राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक ११ बजे बस्दै, ओली पनि जाने तयारी – Nepal Press

राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक ११ बजे बस्दै, ओली पनि जाने तयारी

काठमाडौं । सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउने बारे छलफलका लागि आज पनि राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बोलाइएको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिका कारण स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठक ११ बजेलाई बोलाइएको छ । आजै सहमति गरेर संसद् सुचारु गर्ने प्रधानमन्त्रीको तयारी छ । एमाले अध्यक्ष ओली उपस्थित भएमा उच्चस्तरीय समितिबारे सहमति हुनसक्ने नेताहरूले बताएका छन् ।

यसअघि बसेको बैठकले उच्चस्तरीय समितिको टीओआर बनाउन एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो । उक्त कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस गरेको बताइएको छ ।

कार्यदलको सिफारिसअनुसार आज सर्वदलीय बैठकले निर्णय लिने छ । एमाले अध्यक्ष ओली पनि बैठकमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि बैठकमा सहभागी हुने भएको छ । हिजो पार्टीका अध्यक्ष रवि लामिछानेले सर्वदलीय बैठकमा आफूहरू साक्षी बसेर बदनाम मात्रै भइरहेको गुनासो गरेका थिए । यद्यपि, आजको बैठकमा आफूहरू उपस्थित हुने पार्टीका सचेतक सन्तोष परियारले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर