डा. ल्हारक्याललाई लुम्बिनीमा काम गर्न देऊ ! – Nepal Press

डा. ल्हारक्याललाई लुम्बिनीमा काम गर्न देऊ !

सरकारले यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल समाप्त भएकाले लुम्बिनी विकास कोषको नयाँ उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डा. ल्हारक्याल लामालाई नियुक्त गरेपछि त्यसविरुद्ध राजनीति (सञ्चार) सञ्जाल क्षेत्र अतिविघ्न हावी भएका छन् । सत्ता सहयात्री कांग्रेसका एक महामन्त्री विश्वप्रकाश शर्माले यस नियुक्तिको नैतिक जिम्मेवारी कांग्रेसले नलिने बताएका छन् भने प्रमुख विपक्षी एमालेको पदाधिकारी तहले केही नबोले पनि मझौला तहले ‘नैतिकता सिकाएकै’ छ । कांग्रेसतर्फबाट २०५८ सालमा नै गुम्बा व्यवस्थापन समितिको अध्यक्ष बनिसकेका डा. लामा २०६५ सालमा एमालेतर्फबाट संविधानसभा सदस्य भएर झलनाथ खनाल प्रधानमन्त्रीत्वको सरकारमा अर्थ राज्यमन्त्री भैसकेका व्यक्तित्व हुन् । भलै ‘दोहोरो नागरिकता काण्ड’ सार्वजनिक भएपछि उनले ११ दिनमै सो पद छाड्नुपर्‍यो ।

२०७० सालपछि माओवादीतर्फबाट संविधानसभा सदस्य डा. लामा त्यसअघिको संविधानसभा कार्यकालमा एमालेबाट निर्वाचित भएर, महत्त्वपूर्ण राजनीतिक जिम्मेवारी पाएर पनि २०६९ तिरै माओवादीमा सम्मिलित भैसकेका थिए । उनलाई दोहोरो नागरिकता बनाएको र चीनको मकाओ पठाउँछु भनेर मानिसलाई ठगी गरेको अभियोग एमालेमा हुँदै लागेको हो । माओवादी भएपछि बैंकको लकरमा गोलाबारुद राखेको अभियोग पनि लाग्यो । तर, उनीमाथिका कुनै पनि आरोप प्रमाणित भएन । प्रहरी र ‘सार्वजनिक सरोकार’ राख्नेहरूले उनीविरुद्ध विशेष अदालत र अख्तियारलगायतका निकायमा उजुरी दिए पनि त्यो प्रमाणित हुन सकेन । सम्बन्धित सरकारी निकायहरूको उच्चस्तरीय अनुसन्धानबाट पनि उनले निर्दोषिताको ‘क्लिन चिट’ पाए ।

केन्द्रीय समितिमा सँगै बसेर क्रान्तिको मुट्ठी उठाउँदा पवित्र हुने डा. लामा मापदण्डअनुसार लुम्बिनी कोषमा नियुक्त हुनेबित्तिकै अपवित्र र क्रान्तिको तगारो भैहाल्ने कस्तो भाष्य हो माओवादी केन्द्रका कतिपय नेता-कार्यकर्ताको ? डा. लामा अपराधी नै थिए भने उनी माओवादी केन्द्रमा औपचारिक हैसियतमा भएको ११ वर्षसम्म तिनले किन आँखा चिम्लेको ?

अहिलेको प्रश्न के हो भने अपराध भनिएका काण्डमा अदालतसहितका तालुक निकायहरूले छानबिन/फैसला गर्दा अपराधी सावित नभएका व्यक्तिहरू राजनीतिक एवं सामाजिक जीवन/जिम्मेवारीमा हुन पाउने कि नपाउने ? डा. लामाबारे मिडियाले भने तालुक निकायभन्दा माथि बढेर र आफैं ‘अदालत’ भएर समाचार/सम्पादकीय ‘ट्रायल’ गरिरहेका छन् र सामाजिक सञ्जालकर्ताहरू त्यसैमा स्याल हुइँया गरिरहेका छन् । उनीबारेको सदाबहार मिडिया नकारात्मकता प्रायोजित झैं लाग्दैछ । एमालेका कैयौं, कांग्रेसका केही र बाँकी राजावादी वा स्वार्थआदर्शीले त राजनीतिक ‘स्टन्ट’का लागि पनि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रविरुद्ध यस सन्दर्भलाई भजाउने नै भए । कुरा बुझेर वा नबुझेर माओवादी केन्द्रका कतिपय नेता-कार्यकर्तासमेत तिनकै पछि दौडिएका छन् ।

केन्द्रीय समितिमा सँगै बसेर क्रान्तिको मुट्ठी उठाउँदा पवित्र हुने डा. लामा मापदण्डअनुसार लुम्बिनी कोषमा नियुक्त हुनेबित्तिकै अपवित्र र क्रान्तिको तगारो भैहाल्ने कस्तो भाष्य हो माओवादी केन्द्रका कतिपय नेता-कार्यकर्ताको ? डा. लामा अपराधी नै थिए भने उनी माओवादी केन्द्रमा औपचारिक हैसियतमा भएको ११ वर्षसम्म तिनले किन आँखा चिम्लेको ? किन उनलाई हटाउन वा कारबाही गर्न पार्टी र नेतृत्वलाई दबाब नदिएको ? आफ्ना, पराइ नहेरी आँखा चिम्लिएर प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारी, तस्कर र अपराधीको फाइल खोल्दैगर्दा त्यस पार्टीका ‘विवादित’ केन्द्रीय सदस्यले चाहिँ महत्त्वपूर्ण नियुक्तिको अवसर पाउने परिस्थिति बन्छ होला त ? देखावटीमा अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डमाथि ‘विश्वास छ’ भने पनि यस सन्दर्भमा ती जनवाद होइन, अराजकता ओकलिरहेका छन् । आफ्नै स्वार्थ वा गुटका स्वार्थ ओकलिरहेका छन् । जनवाद आवरणको यस्तो चरम अराजकता वा अति लोकतन्त्रलाई आलोचनात्मक चेत भनिँदैन । कुण्ठा पो भनिन्छ ।

उनी अपराधी, तस्कर वा विवादित हुन्/होइनन्, त्यो कानूनले प्रमाणित गरिसकेको/गर्ने विषय हो । तर, उनलाई नचिनिकनै लहैलहैमा अतिरञ्जित बोल्ने चाहिँ धेरै भए । यसरी अतिरञ्जित नबोलौं । र, डा. लामाको कामको परीक्षण गरौं । उनलाई लुम्बिनीको विकासमा स्फुर्त काम गर्न दिऔं ।

त्यसो त कांग्रेसका एक महामन्त्रीले सालिन असहमति जनाए पनि डा. लामाको नियुक्तिलाई खासगरी एकथरी (एमाले मार्का)ले अनावश्यक उछालेका हुन् । धेरै धेरै त नबुझेरै लहैलहैमा लागेका हुन् । वास्तवमा डा. लामाको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो छ । लुम्बिनीबारे राम्रो ज्ञान छ । लुम्बिनीमा औपचारिक, अनौपचारिक लगानी भित्र्याउन सक्छन् । गौतम बुद्धबारे उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेतका अगाडि गरेको भाषण (अंग्रेजीमा) सुन्दा धेरै प्रभावकारी र दमदार लाग्छ । बाहिर ‘विवादित’ बनाइए पनि आफ्नो समुदायभित्र उनको राम्रो छवि छ । उनी अपराधी, तस्कर वा विवादित हुन्/होइनन्, त्यो कानूनले प्रमाणित गरिसकेको/गर्ने विषय हो । तर, उनलाई नचिनिकनै लहैलहैमा अतिरञ्जित बोल्ने चाहिँ धेरै भए । यसरी अतिरञ्जित नबोलौं । र, डा. लामाको कामको परीक्षण गरौं । उनलाई लुम्बिनीको विकासमा स्फुर्त काम गर्न दिऔं ।

यस्तो लाग्छ कि नश्लचेत हावी यो समाज कतिपय सोचमा राणा र पञ्चायतकालीन मानिसकतामै छ । त्यो कुनै पनि पार्टी-विचारको आवरणमा ऐनमौकामा प्रकट हुन्छ । सिद्धान्तका ठूल्ठूला गफ दिए पनि मानिसलाई घोडाको टाप बनाउने तिनको संस्थागत चिन्तन-प्रपञ्च परम्परागत रुढ मानसिकताकै कडी हो । हेलम्बुबाट आफ्नै बलबुता र क्षमतामा उठेर आएको र पीएचडीसम्म गरेको बौद्धमार्गी सीमान्तकृत ल्हारक्याल लामाको ठाउँमा कुनै ब्राह्मण/क्षत्रीय बुद्धिस्ट लुम्बिनीमा नियुक्त हुन्थ्यो भने यसरी विवादैविदाद पक्कै आउँदैनथ्यो ।

समाजका अपराधी प्रमाणित र गुण्डाहरूलाई सांसद र मन्त्रीसम्म स्वीकार्नेले मिडियाले स्वार्थपरक ‘ट्रायल’ गरिरहने तर विविध कारणले परिबन्दमा परेको हुनसक्ने व्यक्तिबारे भने सधैं कुण्ठित सोच राख्नु जरुरी छैन । कम्युनिष्ट पार्टीमा धार्मिक-सांस्कृतिक चेत भएका व्यक्तिहरू संगठित नै हुन नसक्ने तिनको तर्क विगतका कम्बोडियन पोलपोट र हालका उत्तर कोरियाली किम जोन उनको कम्युनिष्ट खोलको ‘राजतन्त्रीय’ प्रवृत्ति र शासनमा मात्र काम लाग्छ । समाजमा जातीय, धार्मिक एवं सांस्कृतिक समुदाय पनि हुन्छन्, तिनको कम्युनिष्ट पार्टीप्रति नै बढी आस्था हुन्छ । किनभने कम्युनिष्टहरू नै जनता र बहुराष्ट्रियतासँग बढी आत्मीय हुन्छन् । र, तिनलाई कम्युनिष्ट पार्टीले नै संगठित गरेर, योग्यता-प्रतिभा चिनेर, सुधारेर सामाजिक जिम्मेवारीमा ल्याउनुपर्छ भन्ने चेत नेपाली क्रान्तिको ठेक्का लिने अब्बल नेता-कार्यकर्तामा कहिले आउने होला ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *