कोशीमा बहुमत पुर्‍याउने गृहकार्यमा कांग्रेस, राजेन्द्र लिङदेनसँग देउवाले मागे सहयोग – Nepal Press

कोशीमा बहुमत पुर्‍याउने गृहकार्यमा कांग्रेस, राजेन्द्र लिङदेनसँग देउवाले मागे सहयोग

काठमाडौं । सोमबार बसेको सत्तागठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा परेपछि सभापति शेरबहादुर देउवाले राप्रपालाई फकाउन थालेका छन् । गठबन्धनको बैठकले कोशीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि राप्रपाको सहयोग मागेका हुन् ।

देउवाले गठबन्धनको बैठकलगत्तै सोमबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग सहयोग मागेका हुन् । गठबन्धनको बैठकले सरकार गठनको गणित पुर्‍याउने जिम्मा कांग्रेसलाई नै दिएको छ ।

राप्रपाविना सरकार गठन सम्भव नभएपछि देउवाले लिङ्देनको सहयोग मागेका हुन् । कोशी सरकार गठनको विषयमा देउवासँग छलफल भएपनि अहिलेसम्म कुनै ठोस सहमति नभएको अध्यक्ष लिङ्देनले नेपाल प्रेसलाई बताए । देउवाले सहयोग मागेपनि अब कसरी अगाडि बढ्ने भन्नेबारे आफूहरूले अहिलेसम्म कुनै निर्णय लिइनसकेको उनको भनाइ छ ।

कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्‍याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।

एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।

नयाँ सरकारलाई लागि गठबन्धनमा पनि सहजै गणित पुग्ने अवस्था छैन । यहाँ गठबन्धनलाई सरकार गठनको लागि राप्रपाको साथ चाहिन्छ । एमालेका हिम्मत कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले असार २१ गतेसम्म नयाँ सरकारको दाबी पेश गर्न आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर