गगनको ‘पिलाे’ फुटाउन खाेज्दै बालेन– कपनको खोला खोल्न सम्भव होला ? – Nepal Press

गगनको ‘पिलाे’ फुटाउन खाेज्दै बालेन– कपनको खोला खोल्न सम्भव होला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली बिहीबार बिहान १० बजे एक थान डोजरसहित वडा नम्बर ७ कपनस्थित साततले पुग्यो । टोलीलाई कार्यादेश थियो, स्ल्याबले ढाकिएको कपनको खहरे खोला उघार्ने ।

नगरप्रहरीको टोली पुग्दानपुग्दै स्थानीयहरु जम्मा हुन थालिसकेका थिए । कपनको खहरे काठमाडौं महानगरपालिका वडा नम्बर ७ र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को सीमानामा पर्छ । यो खहरे केही वर्षअघिसम्म खुल्ला नै थियो । अहिले भने खोला छोपिएर ‘मिलनचोक’ मा परिणत भएको छ । यो स्थान सासंद गगन थापाको निर्वाचन क्षेत्र (काठमाडौं ४) मा पर्छ ।

यही खहरे खोलाकै कारण दुई पटक सांसद जित्दा पनि केही गर्न नसकेको भन्दै आलोचनामा परिरहन्छन् गगन । याे खाेला उनकाे लागि बारम्बार दुख दिइरहने ‘पिलाे’ जस्तै भएकाे छ ।

खहरे खोलालाई कतै पुरेर बाटो बनाइएको छ त कतै छोपेर स्ल्याब राखिएको छ । यो खोलाले आफ्नाे धारमा बग्न नपाएको बर्षौं भयो । बस्ती बढ्दै गएसँगै खोला पनि सुक्दै गएको छ । हिउँदमा पानी देख्न मुस्किल पर्छ । वर्खामा भने काठमाडौंमा आधा घण्टा मात्रै पानी परे पनि बाढी उर्लिहाल्छ ।

केही वर्षअघि हिउँदमा सानै भए पनि खोला बगेको देखिन्थ्यो । अहिले बर्खामा मात्र खोला हो भन्ने चाल पाइन्छ । वर्षामा यो खोलामा गोर्कण जगडोल, कपन गुम्बा हुँदै तेन्जिङ चोकदेखिको पानी आउने गर्छ । जसले गर्दा बर्खामा हरेकदिन जसो बाढी आइरहन्छ ।

यही समस्याले आजित छन् स्थानीय । एकैछिन अघि हिँडेको बाटो फर्कदाखेरि खोलामा परिणत भइसक्दो देख्दा अनौठो लाग्दैन स्थानीयलाई । किनकि यो समस्या आजको होइन । स्थानीयले वर्षौदेखि यही खोलाको कारण बर्खा लाग्ने वित्तिकै बाढीको सामना गर्नुपरेको छ । पानी नपरेको बेला खोलामा सवारीसाधनदेखि मानिसहरु ओहोरदोहोर गर्छन् ।

त्यहाँका रैथाने स्थानीयका अनुसार कपनको तेन्जिङ चोकदेखि साततलेसम्म पहिले खहरे खोला थियो । अहिले तेन्जिङ चोकदेखि आनन्दचोकसम्म खहरे खोलालाई ह्युम पाइपभित्र हालेर स्ल्याब राखेर छोपिएको छ । मिलनचोकदेखि भने खोलालाई माथि बाटो बनाएर तल ढल हाल्ने ह्युम पाइपभित्र राखेर भित्रभित्रै धोवी खोलामा पठाइएको छ । अहिले खोलामा ढल मिसाइएको छ । अरु बेला ढल सानो भएकाले सडक बाहिर पानी आउँदैन र खोलाको बाटोमा सवारीसाधन चल्छ ।

केहीबेर पानी परेपछि माथिदेखि आएको भेल पाइपमा नअटाएर ढलमाथिबाटै खोला बग्न थाल्छ । तल आनन्दटोलदेखि पानी परेको दिन बाटोमा बाढी बग्छ । हुन त बाढी बग्ने गरेको सडक नभई खोला नै हो । खोलालाई ह्युम पाइपभित्र हाल्दा खोला हराएको हो । जसको कारण हरेक पटक कपन डुवानमा पर्नुको साथै बाढी आउँछ । खासगरी त्यहाँ पसल गर्नेहरु कपनको बाढीदेखि आजित छन् ।

  घरभित्र पानी पस्नेदेखि पसलभित्र बाढी पस्ने क्रम बर्खा भरि चलिरहन्छ । केही दिनअघि कपनमा आएको बाढीले सामान, मोटरसाइकलसमेत बगाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चासो देखाएका थिए ।

खोला मिचेर घर बनाउनेदेखि खोलालाई नै छोपेर स्ल्याब राख्ने गरेको पाइएपछि मेयर साहले कपनको खहरे खोला खोल्न नगरप्रहरीलाई निर्देशन दिए । सोही निर्देशन अनुसार नगरप्रहरीको टोली कपनको साततले पुगेको थियो । तर नगरप्रहरीले खोला खोल्न सकेन ।

यो क्षेत्रमा खोलालाई लिएर दुई पालिकाको वडाहरुबीच वर्षौंदेखि विवाद सिर्जना भइरहेको छ । बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १० कपनको माथिल्लो भागमा पर्छ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ साततले तल्लो भेगमा पर्छ । माथिल्लो भेगबाट आएको पानीले तल्लो भेगमा सधैं बाढी आउने गर्छ ।

यहाँ दुई वडाबीच मात्र होइन दुई वडाका स्थानीयबीच समेत मतभेद छ । काठमाडौं महानगरको वडा नम्बर ७ का स्थानीय यो खहरे खोला हो भन्छन् । तर बुनपा १० का स्थानीय खोला भए मुहान हुनुपर्ने तर्क गर्छन् । वडा नम्बर ७ का स्थानीयहरुले वडा नम्बर १० कै कारण आफूहरु बर्षेनी बाढीको चपेटामा परेको गुनासो गरेका छन् । उनीहरु जसरी हुन्छ मिचेको खोला फर्काउनुपर्ने बताउँछन् ।

साततलेका स्थानीय गोविन्द खत्री भन्छन्, ‘यो खहरे खोला नै हो । खोला मिचेर घर बनाएकाहरुले विरो गरेका हुन् । हामीले वर्षोदेखि दुख पाइरहेका छौं । खोलाले आफनो धारमा बग्न पाउनुपर्छ खोला खुला राख्नुपर्छ ।’

तर वडा नम्बर १० का एक स्थानीय यहाँ खेतको आलीबाट पहिले पानी आउने बताउँछन् ।

साततले आइपुगेका ती स्थानीय आक्रोशित हुँदै भन्दै थिए, ‘यो खोला होइन, खेतको आलीबाट पानी आउथ्यो । यो खोला भनेर खोल्नुहुँदैन ।’

साततलेका स्थानीयको माग खोला खोला खोल्नैपर्छ हो ।

एक स्थानीय भन्छन्, ‘ढल निकालेर खोलालाई बग्न दिनुपर्छ । खुल्लै छोडिएको भए यस्तो क्षति हुँदैन थियो । पहिले खहरे भएपनि खुलारुपमा बग्न पाउनुपर्यो ।’

समन्वय गरौं भन्दा हातपात भयो: बुनपा वडाध्यक्ष

काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर लगेपछि बुनपाका स्थानीयले जनप्रतिनिधिलाई गुहारेका थिए मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई घटनास्थलमा पुगेका थिए ।

डोजर रोक्ने क्रममा वडाध्यक्ष तथा बुनपाका प्रवक्ता नवराज भट्टराईमाथि महानगर प्रहरीले लछारपछारसमेत गरेका थिए । त्यसपछि नेपाल प्रहरीको टोलीले डोजरको चाबी खोसेर कामनपा ७ का वडाध्यक्ष बिमल होडा र बुनपाका जनप्रतिनिधिबीच वार्ता भएको छ ।

बुनपाका प्रवक्ता भट्टराईले समन्वय गरौं भनेर आग्रह गर्दा आफूहरुमाथि हातपात गरिएको बताए ।

नापजाँच हुँदैछ: नगरप्रहरी

बुढानिलकण्ठ नगरपालिकाले आफ्नाे सिमानामा पर्ने खोला वरपरको संरचना हटाउन नदिएपछि विवाद भएको थियो । दुई पालिकाका वडाध्यक्ष बसेर छलफल गरेपछि खोलाको नापजाँच भइरहेको नगरप्रहरी निरीक्षक शिव दाहालले बताए ।

उनले भने, ‘वार्तापछि नापजाँच भइराखेको छ । यसअघि पनि नापजाँच भइसकेको रहेछ । नापेको अनुसार भएको रहेछ भने काम अगाडि बढ्छ ।’

झण्डै डेढ किलोमिटर खहरे रहेको उनले बताए । दाहालका अनुसार काठमाडौंकै वडा नं. ६ र ७ मा पनि विवाद रहेको छ । तल बुनपा र कमपाको सीमानामा सुकुम्बासीको कारण समस्या भएको उनको भनाइ छ । खोला खोल्दाखेरि आफनो घर जाने भएपछि समस्या आएको ढकालले बताए । महानगरपालिको खोला स्ल्याब निकाल्ने अभियान रहेकोले सोही अभियान अन्तर्गतको काम गर्न लागिको उनी बताउँछन् ।

ढलमा खसेर बालकको गयो ज्यान

दुई वर्षअघि असोजको पहिलो साता कपनका १० वर्षीय बालक उज्ववल विश्वकर्मा आनन्दटोलमा ह्वाङ छाडिएको ढलमा खसेर बेपत्ता भए । उनको शव १० दिनपछि मकवानपुरमा भेटियो । यही खोलालाई छोप्ने क्रममा खुल्ला छोडिएको ढलमा खसेर उनले ज्यान गुमाएका थिए ।

याे पनि पढ्नुहाेस् ।

कपनको ढलले निलेका बालक उज्ज्वल ! (फोटो/भिडियो)

त्यतिबेला आनन्दचोक माथिको खोला आउने ठाउँमा स्ल्याब राखेर खोला छोपिएको थियो । तर त्यसभन्दा मुनि माथिबाट बगेको ढललाई ह्युम पाइपमा हालेर ह्वाङ्गै बनाइएको थियो । मुसलधारे वर्षाका बेला पानी ढलमाथि आएर सडक बगेको थियो । पानीले गर्दा माथि खुल्लै छ भन्ने मेसो नपाउँदा ढलमा खसेर बगे बालक ।

त्यसयता यो बाटोमा केही सुधार भएको छैन । दुई वर्ष भइसक्दा पनि सडकमा कुनै सुधार नभएकोमा कपनबासी आफ्ना प्रतिनिधि गगन थापामाथि आक्रोश पोख्छन् । उक्त बाटो मर्मत नहुनुको कारण पनि यही खोला नै हो ।

खहरे बन्द गर्न काम भइराखेको थियो : वडाध्यक्ष

बुढानिलकण्ठ नगरपालिकाका वडाध्यक्षसँग छलफलपछि भत्काउने सहमति भएको काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमल कुमार होडाले बताए ।

उनले नेपालप्रेससँग भने, ‘अहिले नापजाँच भइसकेको छ । ७ नम्बर त भत्काउन तयार भइसकेको हो । बुनपाले गर्दा अलि ढिला भएको हो । हामीले नापजाँच भइसकेको ठाउँमा भत्काउ भनेको छौं, तर उहाँहरु सबै नापेर मात्र भत्काउ भनिराख्नुभएको छ । सबै नाप्दा महिनौं लाग्छ । हामी खोला बनाइनुपर्छ भनेर लागेका छौं ।’

होडाका अनुसार यो धोवीखोलामा पुग्ने सहायक खोला हो । यो खहरे बनाउनको लागि २८ करोडको बजेट परेको छ । खहरे बनाउनका लागि ५ वर्षअघि नै बजेट आएको थियो । तर बुढानिलकण्ठ नगरपालिकाको कारण ढिलो भएको थियो ।

पहिला पानी जाने खहरे नै कायम गरिने उनले बताए । नगर विकास प्राधिकरणले प्राधिकरणले आफू अनुकुलको ठेक्का लगाएको उनी बताउँछन् । आनी गुम्बामा पनि ठेक्का भइसकेको छ ।

बुनपामा खोला मिचेर घर बनाएकाले ढिलो भएको उनको आरोप छ । यो खोलालाई पनि स्ल्याब राखेर छोप्ने तयारी भइरहेकोमा मेयर बालेन साहको निर्देशनमा खुलाउन लागेको वडाध्यक्ष हुडाले बताए ।

उनले भने, ‘यसअघि खोला बन्द राख्न तयारी भएको थियो । तर मेयर बालेन साहले सामाखुसी खोला जस्तै खोल्न पर्छ भनिराख्नुभएको छ । तर त्यो सम्भव हुन नि सक्छ नहुन नि सक्छ । बाटो भइसकेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *