महासंघ अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्षबीच भेटवार्ता – Nepal Press

महासंघ अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्षबीच भेटवार्ता

आर्थिक सुधार, पुर्वाधार विकास र उद्यमशीलता प्रवर्द्धनमा सहकार्यबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा औपचारिक भेटवार्ता भएको छ ।

भेटवार्तामा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतका पूर्वाधार विकास एवं लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए ।

कोभिडपछिको तीव्र बिस्तारको व्यवस्थापन गर्न नसक्दा मुलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए ।

निजी क्षेत्रले काम गर्न नपाउँदा राजश्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घट्दै गएको उनले बताए । नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवर्द्धनका लागि महासंघसँग सहकार्य गर्न आफू तयार रहेको बताइन् ।

पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो ।

महासंघले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सिप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवर्द्धन लगायतका विषयको नेतृत्व गर्छिन् ।

भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए । महासंघका उपाध्यक्ष द्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवर्द्धन आवश्यक रहेको बताए ।

महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर