सहकारीकाे करोडौं रकम अपचलनको आरोप लागेका अध्यक्ष १२ लाख धरौटीमा छुटे – Nepal Press

सहकारीकाे करोडौं रकम अपचलनको आरोप लागेका अध्यक्ष १२ लाख धरौटीमा छुटे

रुपन्देही । बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथस्थित आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती १२ लाख धरौटीमा छुटेपछि उजुरीकर्ता आश्चर्यमा परेका छन् ।

पीडित बचतकर्ताले करोडौं रकम अपचलनको उजुरी दिए पनि उनलाई पहुँचका भरका उन्मुक्ति दिने काम भएको भन्दै गुनासो गरेका छन् ।

घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएका थिए । बुटवल र भैरहवाका ती बचतकर्ताले ४ करोड ३६ लाख ६० हजार ४१९ रुपैयाँ फिर्ताको माग गर्दै उजुरी दर्ता गरेका थिए ।

सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्कविहीन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले असार १३ गते पक्राउ गरेको थियो । जिल्ला अदालत रुपन्देहीले उनलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

यसैगरी सहकारीका बजार प्रमुख सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सञ्चालक घर्तीकै अग्रसरमा गत मंसिर १७ गते विभिन्न ९ सहकारी संस्थासँग मर्ज गरेको खबर सार्वजनिक भएको थियो । मर्ज गरेको भनेर बचतकर्तालाई ढाँटेका सञ्चालक कार्यालय बन्द गरेर भागेपछि उनीहरुविरुद्ध बचतकर्ताले जाहेरी दर्ता गरेका थिए ।

बुटवलमा रहेको आगन्तुक, भैरहवाको जनप्रिय बहुउद्देश्यीय सहकारी, सार्थक बहुउद्देश्यीय सहकारी, शाइन बहुउद्देश्यीय सहकारी, उपदेश बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारीसँगै कपिलवस्तुको सुसन्देश बहुउद्देश्यीय सहकारी, नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी र बुटवलको वरदान बहुउद्देश्यीय सहकारीले आर्थिक संकट टार्न मर्जर प्रक्रियामा गएको जनाएका थिए ।

उनीहरुले साझा नाम ‘सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ को नाममा अघि बढ्ने गरी मर्जर प्रक्रियामा गएको जनाए पनि सञ्चालकहरुकै मनोमानीले त्यो प्रक्रियासमेत रोकिएको थियो । त्यसमा जोडिएकामध्ये अधिकांश सहकारीका सञ्चालक बचतकर्तालाई रकम फिर्ता गर्न नसक्दा सम्पर्कविहीन भएर बसेका छन् । केही संकटग्रस्त अवस्थामा छन् ।

मर्ज घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेती, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही सहकारी संघका अध्यक्ष भीम तुलाचन, राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटालगायतले सहकारी मर्ज भएको र अब कुनै समस्या नआउने दाबी गरे पनि पछि सहकारीका सञ्चालकहरुबीचकै मनमुटावले मर्ज हुन सकेन ।

सहकारीको प्रदेश कार्यालयमा दर्ता भएका रुपन्देहीका एक दर्जन सहकारी संकटग्रस्त छन् भने आधा दर्जन संघीय सरकारमा दर्ता भएका सहकारी संकटमा छन् । बाहिर दर्ता भए पनि शाखा कार्यालय खोलेर सेवा सुरु गरेका उनीहरुले स्थानीय सरकारसँग भने कुनै स्वीकृति लिएका छैनन् ।

स्थानीय सरकारले प्रदेश र संघमा दर्ता भएकालाई नियमन गर्न कानून नबनेको बताउँदै आएको छ । बुटवल उपमहानगरका सहकारी विभाग प्रमुख गुणखर खनालले स्थानीय सरकारमा दर्ता भएका सहकारीमा कुनै समस्या नआएको तर बाहिर दर्ता भएर यहाँ कार्यक्षेत्र बनाएकाहरुमा समस्या आएको बताए ।

उनले कानून र जनशक्ति अभावमा ती सहकारीलाई अहिलेसम्म स्थानीय सरकारले नियमन गर्न नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर