महानगरले पृथ्वीनारायणको प्रतिमा हटाउन लागेको भन्दै राप्रपाका पूर्वमन्त्रीसहितको टोली सडकमा – Nepal Press

महानगरले पृथ्वीनारायणको प्रतिमा हटाउन लागेको भन्दै राप्रपाका पूर्वमन्त्रीसहितको टोली सडकमा

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन लागेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सडकमा आएर बसेका छन् ।

शुक्रबार राति राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य पन्चराम गुरुङसहितका नेता तथा कार्यकर्ता पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन रोक्ने भन्दै रातको समयमा सडक बसेका हुन् ।

महानगरका मेयर धनराज आचार्यको अध्यक्षता शुक्रबार बसेको सर्वदलीय बैठकले पृथ्वीचोक (लखनचोक)मा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय गरेको महानगरले बताएको थियो ।

तर, राप्रपाले भने पृथ्वीचोकमा लखन थापाको सालिक अगाडि राखिएको शाहको प्रतिमा तत्काल हटाउने निर्णय नभएको दाबी गर्दै सडकमा आएको हो । ‘पृथ्वीचोकबाट शाहको प्रतिमा तत्काल हटाउने कुनै निर्णय भएको छैन, हामी पनि सबै शालीक हटाउनुपर्छ भन्ने पक्षमा छौं । तर, सबै एकपटक हटाउनुपर्छ’, राप्रपा गण्डकी अध्यक्ष गुरुङले भने, महानगरले हटाउन लागेको थाहा पाएपछी हामी सडकमा आएका छौं ।’

पृथ्वीचोकमा पोहोर साल राखिएको पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड बुधबार हटाइएको थियो । तर, पुनः राप्रपाले पृथ्वीको प्रतिमा पुनः स्थापना गरेको थियो । त्यससँगै विवाद सिर्जना भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *