राति जेलबाट भाग्न खोजेका दुई कैदीको बिहान मृत्यु भएपछि संखुवासभा जिल्ला प्रशासनले बनायो छानबिन समिति – Nepal Press

राति जेलबाट भाग्न खोजेका दुई कैदीको बिहान मृत्यु भएपछि संखुवासभा जिल्ला प्रशासनले बनायो छानबिन समिति

काठमाडौं। संखुवासभाको खाँदबारीस्थित जिल्ला कारागारमा बुधबार बिहान दुई कैदीको मृत्यु भएको घटनामा जिल्ला प्रशासनले छानबिन समिति बनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।समितिमा जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल र नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेका छन्।

कारागार व्यवस्थापन विभागका प्रमुख चक्रपाणी पाण्डेले राति शौचालयको रड तोडेर भाग्न खोजेका दुई जना कैदीको बिहान मृत्यु भएको बताए।

‘भाग्न खोजेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएर भित्र बुझाएको भन्ने छ। बिहान ५ बजे कारागारभित्रबाट भाग्न खोजेका कैदीको अवस्था गम्भिर रहेको बताइएपछि अस्पताल लगिएको थियो’, पाण्डेले भने। मृत्यु हुनेमा आकाश बलामी र विनोद तोलांगी रहेका छन्।

कारागारभित्र कुटपिट हुँदा उनीहरुको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी पाएको कारागार व्यवस्थापन विभागले जनाएको छ। संखुवासभा जिल्ला कारागार प्रमुख राजेन्द्र घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

‘प्रहरीले समातेर भित्र बुझाएपछि त्यहाँ के भयो भन्नेबारे छानबिन भइरहेको छ। दुवै जनाको उपचारका क्रममा ज्यान गएको हो’, घिमिरेले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर