‘नेपाली शास्त्रीय संगीत नै छैन, कहिलेसम्म भारतको नक्कल गर्ने ?’ (भिडिओ) – Nepal Press

‘नेपाली शास्त्रीय संगीत नै छैन, कहिलेसम्म भारतको नक्कल गर्ने ?’ (भिडिओ)

काठमाडौं । म्युजिक एण्ड भ्वाइस स्टुडियो, नक्साल । ८१ वर्षका संगीतकार रञ्जित गजमेर हार्मोनियमका कीहरुमा औंला चलाइरहेका छन् । नयाँ गीतको ट्युन खोजिरहेका छन् । छेवैमा छिन् मुम्बईमा संगीत पढेर आएकी गायिका लावोनी चक्रवर्ती ।

मुम्बईमै हुर्किएकी लावोनी विवाह गरेर नेपाल आएपछि नेपाली संगीतमै करियर खोजिरहेकी छन् । रञ्जितले एक गीत तयार गरिदिएका छन् लावोनीका लागि । त्यही गीतको अभ्यासस्वरुप रञ्जितको सामुन्ने बसेर उनले गाएका गीतका लाइनहरुलाई पछ्याइरहेकी छन् लावोनी ।

सँगै छन्, रेकर्डिस्ट चाँद सिंह ।

रेकर्डिस्ट चाँद तीन दशकभन्दा बढी भयो दार्जिलिङबाट नेपाल आएको । रञ्जित पनि दार्जिलिङबाटै ५५ वर्ष अगाडि नेपाल आएका थिए लेखक पिटर जे कार्थकसँग । त्यही दार्जिलिंगे साइनोले रञ्जित चाँदको स्टुडियो पुगेका थिए लावोनीका लागि ।

रियाज सकिएपछि रञ्जितले लावोनीलाई सोधे, ‘गीत कस्तो लाग्यो ?’

लावोनी बोलिन्, ‘गुरुको गीतमाथि बोल्न सक्दिनँ । यो गीत चाहिँ मेरा लागि हजुरको आशीर्वाद र प्रसाद भयो ।’

गीतको काम सकिएपछि हामीसित कुराकानीका लागि उनी तयार भए । हामीले सोध्यौं, ‘अझै पनि गीत कम्पोज गरिरहनुभएको छ । तपाईंको करियरमा विश्राम भन्ने चाहिँ रहेनछ !’

अहिलेको पुस्ताले टिकटक बनाउने पुराना कर्णप्रिय गीतहरुको ट्युन उनले हार्मोनियमबाटै निकालेका थिए । उस्तै संख्यामा चलचित्रहरुमा पनि संगीत भरे । एउटा होइन, दर्जनौं कर्णप्रिय गीतहरु नेपाली संगीतलाई दिएका रञ्जित ६ दशकपछि पनि उस्तै छन् । नयाँ नयाँ ट्युन सृजना गरिरहेकै छन् ।

‘हेर भाइ, म थाकें भने त बिरामी भइहाल्छु नि !’, रञ्जित आरामले बोले ।

‘तपाईंको उमेर त फेरि ८१ भयो नि ?’

‘कसले भन्यो ? म १८ वर्षमात्रै हो’, दार्जिलिंगे लवजमा ठट्यौली बने रञ्जित ।

उनी वेलावेला काठमाडौं आइरहन्छन् । काठमाडौं आउने बहाना त्यही संगीत नै हो । अमेरिकातिर रहेका संगीतप्रति लगाव भएका भुटानी शरणार्थीहरु उनको संगीत खोज्छन् । रञ्जित पनि तयार भइदिन्छन् र केही थान नयाँ गीतहरु लिएर काठमाडौं आइपुग्छन् ।

०००

चाहे ‘पिरतीको मीठो तिर्सना’ होस्, या ‘के भन्ने हाम्रो समय’ ! ‘मोहनी लाग्ला है’ होस् वा ‘कुसुमे रुमाल’ ! ‘नयाँ नयाँ सजाऔं है संसार’ होस् या ‘वीरताको चिनो’ वा ‘इशाराले बोलाउनु पर्दैन’ ! खोज्दै जाँदा वा सुन्दै जाँदा रञ्जितले संगीत भरेका दर्जनका दर्जन कालजयी गीतहरुको सूची बन्छ ।

अहिलेको पुस्ताले टिकटक बनाउने पुराना कर्णप्रिय गीतहरुको ट्युन उनले हार्मोनियमबाटै निकालेका थिए । उस्तै संख्यामा चलचित्रहरुमा पनि संगीत भरे । एउटा होइन, दर्जनौं कर्णप्रिय गीतहरु नेपाली संगीतलाई दिएका रञ्जित ६ दशकपछि पनि उस्तै छन् । नयाँ नयाँ ट्युन सृजना गरिरहेकै छन् ।

सृजनाकै सिलसिलामा काठमाडौं आउँछन् । गीतकै सिलसिलामा मुम्बई फिर्छन् । अनि संगीतकै लयमा हाँस्छन्, बाँच्छन् ।

काठमाडौं आउँदा रञ्जितले साह्रै मिस गर्ने एक साथी छन्, नोर्बु योञ्जन ।

भलै नोर्बु यस संसारमा अहिले छैनन् । तर, रञ्जित जब काठमाडौं आउँछन्, उनको स्मृति नोर्बु खोज्दै क्षेत्रपाटीतिर पुग्छ । जहाँ नोर्बुको घर थियो ।

‘संगीत कहिल्यै बदलिँदैन । सरगम त्यही हो । यति हो, संगीतलाई कतिले माथि उठाएर लगे । कतिले लत्ता छाडेर गए । लत्ता छाडेका संगीतहरुबारे मलाई केही भन्नु छैन ।’

दार्जिलिङमा कलेज पढ्दाखेरिसाथी बनेका थिए काठमाडौंका नोर्बु । तर, नोर्बु संगीतमा थिएनन् । पछि सन् १९६८ मा रञ्जित दुई छोरी र श्रीमती लिएर काठमाडौं आइपुगे । काठमाडौंमा कहाँ बस्ने, कहाँ खाने ? अत्तोपत्तो थिएन उनलाई । सिर्फ यति सुनेका थिए, काठमाडौंमा गाउन रेडियो नेपाल छ । काम गर्न ठूल्ठूला होटेल छन् । सँगै स्कुलहरुमा पनि पढाउन पाइन्छ ।

सुनेकै भरमा काठमाडौं छिरेका रञ्जितको नोर्बुसित भेट भयो ।

नोर्बुले सोधे, ‘तिमी कहाँ आएको ?’

‘कहाँ आउनु नि, काठमाडौं आएको ।’

‘कहाँ बस्दैछौ ?’

‘त्यही बस्ने जगा हेर्दैछु ।’
‘हैट, यसरी हुन्छ ?’, नोर्बुले रञ्जितलाई प्रश्न गरे । अनि रञ्जितको परिवारलाई लिएर क्षेत्रपाटीस्थित आफ्नो घरमा गए ।

‘उसले (नोर्बु) बावुआमा बस्ने कोठा खाली गरेर मलाई बस्न दिएको थियो । त्यो म कहिल्यै बिर्सदिनँ’, गला रोक्दै बोल्छन्, ‘ऊ संगीतमा थिएन । यसै साथी बनेको थियो । तर, साथीले आफ्नो घरका मान्छे खाली गराएर मलाई बस्न दिनु कम्ति ठूलो कुरा थिएन त्यसवेला ।’

०००

नेपाली संगीतको एक स्कुल अम्बर गुरुङ बिते । गोपाल योञ्जन बिते । अरुणा लामा बिते । नेपाली संगीतलाई उठाएका अरु थुप्रै उस्ताद संगीतकारहरुको देह यस संसारमा छैन ।

रञ्जित भने अहिले पनि संगीत भरिरहेका छन् । पुराना पुस्तासँग सहकार्य गरेका रञ्जितको अहिलेका नयाँ पुस्तासँग पनि सहकार्य जारी छ । तर, हिजोको संगीत र अहिलेको संगीतमा कत्तिको बदलाव महसुस गर्छन् रञ्जित ?

उनको सीधा जवाफ छ, ‘संगीत कहिल्यै बदलिँदैन । सरगम त्यही हो । यति हो, संगीतलाई कतिले माथि उठाएर लगे । कतिले लत्ता छाडेर गए । लत्ता छाडेका संगीतहरुबारे मलाई केही भन्नु छैन ।’

‘अहिले गाउनेहरुसँग कुनै गहिराइ छैन । संगीत सिकेर गाउनेहरुभन्दा पनि सुनेर गाउनेहरु धेरै छन् । संगीत त सिक्नैपर्छ । कोही गुरु हुनैपर्छ । नसिकेर बनाइएका संगीत भूईंफुटुवा जस्तै हुन्छ, त्यसको पात एक दुई दिनमा झरिहाल्छ ।’

पहिले संगीतमाथि धेरै मेहनत हुन्थ्यो । गाउन सिक्थे । अहिले त धेरैले मोबाइलबाटै सिक्छन् । एउटा कर्ड बनायो, सकियो । एउटा गीत चल्नासाथ गीत बनाउने र गाउनेले कोहीसँग बात गर्नै छाड्छन् । यस्तो दृश्यले चाहिँ रञ्जितलाई खिन्न बनाउँछ ।

रञ्जितले अरुणा लामादेखि अञ्जु पन्तकै पनि पहिलो गीतको कम्पोज गरेका थिए । अन्य गायकगायिकासँग पनि सहकार्य गरे ।
तर, रञ्जितको प्रस्ट विश्लेषण छ, ‘अहिले गाउनेहरुसँग कुनै गहिराइ छैन । संगीत सिकेर गाउनेहरुभन्दा पनि सुनेर गाउनेहरु धेरै छन् । संगीत त सिक्नैपर्छ । कोही गुरु हुनैपर्छ । नसिकेर बनाइएका संगीत भूईंफुटुवा जस्तै हुन्छ, त्यसको पात एक दुई दिनमा झरिहाल्छ ।’

रञ्जितले गायकगायिकालाई भन्ने एकै शब्द हो, ‘सिक्नुपर्छ ।’

‘अहिले त कतिले गाएका गीतहरुमा सुर लागेको हुँदैन । शब्द राम्रोसँग उच्चारण गर्न सक्दैनन् । ठीक तरिकाले गाउन सक्दैनन्’, उनी भन्छन्, ‘बिगारेर गाइएका गीतहरु त ठ्याक्कै थाहा भइहाल्छ ।’

०००

सन् १९६८ मा रञ्जित सपरिवार नेपाल आउनुको एकै कारण थियो, रेडियो नेपाल ।

उनले सुनेका थिए, नेपालमा रेडियो नेपाल छ रे ! त्यहाँ अवसर पाइन्छ रे !

अनि सपरिवार नेपाल आएका थिए ।

दार्जिलिङमै हुँदा संगीतकार नातिकाजीसँग रञ्जितको भेट भएको थियो । काठमाडौं आएपछि नातिकाजीले नै रेकर्डिङमा तबला, गितार बजाउन बोलाइरहन्थे । मादल चाहिँ त्यसवेला बजाउँदैन थिए । नातिकाजी ख्यालठट्टा गरिरहने स्वभावका थिए । रञ्जित त त्यसै पनि ह्युमर भएका दार्जिलिंगे । संगत जमिहाल्ने भयो । त्यसमा मुख्य त नातिकाजी आफ्नो समयका सबैभन्दा राम्रा संगीतकार थिए ।

काठमाडौं आउनुअघि नै रञ्जितले सन् १९६४ मा अरुणा लामाको स्वर र जितेन बर्देवाको शब्दमा गीत रेकर्ड गरिसकेका थिए, ‘फूल नखिली’ ।
काठमाडौं आएपछि रञ्जित बालकृष्ण समसँग पनि नजिक रहे । अन्य भूपि शेरचन, नारायणगोपाललगायतसँग नजिक रहे ।

न्युरोडमा डाँफे रेस्टुरेन्ट थियो । त्यसवेलाका कवि, लेखक, संगीतकारहरुको जमघट हुने स्थल । रञ्जित पनि त्यहाँ गइरहन्थे ।

लक्ष्मण तिवारी भन्ने रञ्जितका साथी मोमो खान उक्त रेस्टुरेन्ट गएका थिए । लक्ष्मणका साथी वसन्त श्रेष्ठले अंग्रेजी स्कुल खोल्न लागिरहेको, दार्जिलिङतिरका शिक्षक भए राम्रो हुने बताएछन् । अनि लक्षणले भनेछन्, ‘मसँग केही केटाहरु छन् उताबाट आएका ।’

‘अहिले त कतिले गाएका गीतहरुमा सुर लागेको हुँदैन । शब्द राम्रोसँग उच्चारण गर्न सक्दैनन् । ठीक तरिकाले गाउन सक्दैनन्’, उनी भन्छन्, ‘बिगारेर गाइएका गीतहरु त ठ्याक्कै थाहा भइहाल्छ ।’

त्यसवेला काठमाडौंमा अंग्रेजी पढाउन दार्जिलिङका शिक्षकको माग राम्रो थियो । उताबाट रञ्जित, पिटर जे कार्थक, अनुराधा कोइरालाहरु आएका थिए ।

अन्ततः रञ्जितले जागिर पनि पाए ।

स्कुलमा पढाउन सुरु गरे । रामशरण दर्नालले नेपाल एकेडेमीमा पनि जागिर मिलाइदिए । त्यसवेलासम्म अम्बर गुरुङ पनि राजा महेन्द्रले बोलाएपछि काठमाडौं नै आइसकेका थिए । दार्जिलिङकै माहोल सुरु भयो रञ्जितहरुको ।

तर, काठमाडौं आएको तीन वर्षपछि मुम्बईतिर हान्निए ।

०००

मुम्बई गएर रञ्जितले संगीतकार आरडी बर्मनसँग काम गर्न थाले । विशेष गरेर हिन्दी गीतहरुमा मादल बजाउन थाले ।

एकसेएक गायकहरुसँग काम गरे । लता मंगेशकर जस्ता गायिकाहरुसँग आमनेसामने बसेर काम गरे । तर, मुम्बई गएर जति सिके पनि रञ्जितलाई लाग्छ, ‘दुनियाँको जुनसुकै कुनामा पुगे पनि संगीत भनेको संगीत नै हो । यसको स्टाइलहरु मात्रै परिवर्तन हुन्छ । चालहरु परिवर्तन हुन्छन् । तर, सुर त त्यही नै हो ।’

आरडी बर्मन कसैले चिताउन नसक्ने प्रतिभा भएको रञ्जितको आँकलन छ ।

रञ्जित भन्छन्, ‘आइतबार रेकर्डिङ हुँदैन थियो । तर, आफ्ना केटाहरुलाई खुवाउनुपर्छ भनेर आफैं खाना बनाएर पालेसम्मलाई खुवाउनुहुन्थ्यो । उहाँको स्तर नै अलग्गै हो ।’

रञ्जितलाई लाग्छ, हामीले संगीत साह्रै हल्काफुल्का तरिकाले गर्ने गरेका छौं । यसको तुलनामा बलिउड धेरै नै गम्भीर भएको रञ्जितको अनुभव छ ।

रञ्जितका अनुसार लता मंगेशकर नै स्टुडियोमा पस्नासाथ सीधा गएर रेकर्डिस्टलाई ढोग्थिन् । लताको स्वरमा रेकर्डिस्टले काम गरिदिने भयो । रेकर्डिस्टले यताउतामात्रै गरिदियो भने त सक्कियो !

रञ्जित थप्छन्, ‘भारतमा सत्कार पनि भयंकर छ । सिनियरलाई एकदमै सम्मान गर्छन् । हाम्रोमा त्यस्तो संस्कार नै छैन ।’

केही समयअघि मुम्बईमा रञ्जितकहाँ गोपाल योञ्जनकी श्रीमती रिन्छेन योञ्जन पुगेकी थिइन् । गोपालमाथि के के काम गर्ने भनेर पुगेकी रिन्छेन एक स्टुडियोमा गइन् । जहाँ म्युजिकसियन आएर भ्वयोलिन खोलेर ढोग गरे । केही समय प्रार्थना गरे । अनिमात्रै काममा लागे ।

रञ्जित भन्छन्, ‘रिन्छेन त छक्क परिन् । यस्तो पनि हुँदो रहेछ भनिन् । त्यो त उनीहरुको रोजीरोटी हो, प्यासन हो । अनि आफ्नो क्षेत्रलाई त्यति सम्मान नगरेर हुन्छ ? नेपालमा त्यस्तो छैन ।’

रञ्जित भन्छन्, ‘नेपाली शास्त्रीय संगीत नै छैन । हामीले क्लासिकल भन्नासाथ भारतीय क्लासिकलको सहारा लिनुपर्छ । हाम्रो गीतका लागि त हामीले गाउँगाउँ पसेर लोकगीतहरु खोज्नुपर्छ । तर, यस्तो गर्ने फुर्सद कसलाई ? सबैलाई आफ्नो मानो भर्दैमा ठिक्क छ ।’

यस्तै यस्तै कारणले पनि नेपाली संगीत कमजोर भएको लाग्छ रञ्जितलाई । बलिउडबाट त पूर्ण रुपमा प्रभावित हो भन्ने लाग्छ ।

‘अहिले सबै गीतहरु बलिउड जस्तै बनाउँछन् । सबैले नक्कल गर्छन्’, रञ्जित भन्छन्, ‘नेपाली शास्त्रीय संगीत नै छैन । हामीले क्लासिकल भन्नासाथ भारतीय क्लासिकलको सहारा लिनुपर्छ । हाम्रो गीतका लागि त हामीले गाउँगाउँ पसेर लोकगीतहरु खोज्नुपर्छ । तर, यस्तो गर्ने फुर्सद कसलाई ? सबैलाई आफ्नो मानो भर्दैमा ठिक्क छ ।’

०००

दार्जिलिङमै हुँदा सबैको टाउको थिए अम्बर गुरुङ । अम्बर गुरुङको पछिपछि थिए रञ्जित, अरुणा, शरण प्रधान, कर्मा योञ्जन, गोपाल योञ्जनलगायत ।

अरुणा त रञ्जितको ‘तँ तँ, म म’को साथी थिइन् । अरुणाका गीतहरुमा तबला बजाउने रञ्जित नै हुन्थे । कर्मा योञ्जनले हार्मोनियम बजाउँथे । गोपाल योञ्जन बाँसुरी बजाउँथे । शरण प्रधान मेन्डोलिन बजाउँथे । पिटर जे कार्थकको दिदीको छोरा ललित तामाङ गितार बजाउँथे ।

रञ्जितलाई लाग्छ, गोपाल योञ्जन ट्युनभन्दा पनि शब्द एकदमै राम्रा लेख्थे । अम्बर गुरुङ भने ट्युन साह्रै राम्रो बनाउँथे ।

अलि पछि भारतीय सरकारले दार्जिलिङमा फोल्क इन्टरटेनमेन्ट सेक्सन भन्ने संस्था खोल्यो । अम्बर गुरुङले त्यहाँ काम पाए । गोपाल, शान्ति ठटालले पनि काम पाए । अम्बर गुरुङ त्यता व्यस्त भएपछि रञ्जितहरुको समूह अलि धर्मरायो ।

यताउता कार्यक्रममा आउने, जाने चाहिँ भइरहन्थ्यो । त्यसैवेला अरुणाले रञ्जितलाई भने, ‘हामी अलग्गै केही गरौं न ।’

यसपछि संगम नामक संस्था जन्मियो । संगीत गर्नलाई शरण प्रधान र रञ्जित मिले- शरण रञ्जित । गीत लेख्नलाई जितेन बर्देवा । समूहको नेतृत्व अरुणाले गरिन् ।

अरुणाबारे रञ्जितको बुझाइ छ, ‘गाउनेहरु त अहिले पनि एकसेएक छन् । तर, अरुणाले जुन डेडिकेसनका साथ गाउँछिन्, जसरी गाउँछिन्, बयान गरिसाध्ये छैन ।’

अहिले पनि नेपाल आउँदा ती सबैलाई सम्झन्छन् रञ्जित । उनलाई नेपालमै बसुँ भन्ने पनि नलाग्ने होइन । तर, उनका सबै परिवार मुम्बईतिरै छन् । रञ्जित भन्छन्, ‘कति नै टाढा हो र मुम्बई र काठमाडौं । कसैले माया गरेर बोलाए त आइरहन्छु नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *