गठबन्धनलाई भाग पुर्‍याउन बागमतीमा फेरि टुक्र्याइयो मन्त्रालय – Nepal Press

गठबन्धनलाई भाग पुर्‍याउन बागमतीमा फेरि टुक्र्याइयो मन्त्रालय

माओवादी भागको मन्त्रालय फुटाउने कांग्रेसको प्रयास असफल

हेटौँडा । बागमती प्रदेश सरकार विस्तार भएको ७८ दिन पछि विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ दलबिच चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्री बनाउने सहमति भएसँगै बागमतीमा मन्त्रालयको संख्या १२ पुग्ने भएको छ ।

११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गत जेठ ७ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १२ जना मन्त्री नियुक्त गरेका थिए । ११ मन्त्रालयमा १२ जना नियुक्त गरेसँगै चित्रकारको भागमा विना विभागीय मन्त्रीको जिम्मेवारी परेको थियो ।

७७ दिनसम्म कांग्रेसले माओवादी भागमा परेको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी विकास मन्त्रालय बनाउनु पर्ने र उक्त मन्त्रालय कांग्रेस संसदीय दलका उपनेता समेत रहेका विना विभागीय मन्त्री चित्रकारलाई दिनुपर्ने माग राखेको थियो । तर कांग्रेसको मागको विषयमा माओवादी केन्द्र टसमस नभपछि चित्रकार कांग्रेसकै भागमा रहेको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय फुटाएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेर्दै आएको सामान्य प्रशासन विभाग र पुकार महर्जन मन्त्री रहेको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय फुटाएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय निर्माण गरी जिम्मेवारी दिने सहमति भएको हो ।

कांग्रेसले पटक–पटक आग्रह गर्दा समेत माओवादीले बागमतीमा सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउन नमानेपछि बाध्य भएर कांग्रेसले आफूले प्राप्त गरेको मन्त्रालय फुटाउन सहमत भएको हो ।

यस अघि आफूले सहरी विकास मन्त्रालय पाउने दाबी गर्दै आएका चित्रकारले आफूले रोजेको मन्त्रालय नपाउने देखेपछि दुई दिन अघि नेपाल प्रेससँग कुरा गर्दै जुनसुकै जिम्मेवारी आए पनि काम गर्ने बताएका थिए ।

माओवादी पक्षबाट सकारात्मक कुरा नआएपछि उनले संसदीय दलमा अब धेरै दिन नकुर्ने भन्दै दवाव दिएका थिए ।

मन्त्रालयको विषयमा हेटौँडा र काठमाडाैंमा पटक–पटक भएको बैठक विना निष्कर्षमा पुग्ने गरे पनि ७६ औँ दिनमा भएको बैठकले भने सहमतिको खाका तयार गरेसँगै लामो समय विना विभागीय मन्त्री रहेका चित्रकारले मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका हुन् ।

प्रदेश सरकारमा मुख्यमन्त्री सहित ४ मन्त्रालय माओवादीको भागमा छ भने कांग्रेसले ६ मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दा एकीकृत समाजवादीको भागमा दुई मन्त्रालय रहेको छ ।

बागमती प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा ७ मन्त्रालय रहेकोमा पौडेलपछि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा एक मन्त्रालय थप गर्दै ८ मन्त्रालय बनाइएको थियो ।

त्यसपछि राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ८ मन्त्रालयलाई विभाजन गरेर १४ मन्त्रालय बनाएर सरकार सञ्चालन गरेका थिए ।

प्रदेशसभाको दोस्रो निर्वाचन पश्चात् माओवादी र एमाले गठबन्धनमा निर्माण भएको शालिकराज जम्कट्टेल नेतृत्वको सरकारले १४ मन्त्रालयबाट घटाएर ११ मन्त्रालय बनाएको थियो ।

तर एमाले सरकारबाट बाहिरिएपछि सरकारमा भित्रिएको नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई भाग पुर्‍याउनको लागि जम्कट्टेले पुन मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएका छन् ।

मुख्यमन्त्री भएपश्चातको पहिलो प्रतिबद्धतालाई तोडेर मुख्यमन्त्री जम्कट्टेलले ११ बाट मन्त्रालयको संख्या १२ बनाएका हुन् ।

मुख्यमन्त्री चयन पश्चात् उनले आफ्नो नेतृत्वकालमा ११ भन्दा धेरै मन्त्रालयको संख्या नबढ्ने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर