शिक्षा विधेयकको विरोध- सामुदायिक शिक्षा सुधार, निजीलाई नबिगार भन्दै प्रदर्शन (तस्बिरहरू) – Nepal Press

शिक्षा विधेयकको विरोध- सामुदायिक शिक्षा सुधार, निजीलाई नबिगार भन्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । निजी विद्यालयमारा शिक्षा विधेयक ल्याइएको भन्दै सञ्चालकहरू आन्दोलित भएका छन् । ५ सयभन्दा बढीको संख्यामा भेला भएका उनीहरूले माइतीघरमा प्रदर्शन गरे । प्रदर्शनकारीले माग पूरा नभएसम्म आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् ।

प्याब्सन, हिसान र नेसनल प्याब्सनको संयुक्त आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको छ ।

आफूहरू गुठीमा रुपान्तरण हुन तयार रहेको भन्दै लगानीको सुरक्षाको प्रत्याभूति खोजेको सञ्चालकहरूको भनाइ छ ।

प्याब्सन अध्यक्ष बीपी ढुंगानाले कानून बनाउँदा शिक्षामन्त्रालयले सरोकारवालासँग छलफल नगरेकोमा आपत्ति जनाए । उनले सामुदायिक विद्यालयलाई राम्रो बनाए निजी विद्यालयको आकर्षण स्वत: घट्ने भन्दै त्यसका लागि आफूहरू तयार रहेको बताए ।

‘कक्षा कोठामा पठाउने मान्छे किन सडकमा आउनुपर्‍यो । कानून बनाउँदा शिक्षा मन्त्रालयले किन छलफल गरेन ? सरकारले हाम्रा कुरा सुन्दियोस् । हामीले छात्रवृत्तिमा पढाएका विद्यार्थीले अनुदान पनि पाएनन् । राज्य आफैँले सरकारी र निजी विद्यालयलाई विभेद गरिरहेको छ । लगानीको सुरक्षाको प्रत्याभूति गर । हाम्रा शिक्षक, कर्मचारी, पूर्वाधारको भविष्य र सुरक्षाको ग्यारेन्टी लेऊ । सामुदायिक विद्यालयलाई राम्रो बनाऔं निजीको आफैँ घट्छ । हामी नै सहयोग गर्छौं नि’, ढुंगानाले भने ।

मन्त्रिपरिषद्‍बाट पास भएको प्रस्तावित विधेयक सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ । सो विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चाल भएका शैक्षिक प्रतिष्ठानहरूको अस्तित्व नामेट पार्ने उदेश्यबाट अभिप्रेरित भएको तीन संस्थाको ठहर छ ।

निजी लगानीका शिक्षण संस्थाका सञ्चालकहरूले विद्यालय अनिश्चितकालीन बन्दसम्मका कार्यक्रम राखेर केही दिनयता चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *