गोरखापत्रमा सुधार अभियान : वार्षिक आम्दानीमा १५ करोड वृद्धि – Nepal Press
ब्लग

गोरखापत्रमा सुधार अभियान : वार्षिक आम्दानीमा १५ करोड वृद्धि

काठमाडौं । वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य हासिल गर्न संस्थानको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार अभियान अगाडि बढाइएको छ ।

लामो समयदेखि परम्परागत ढर्रा र ढाँचामा चल्दै आएको गोरखापत्र र यसका अन्य प्रकाशनलाई ‘डिजिटल सिफ्ट’ गर्नु आजको आवश्यकता हो।

संस्थासँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै हाम्रो प्रयास अब ‘स्मार्ट यात्रा’ तर्फ उन्मुख भइसकेको छ ।

आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनः संरचनासहित गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुनाको गुणस्तरमा अभिवृद्धि गरी संस्थानलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढेका छौँ।

संस्थानसँग उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन तथा संस्थानको आन्तरिक प्रशासन तथा पद्धतिमा गरिएको व्यापक सुधारसँगै सम्पादकीय उत्पादन (गोरखापत्र दैनिक, दि राइजिङ नेपाल तथा अन्य प्रकाशनहरू) को डिजाइन लेआउटमा गरिएको परिवर्तन तथा कन्टेन्टको प्रस्तुति एवं गुणस्तरमा भएको अभिवृद्धिको स्पष्ट सकारात्मक प्रभाव संस्थानको आम्दानीमा देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा बितेको आर्थिक वर्ष मा २६ प्रतिशतले (१५ करोड) आम्दानी वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८र७९ मा वार्षिक आम्दानी ५७ करोड भएकोमा बितेको आर्थिक वर्ष ७९र८० मा ७२ करोड आम्दानी प्राप्त भएको छ। आर्थिक मन्दीसँगै विज्ञापनको बजार खुम्चिँदै गएको अवस्थामा संस्थानको कमाइमा देखिएको उल्लेखनीय प्रगतिबारे मन्त्रालयमा आयोजित समीक्षा बैठकमा पनि चर्चा र प्रशंसा भएको थियो ।

सुधारसँगै आन्तरिक नियमन तथा सुशासनमा कडाइ गरेर मितव्ययिता अपनाएकोले यो प्रगति सम्भव भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत निकायमा यसरी सबैभन्दा आम्दानी बढाउनेमा गोरखापत्र संस्थान नै पहिलो भएको छ ।

संस्थानको वित्तीय प्रणाली तथा वित्तीय अनुशासनको अवस्था पहिले नाजुक थियो । सरकारलाई तिर्नुपर्ने ऋण ब्याज समयमा चुक्ता नगरिएको, लेखा परीक्षण सम्पन्न नगरिएको र करको दायित्वसमेत बाँकी रहेको अलि भद्रगोल अवस्था थियो ।

अघिल्ला आर्थिक वर्षहरूको बाँकी लेखा परीक्षण सम्पन्न गरेर सरकारलाई तिर्नुपर्ने साँवा ब्याज बुझाएर, कर दायित्वसमेत फर्स्योट गरेर संस्थानको वित्तीय प्रणालीलाई लिकमा ल्याउने कोसिस गरिएको छ ।

बितेको आर्थिक वर्षमा मात्रै २०७५ साल यताकै बाँकी कर बापतको दायित्वसमेत गरी करिब १३ करोड कर चुक्ता गरिएको छ । संस्थानको नाममा रहेको नेपाल सरकारको ७ करोड ऋण चुक्ता गरिएको छ ।

लेखा प्रणालीलाई अझ वैज्ञानिक र जवाफदेही बनाउनका लागि विज्ञ सेवा खरिद गरी नेपाल लेखामान प्रणाली NFRS प्रणालीमा प्रवेश गर्न सफल भएका छौँ । NFRS अनुसार लेखा परीक्षण सम्पन्न गरेर महालेखा परीक्षकसमक्ष पेस गरिसकेका छौँ । NFRS प्रणालीअनुसार वित्तीय विवरण तयार गरेर लेखा परीक्षण सम्पन्न गर्ने गोरखापत्र संस्थान नै सरकारी स्वामित्वको पहिलो सञ्चार संस्था हो ।

भुक्तानी, बिलिङ, आम्दानी, करलगायतका आर्थिक कारोबार एवं नियमनलाई वैज्ञानिक र छरितो बनाउने प्रयास गरिएको छ । खरिद गुरुयोजना तथा खरिद कार्य योजना तयार गरी खरिद प्रणालीलाई तथा अन्य आर्थिक कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइएको छ ।

गोरखापत्र र राइजिङ नेपालको १९५८ सालदेखि प्रकाशित गोरखापत्रका हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरहरूलाई व्यवस्थित र सुरक्षित रूपमा संग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा संवर्द्धन गर्न डिजिटल अर्काइभको कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ ।

राष्ट्रिय अभिलेखालय, प्रेस काउन्सिल र मदन पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलगायत अन्य सरोकारवाला संस्थाहरुसँगसमेत सहकार्य गरिएको छ ।

संस्थानभित्रै डिजिटल अर्काइभका लागि अत्याधुनिक ल्याब समेत स्थापना भएर काम सुरु भएको छ ।

डिजिटल अर्काइभसँगै पुराना सामग्रीको प्राप्ति तथा प्रयोगलाई डिजिटल माध्यमबाट सहज पहुँच उपलब्ध गराएर आम्दानी बढाउने दीर्घकालीन अवधारणासमेत तयार गरिएको छ ।

संस्थानले उठाउन बाँकी बक्यौतामध्ये गएको वर्षमा ६ करोड फर्स्योट भएको छ । बाँकी बक्यौता व्यवस्थापन तथा असुलीका लागि विशेष कार्यदल बनाएर अध्ययन गरी कार्ययोजनासहित काम थालिएको छ भने बेरुजू न्यूनीकरणका लागि आन्तरिक नियन्त्रण र नियमन प्रणालीलाई प्रभावकारी बनाइएको छ ।

निकै कमजोर रहेको डिजिटल प्लेटफर्ममा व्यापक सुधार गरिएको छ । २०७९ वैशाख १ गतेदेखि गोरखापत्र र राइजिङ नेपाल दुवैको न्यूज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डेभलपमेन्ट तथा डिजाइनसहित प्रस्तुत गरिएको छ ।

न्यूजपोर्टलसहित नयाँ डिजाइनको डिजिटल प्लेटफर्म पनि हामीले लन्च गरिसकेका छौँ । सामाजिक सञ्जालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास हामी गरिरहेका छौँ । अब हाम्रो जोड डिजिटल प्लेटफर्मको आक्रामक विकासतिर छ।

सम्पादकीय उत्पादनलाई प्रभावकारी बनाउनका लागि स्मार्ट न्यूज रुम तयार गरेर जनशक्तिमा प्राविधिक सिप र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने काम भएको छ ।

न्यूजरुम, विज्ञापन, आर्थिक कारोबार, भण्डार, वितरणलगायतका कामहरूलाई प्रविधिसँग जोडेर थप प्रभावकारी र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर खरिद गरी सम्पूर्ण कार्य प्रणालीलाई स्मार्ट बनाउने पहल थालिएको छ ।

हाम्रो दैनिक कार्य प्रणालीलाई डिजिटल सिस्टमबाट सञ्चालन गर्न एकीकृत कार्य व्यवस्थापन प्रणाली (अफिस अटोमेशन) मा हामी समायोजित भइसकेका छौँ । डिजिटल एकीकृत कार्य व्यवस्थापन प्रणाली अभ्यास गर्ने हामी नै पहिलो संस्थान भएका छौँ।

वितरण प्रणालीलाई प्रभावकारी बनाउँदै प्रकाशनहरूको पहुँच विस्तार गरिएको छ । अहिले ७७ जिल्लामा गोरखापत्रको पहुँच सहज भएको छ । सय वर्षका लागि ग्राहक बन्ने नयाँ अभ्यास सुरु भएको छ ।

(सुवेदी गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष हुन्।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *