गगनले देउवाको विकल्प खोज्दा किन मौन छन् शेखर कोइराला ? – Nepal Press

गगनले देउवाको विकल्प खोज्दा किन मौन छन् शेखर कोइराला ?

काठमाडौं । नेपाली कांग्रेसको विधानको धारा २१ को उपधारा १२ मा पार्टी केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्नुपर्ने उल्लेख छ । तर, २०७९ असार २७ देखि साउन २ सम्म बसेपछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन् ।

पार्टी केन्द्रीय समितिको बैठक नै झण्डै एक वर्षदेखि बस्न नसकेपछि सभापति शेरबहादुर देउवाप्रति आक्रोश बढ्दो छ । देउवाबाट पार्टी चल्न नसक्ने भन्दै महामन्त्री गगन थापाले सार्वजनिक रुपमै राजीनामासमेत मागिसकेका छन् ।

पार्टी बैठकबाट देउवा भाग्दा गत वर्ष भएको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, भ्रातृ संगठनलाई पूर्णता दिनेलगायतको विषयमा समेत समीक्षा हुन सकेको छैन ।

पार्टीको बैठक नराखेपछि केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठकको माग गर्दै पार्टी कार्यालयमा लिखितपत्रसमेत दर्ता गराएका छन् । उनले विभाग गठन नभएको, भ्रातृ संस्थाहरूले पूर्णता नपाएको, नीति महाधिवेशनको मिति तय नभएको, महासमिति बैठक नबोलाइएको जस्ता विषय उठान गरेका छन् ।

आचार्यसहित कांग्रेसका युवा नेताहरुले सातै प्रदेशमा रूपान्तरण अभियान चलाइरहेका छन् । २०७८ मंसिरमा भएको १४औं अधिवेशनबाट देउवा दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएपछि अहिलेसम्म पाँच पटकमात्र केन्द्रीय समिति बैठक राखेका छन् ।

तर, चाँडै पार्टी केन्द्रीय समितिको बैठक राख्ने तयारी भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् ।

‘यही महिनाभित्र केन्द्रीय समिति बैठक राख्नेगरी तयारी भइरहेको छ । अहिले हामी तयारीमा छौं’, उनले भने ।

उनले सभापति देउवाले बैठक राख्न नचाहेको कुरामा सत्यता नभएको जिकिर गरे । ‘निर्वाचनपछि सरकार बनाउन, गठबन्धन भत्किने फेरि बन्ने राजनीतिक घटनाक्रमहरु भइरहे । राजनीतिक गतिविधिकै कारणले पार्टीको बैठक बस्न नसकेको हो । अब चाँडै बस्छ’, प्रमुख विश्वकर्माले प्रस्ट्याए ।

बैठकका लागि निवेदन आउनु सकारात्मक कुरा भएको भनाइ छ ।

त्यसो त कांग्रेसका अर्का केन्द्रीय समिति सदस्य नैनसिंह महर पनि यही महिनाभित्र बैठक बस्ने तयारी भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म पार्टीभित्रको आन्तरिक कारणले बैठक बस्न सकेको थिएन । अब यही महिनाको अन्तिमसम्म बस्ने तयारी भइरहेको छ ।’

‘देउवाको विकल्प खोज्न मिल्दैन’

यद्यपि, महामन्त्री थापाले देउवाबाट पार्टी नचल्ने भन्दै पटक पटक राजीनामा मागेपछि महाधिवेशन नआई पार्टी सभापति हटाउन नमिल्ने कांग्रेस नेता रमेश लेखक बताउँछन् ।

उनी भन्छन्, ‘पार्टी सभापति, केन्द्रीय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुनसक्छ । एउटा व्यक्तिले भनेरमात्रै हुँदैन । कांग्रेस ठूलो लोकतान्त्रिक पार्टी भएकाले वादविवाद, आलोचना हुनु स्वाभाविक हो।’

तर, इतर पक्षका नेता गुरुराज घिमिरे पार्टीभित्रको अन्तरविरोध अन्त्य गर्न तत्काल बैठक बस्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीले सुरुदेखि नै बैठक राख्न दबाब दिएका हौं । देउवा दाइले अहिलेसम्म टार्दै आउनुभयो । अहिले पनि राख्ने भन्ने हल्ला छ । तर, मिति तोकिएको छैन ।’

कांग्रेस जस्तो ठूलो लोकतान्त्रिक पार्टीमा एक वर्षदेखि पार्टी सभापति बैठकबाट भागेको उनले आरोप लगाए ।

उनले थपे, ‘गत वर्षदेखिको चुनावको समीक्षा हुन सकेको छैन । यो विषयमा धेरै राजनीतिक गतिविधि भए । पार्टीका नेताहरु गम्भीर काण्डमा मुछिए । तर, पार्टीबाट हुनुपर्ने कुनै निर्णय भएको छैन ।’

विधानले नचिनेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट पार्टी चलाएको नेता घिमिरेको आरोप छ । आफूमाथि महामन्त्री थापाले निरन्तर आक्रोश पोखेपछि सभापति देउवाले नेतृत्वको विरोध गरेर पार्टी नबन्ने जवाफ फर्काएका थिए ।

गत साता देउवाले भनेका थिए, ‘व्यक्तिको विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउने जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ ?’

मौन शेखर

पार्टीभित्र सभापति र महामन्त्रीबीच चर्को लडाइँ भइरहेका बेला इतर पक्षका नेता डा. शेखर कोइराला मौन देखिन्छन् । उनी १४औं महाधिवेशनमा देउवासँग सभापतिमा हारेका थिए । तर, महामन्त्री थापाले देउवाबाट पार्टी नचल्ने भन्दै सार्वजनिक रुपमै उत्रिएका छन् भने उनी बचाउमा देखिएका छन् ।

पछिल्लो समय शेखर देउवाप्रति नरम नै देखिन्छन् । उनले निर्वाचित सभापति देउवा भएकाले पार्टीको निर्णय मानेर जानुपर्ने बताउँदै आइरहेका छन् ।

तर, महामन्त्री थापा कोइरालाको कुरा स्वीकार्ने पक्षमा छैनन् । कोइराला देउवाप्रति नरम बन्दै गइरहेकाले आगामी चुनावसम्म कोइराला–थापा समूह विभाजित हुने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ ।

महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलको बलियो साथ छ । देउवाले आगामी महाधिवेशनबाट आफू सभापति नउठ्ने घोषणा गरिसकेकाले शेखर उनीतर्फ नजिकिएको हुनसक्ने नेताहरु बताउँछन् ।

संस्थापन पक्षमा देउवाको उत्तराधिकारीको रुपमा रहेका बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा गएका छन् । अर्का सम्भावित उत्तराधिकारी पूर्णबहादुर खड्का हुनसक्छन् । तर, उनलाई संस्थापन पक्षका सबै नेताहरुले नस्वीकार्न सक्छन्।

इतर पक्षबाट संसदीय दलको नेतामा देउवासँग महामन्त्री थापा भिडिसकेकाले अब उनी सभापतिको दौडबाट ब्याक हुन नसक्ने शेखरको बुझाइ छ । त्यसैले उनले देउवालाई रिझाएर महामन्त्री थापासँगको दूरीलाई पनि कायम राखेर सर्वसम्मत नेतृत्वमा जान खोजेको देखिएको कतिपय नेताहरु बताउँछन् ।

महामन्त्री थापा तत्काल विशेष अधिवेशनबाटै भए पनि देउवाको विकल्प खोज्नुपर्ने पक्षमा उभिँदा कोइराला १५औं महाधिवेशन कुर्न तयार देखिन्छन् ।

कोइराला पछिल्लो समय आफ्नो व्यक्तिगत स्वार्थलाई हेरेर पनि पार्टी नेतृत्वप्रति मौन बसेको हुनसक्ने देउवा निकट एक नेताले बताए ।
ती नेताले भने, ‘पार्टीभित्र आआफ्नो कुरा भइहाल्छन् । तर, पार्टी सभापतिलाई असहयोग गर्न हुँदैन भन्ने पक्षमा पछिल्लो समय देखिनुभएको छ । शेखर दाइले आगामी सभापतिमा आफूलाई दाबी गर्दै आउनुभएको छ । त्यसैले देउवा दाइबाट पनि अपेक्षा राखेको हुनसक्छ ।’

देउवाले अब सभापतिमा नलड्ने घोषणा गरिसकेकाले कोइरालाले दुवैतर्फबाट आफूलाई सभापतिमा अगाडि सार्ने रणनीति अख्तियार गरेको हुनसक्ने ती नेताको बुझाइ छ ।

उनले भने, ‘उहाँ देउवा दाइसँग नजिकिएको जस्तो देखिए पनि अझै कित्ता क्लिएर भएको छैन । त्यसका लागि अझै दुई वर्ष लाग्छ । उहाँले अहिले आफ्नो व्यक्तिगत हितको कुरालाई पनि हेर्छन् । आफ्नो सजिलोका लागि रणनीति बनाउन खोज्नुभएको जस्तो देखिन्छ ।’

तर, अहिलेसम्म महामन्त्री थापासँग बाहिर हेर्दा दूरी बढेको जस्तो देखिए पनि भ्रातृ संगठन निर्माणको विषयमा एकै ठाउँमा उभिएको ती नेताले दाबी गरे ।

रणनीति हुनसक्छः विश्लेषक आचार्य

त्यसो त राजनीतिक विश्लेषक पुरञ्जन आचार्य देउवाले आगामी निर्वाचनमा नउठ्ने घोषणा गरेपछि शेखरले रणनीतिक रुपमा आफूलाई प्रस्तुत गर्न खोजेको हुनसक्ने बताउँछन् ।

तर, सभापति हुनकै लागि आफूले उठाएको एजेण्डा र रुपान्तरणको विषयलाई छाड्ने प्रवृत्तिको नेता नभएको आफूले बुझेको उनले बताए ।

आचार्यले भने, ‘देउवाजी उहाँको पनि सभापति नै हो । उहाँ छुट्टै समूह बनाएर बस्नुभएको छ । तर, पार्टीभित्र अहिले कैयौं विषयमा सहमति हुनसक्ने वातावरण पनि बनेको छ ।’

महामन्त्री थापा सभापतिबाट पार्टी चल्दैन, विकल्प खोज्नुपर्छ भनेर लाग्दा उहाँ त मौन देखिराख्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘उहाँमा त्यो स्वभाव पनि छैन । तर, गगन त युवा छन् । कोइरालाहरु जे कुरा राख्छन्, पार्टीको बैठकभित्रै राख्छन्। सरकारमा पठाउनेलगायत केही निर्णयमा पनि उहाँको विमति पनि पाएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर