सर्लाहीमा फेला परेको टाउको भारतीय युवकको रहेको पुष्टि, साथीसँग आएका थिए घुम्न – Nepal Press

सर्लाहीमा फेला परेको टाउको भारतीय युवकको रहेको पुष्टि, साथीसँग आएका थिए घुम्न

जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका- ४ लखनदेही खोलामा फेला परेको शरीरविनाको टाउको भारतीय नागरिकको रहेको खुलेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुका अनुसार फेला परेको टाउको भारतको विहार राज्यमा पर्ने सीतामढी जिल्लाको मनियारी- ५ का गोलु भन्ने अभिषेक गिरीको भएको पुष्टि भएको हो । उनका बुवा दिवाकर राज आएर आज सनाखत गरेको डीएसपी थारुले बताए ।

फेला परेको टाउको अहिले मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । त्यहाँका चिकित्सकले टाउकोको पोष्टमार्टम गर्ने आइडिया नभएको बताएपछि प्रहरीले काठमाडौं लग्ने तयारी गरेको छ ।

डीएसपी थारुले पोष्टमार्टमका लागि टाउको काठमाडौंको टिचिङ अस्पताल पठाउन लागेको जानकारी दिए । उनका अनुसार शरीर अझै फेला परेका छैन ।

स्रोतका अनुसार अभिषेक साथीसँग घुम्न सर्लाही आएका थिए । तर, उनको हत्या विभत्स तरिकाले कसले गर्‍यो भन्ने विषयमा केही खुल्न सकेको छैन । डीएसपी थारुले घटनाको थप अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *