साविक विजेता अमेरिकालाई सडन डेथमा हराउँदै स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा – Nepal Press

साविक विजेता अमेरिकालाई सडन डेथमा हराउँदै स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

मेलबर्न । साविक विजेता अमेरिका जारी महिला विश्वकप फुटबलको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । आइतबार भएको खेलमा स्वीडेनसँग सडन डेथमा पराजित भएपछि अमेरिकाको यात्रा टुंगिएको हो ।

टाइब्रेकरको सुरुका नियमित ५ प्रहारमा दुवै टोलीले ३-३ को बराबरी गरेपछि खेल सडन डेथमा पुगेको थियो । दुवै टोलीले छैटौ‌ प्रहारमा गोल गरेका थिए । सातौ‌ प्रहारमा स्वीडेनले गोल गर्न सक्यो भने अमेरिकाकी मिडफिल्डर केल्ली ओहारा चुकिन् ।

त्यसअघि अमेरिकाले टाइब्रेकरको चौथो र पाँचौ‌ प्रहारमा गोल गर्न नसकेपछि स्वीडेनको आशा कायमै रहेको थियो । स्वीडेनले तेस्रो र चौथो प्रहारमा गोल गर्न सकेको थिएन ।

अमेरिका नकआउटको पहिलो चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा स्वीडेनले यसअघि अमेरिकासँग २३ पटक हार व्यहोरेको थियो भने केवल ८ पटक जीत हात पारेको थियो । यी दुई टोलीबीच भएका १२ खेल बराबरीमा सकिएका थिए ।

आइतबारको निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *