डिजेल चोरीको घटनामा जोडिएका आयल निगम गण्डकीका प्रमुख दास निलम्बित – Nepal Press

डिजेल चोरीको घटनामा जोडिएका आयल निगम गण्डकीका प्रमुख दास निलम्बित

पोखरा । नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको घटनामा नाम जोडिएका कार्यालय प्रमुख चित्तरञ्जन दासलाई निलम्बन गरिएको छ । घटनाको छानबिन नसकिँदासम्मका लागि निगम गण्डकी प्रदेश कार्यालय प्रमुख दासलाई निलम्बन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

‘घटनाअघि जिल्ला प्रशासन कार्यालयबाट छानबिनका लागि अख्तियारमा पत्र पठाएको अवस्था छ’, उनले भने, ‘छानबिन नसकिँदासम्मका लागि दासलाई निगमले निलम्बन गरेको छ ।’

निगमको पोखरा डिपोबाट लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकरलाई कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा बिहीबार नियन्त्रणमा लिइएको थियो ।

१२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार लिटर थप इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । पक्राउ गरिएको ट्यांकर डाँडाकोनाक चौकीमा राखिएको र जिल्ला प्रशासन, नापतौल कार्यालय र आयल निगमले संयुक्त रुपमा नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको थियो ।

घटनापछि कार्यालय प्रमुख दास फरार छन् । उनी आयल निगमको पनि सम्पर्कमा नरहेको आयल निगमका प्रवक्ता ठाकुरले बताए । जिल्ला प्रशासन कार्यालयले घटनाका छानबिका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र काटेको छ ।

निगम गण्डकी प्रदेशका कार्यालय प्रमुख चितरञ्जन दासमाथि डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप लागेको छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो २ आर्थिक वर्षभन्दा दोब्बर नोक्सानी गराइएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने)कार्यालयका अपरेशन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफैं गर्ने गरेका थिए । बिहीबार पक्राउ गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफैं सही गरेर पठाएका थिए । बिहीबार बरामद गरिएको ३ हजार लिटर डिजलको मूल्य करिब ४ लाख ५९ हजार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *