ट्रायल पास गरेका र नवीकरणवाला ८ लाखले पाएनन् लाइसेन्स – Nepal Press

ट्रायल पास गरेका र नवीकरणवाला ८ लाखले पाएनन् लाइसेन्स

प्रिन्टर र कार्ड फरक कम्पनीको हुँदा समस्या भन्दै पन्छिन्छ विभाग

काठमाडौं । साना र ठूला सवारीको ट्रायल पास गरेका र लाइसेन्स नवीकरणका प्रतीक्षारत् सेवाग्राहीले आफूहरूले धेरै दु:ख पाएको गुनासो गरेका छन् । लाइसेन्स समयमा नपाउने समस्या लामो समयदेखि थियो । लाइसेन्स छपाइ र वितरण प्राविधिक काम भएकाले कार्यसम्पादन नै नदेखिएछि महानिर्देशक पनि चाँडचाँडै फेरिन्छन् ।

महानिर्देशक नहुने र यातायात व्यवस्था विभागका कर्मचारीले दबाब र पहुँचका भरमा सीमितलाई सहज ढंगले लाइसेन्स दिइरहेको सेवाग्राहीको भनाइ छ । यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भविन्द्र कार्की अहिले विदेश जानेलाई मात्रै लाइसेन्स दिइएको बताउँछन् ।

उनले भने, ‘२०२२ जुलाईसम्मको सबै लाइसेन्स वितरण भएको र अगष्टदेखिको सबै बाँकी रहेको छ । कार्ड नभएको कारणले नै विदेश जानेलाई मात्रै लाइसेन्स वितण भइरहेको हो । हामीसँग अहिले ४० हजार कार्डमात्रै छ । ८ लाखलाई लाइसेन्स दिन बाँकी छ । प्रिन्टर र कार्ड फरक कम्पनीको भएकाले टेन्डर गरेर सम्झौता भएको कार्ड अहिले प्रिन्टरमा परीक्षण भइरहेको छ । १२ लाख नयाँ कार्डको लागि सम्झौता भएको हो । अब परीक्षण सफल हुनसाथ १२ लाख कार्ड ल्याएर बाँकी रहेका ८ लाख सेवाग्राहीलाई वितरण गर्छौं । अहिलेसम्म भएको परीक्षण सफल नै भइरहेको छ ।’

भिसा लागेका र विदेश ड्राइभिङमा जानेहरूले ३ दिनभित्र लाइसेन्स पाइरहेका छन् । एक सेवाग्राहीले विभागमा पैसाविना केही काम नहुने बताए ।

उनले भने, ‘केही दिनअघि मात्रै महिले चिनेको एकजना साथीले भक्तपुरको यातायात कार्यालयबाट पैसा खुवाएर लिखित र ट्रायल पास गरे । पास गरेको केही दिनपछि नै उनले प्रिन्ट गरेको नयाँ लाइसेन्स लिएर घर गए । भक्तपुरमा ट्रायल सेन्टर चलाइरहेका व्यक्तिले नयाँ लाइसेन्स दिन पैसा लिएर सबै जिम्मा लिएका थिए । सेन्टरका सञ्चालकले भनेअनुसार नै उनले नयाँ लाइसेन्स पाए । अहिले विभागले कार्ड छैन भन्दै पैसा दिनेलाई लाइसेन्स दिइरहेको छ । त्यसका लागि प्रमाण नै अवश्यक परेमा म दिन तयार छु ।’

केही सेवा ग्राहीले विभागमा आइटी इन्जिनियहरु पैसाविना काम नै नगर्ने सुनाउँछन् ।

तीन महिनामा फेरिन्छन् महानिर्देशक

अहिले यातायात व्यवस्थ विभाग महानिर्देशकविहीन छ । विभागको महानिर्देशक बनेर आएका नारायणप्रसाद भट्टराई तीन महिना वित्नेवित्तिकै गृह सरुवा भए । उनको ठाउँमा कसैलाई पठाइएको छैन । भट्टराईभन्दा अघिका महानिर्देशक तुलसीनाथ गौतम २० दिनमा स्वास्थ्यमा सरुवा भए । उनीअघिका महानिर्देशक डा. टोकराज पाण्डे पनि ५ महिनाको अवधिमा नै सरुवा भएका थिए ।

त्यस्तै, पाण्डेअघिका महानिर्देशक सुरेश राउत दुई महिनामै सरुवा भएका थिए । त्यसअघिका महानिर्देशक नमराज घिमिरे र गोगनबहादुर हमाल भने १५-१५ महिना टिकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर