकिस्तानी टीमका खेलाडी मोहम्मद रिजवानले होटलमा नेपालका खेलाडीहरुसँग अनौपचारिक भेटघाट समेत गरेका थिए ।

क्रिकेटमा पाकिस्तान नेपालभन्दा धेरै बलियो र अनुभवि राष्ट्र हो । एक दिवसीय क्रिकेटको विश्ववरियतामा पाकिस्तान भर्खरै एक नम्बरमा उक्लिएको छ । १५ औं नम्बरमा रहेको नेपालका लागि पहिलो वरियताको राष्ट्रसँग भिड्न पाउनु नै ठूलो कुरा हो । यद्यपि, खेल प्रतिस्पर्धात्मक होस भन्ने नेपाली र पाकिस्तानी दर्शकको चाहना छ ।

पाकिस्तानमा एसिया कपले क्रिकेटको रौनक ल्याएको छ । चिर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको म्याच पनि यहाँ हुने भएको भए झन् अर्कै सरगर्मी हुन्थ्यो । भारत–पाकिस्तान म्याच भने श्रीलंकामा राखिएको छ । भारत पाकिस्तान नआउने भएपछि तटस्थ भूमिका रुपमा श्रीलंका रोजिएको हो ।

भारतसँगको म्याच घरेलु भूमिमा नहुने भए पनि पाकिस्तानी दर्शकहरु आफ्नो देशका हरेक म्याचलाई रंगशालामै पुगेर अवलोकन गर्न आतुर छन् । नेपालसँगको पहिलो म्याचमा पनि दर्शकको बाक्लो उपस्थिति हुने देखिएको छ । ३० हजार सिट क्षमताको मुल्तान क्रिकेट रंगशालामा अनलाइन बुकिङ पहिल्यैदेखि खुलेको थियो । ताजा स्थितिमा २० हजारभन्दा बढी सिटहरु बुक भइसकेको देखिन्छ ।

मुल्तान रंगशालामा विभिन्न दर–रेटका सिटहरु छन् । सबैभन्दा महंगो भिआइपी सीट, जुन फजल महमुदको नाममा नामाकरण गरिएको छ, त्यसको १६.४९ डलर पर्छ । पाकिस्तानी क्रिकेट बोर्डको वेवसाइटमा जनाइएअनुसार भीआइपी सीटहरु २ हजार २ सय ७३ वटा खाली छन् भने बाँकी बुक भइसकेका छन् ।

अर्को भीआइपी सीट, जुन इमरान खानको नामबाट नामाकरण भएको छ, त्यसको मूल्य पनि समान १६.४९ डलर रहेको छ । यो सीट अब २ हजार ९१ वटा बुक हुन बाँकी छन् ।

सस्तो मूल्यका सिटहरु भने सोल्ड आउट भइसकेका छन् । २.३१ डलर पर्ने हानिफ मुहम्मद सिट सबै बुक भइसकेको छ भने सोही मूल्यको मुस्ताक अहमद सिट पनि खाली छैन । ३.३० डलर पर्ने इलाही ब्रदर्स सिट यो समाचार लेख्दासम्म एउटा मात्रै बचेको छ भने सोही मूल्यको वसिम अक्रम सिट प्याक भइसकेको छ ।

प्रिमियम मूल्य ८.२४ डलरको जाहिर अब्बास सिट १५ सय २८ वटा खाली छन् भने सोही मूल्यको जाभेद मियादाद सिट १३५९ वटा बुक हुन बाँकी छन् ।

कुल मिलाएर ३० हजार सिट क्षमताको रंगशालामा अब चानचुन ७ हजार २ सय सिट मात्र खाली छन् । भोलि खेल सुरु हुँदासम्म रंगशाला फुल प्याक हुन सक्ने अपेक्षा छ । स्थानीय समयअनुसार दिउँसो २ः३० बजे खेल सुरु हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *