गाँजा खेती वैधानिक गर्नुपर्ने पक्षपातीहरुको दाबी- यो नशा होइन, पैसा हो – Nepal Press

गाँजा खेती वैधानिक गर्नुपर्ने पक्षपातीहरुको दाबी- यो नशा होइन, पैसा हो

काठमाडौं । नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग नयाँ होइन । नेपालमा गाँजा प्राकृतिक रुपमै उम्रने विरुवा हो । जसको औषधीय तथा धार्मिक प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ ।

गाँजालाई मादक पदार्थको रुपमा पनि प्रयोग गरिन्छ । नेपालमा लागुऔषधको प्रयोग गाँजाबाटै सुरु भएको मानिन्छ । नेपालमा गाँजाकै कारण बाह्य पर्यटन सुरु भएको बताइन्छ । हुन पनि त्यसबेला गाँजा खानकै लागि भनेर नेपाल आउने बाह्य पर्यटकहरुको संख्या कम थिएन । जसले नेपालमा विकृति बढेको तथा यहाँ युवाहरु पनि गाँजाको अम्मली भएको भन्दै सरकारले यसलाई नियमन गर्न लागुऔषध ऐन २०३३ ल्याएको थियो । तर, उक्त ऐनले गाँजालाई मादक पदार्थमा राखे पनि यसको खेतीबारे केही बोलेको छैन ।

यही ऐनमा टेकेर प्रहरीले गाँजा ओसारपसार गर्नेलाई पक्राउ गर्ने तथा लागुऔषध मुद्दा चलाउँदै आएको छ । जसअनुसार गाँजा मुद्दामा हाल नेपाली कारागारमा सयौं जना कैदी छन् । तैपनि यसको लुकीछिपी खेती रोकिएको छैन, ओसारपसार तथा बिक्री वितरण घटेको छैन ।

सँगसँगै गाँजा खेतीलाई खुला गर्नुपर्ने बहस तथा अभियान अघि बढिरहेको छ । २०७६ सालमा प्रतिनिधिसभाकै गाँजा खेती खुलाउनुपर्ने विधेयक दर्ता भयो । पूर्वकानूनमन्त्री एवं तत्कालीन प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले गैरसरकारी विधेयकको रुपमा ‘गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक’ दर्ता गरेका थिए ।

यसबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ मा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेपछि गाँजा वैधानिक बनाउनुपर्नेका पक्षपातीहरु उत्साहित भएका छन् ।

यसैबीच राजधानीमा बुधबार नेपालमा गाँजा खेतीलाई वैधानिक बनाउनेसम्बन्धी बहस कार्यक्रम आयोजना गरिएको छ । लागुपदार्थ दुर्व्यसन तथा एचआईभी संक्रमणको उपचार तथा पुनःस्थापनामा काम गर्दै आएका निर्णय र सुरुवातले उक्त बहस कार्यक्रम गरेका हुन् ।

बहसमा सहभागी प्रतिनिधिसभाका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता विराजभक्त श्रेष्ठ, गाँजासम्बन्धी विधेयक दर्ता गरेका पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ, काठमाडौं विश्वविद्यालयको गाँजा अनुसन्धान केन्द्रका कोअर्डिनेटर डा. पन्ना थापा, गाँजा वैधानिक बनाउनुपर्ने पक्षपाती राजीव काफ्लेलगायतले गाँजा नशा नभई पैसा भएकाले सरकारले यसको खेतीलाई वैधानिक बनाउनुपर्नेमा जोड दिए ।

गाँजा खेतीलाई औषधि र उद्योगको लागि वैधानिक गरेसँगै नेपालको आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने उनीहरुको तर्क थियो । उनीहरुका अनुसार गाँजा खेतीबाट आठ वटा क्षेत्रका ४६ वटा उद्योग सञ्चालन गर्न सकिन्छ । जसमा हजारौं युवाहरुलाई रोजगारी दिन सकिने र अर्बौंको लगानीमा खर्बौं आम्दानी गर्न सकिने उनीहरुको दाबी थियो ।

उनीहरुका अनुसार गाँजाको जरादेखि फूलसम्मको प्रयोग गर्न सकिन्छ । यसको जरा तथा डाँठबाट आउने फाइबरबाट कपडा, बायोडिग्रेबल झोला, बीउ र फूलबाट औषधीय तेललगायत उत्पादन हुन्छ ।

बहसमा उनीहरुले चार वर्षअघि प्रतिनिधिसभामा दर्ता भएको गाँजासम्बन्धी विधेयकलाई अहिलेको संसदमा टेबल गर्न माग गरे ।

पूर्वकानूनमन्त्री तामाङले गाँजा खेतीलाई वैधानिकता दिएसँगै गाउँठाउँमै युवाहरुलाई रोक्न सकिने दाबी गरे । गाउँमा रोकिएका युवाहरुले अरु बाँझो खेत खन्ने र अर्गानिक उत्पादन थाल्ने उनको भनाइ थियो ।

‘गाँजा खेती गर्न गाउँठाउँमै बस्ने युवाहरुले अरु बाँझो खेत पनि खन्नेछन् । उत्पादन बढाउन पशुपालन गर्न थाल्नेछन् । यसले नेपालमा कृषिमा कृषि उत्पादन बढ्नेछ’, उनले भने, ‘यसले नेपालमा नयाँ कृषि क्रान्ति नै ल्याउँछ ।’

प्रतिनिधिसभामा दर्ता गरिएको विधेयकबारे चर्चा गर्दै उनले बजेटले सम्बोधन गरिसकेकाले उक्त विधेयकलाई संसद बैठकमा छलफलको लागि टेबल गर्न सरकारसँग आग्रह गरे ।

रास्वपाका उपनेता श्रेष्ठले गाँजाले पहिरो नियन्त्रणसँगै पानी शुद्धीकरण गर्ने अध्ययन अनुसन्धानले देखाएको बताए । जसअनुसार विष्णुमती नदी सफाइअन्तर्गत नदी किनारमा गाँजाको बोट रोपेर परीक्षण गर्न लागिएको उनले जानकारी दिए ।

सांसद श्रेष्ठले नेपालमै गाँजा खेती हुँदाहुँदै सिंहदरबार वैद्यखानाले औषधिको लागि भारतबाट किन्ने गरेको आफूले सुनेको औंल्याए । तर, बुझ्दै जाँदा वैद्यखानाले भारतबाट किन्ने गरेको गाँजा नेपालकै रहेको बुझिन आएको उनको भनाइ थियो । सांसद श्रेष्ठले यसबारे अध्ययन अनुसन्धान हुनुपर्ने बताए ।

उनले गाँजा खेतीसम्बन्धी कानून निर्माण सँगसँगै समाजमा जनचेतना फैलाउन सके देशलाई नै फाइदा पुग्ने बताए ।

काठमाडौं विश्वविद्यालयको गाँजा अध्ययन केन्द्रका कोअर्डिनेटर डा. पन्ना थापाले कानून नहुँदा गाँजासम्बन्धी अध्ययन अनुसन्धान गर्न नै समस्या भएको सुनाए । गाँजाको औषधीय तथा औद्योगिक महत्व धेरै भए पनि नेपालको आफ्नै अध्ययन नहुँदा समस्या भएको उनको भनाइ थियो ।

गाँजालाई वैधानिकता दिनुपर्ने पक्षमा अभियान चलाउँदै आएका राजीव काफ्लेले सरकारले गाँजा खेतीलाई वैधानिकता नदिए आफूहरु सडकमा आउन बाध्य हुने चेतावनी दिए ।

त्यस्तै गाँजाको फाइबरबाट बन्ने कपडालगायतको व्यवसाय गर्दै आएका उद्यमीहरु गणेश ऐडी र ईशा क्षेत्रीले गाँजालाई नशाको रुपमा भन्दा नगदे बाली र औद्योगिक कच्चापदार्थको रुपमा बुझ्न र बुझाउनुपर्ने आवश्यकता औंल्याए । उनीहरुले वैदेशिक रोजगारीबाट भन्दा गाँजा खेतीमा धेरै पैसा रहेको बताए ।

बहसमा सहभागी सरोकारवालाहरुले युवाहरुमा पर्ने प्रभाव र असरबारे अध्ययन नगरी गाँजा खेतीलाई वैधानिकता दिन हतार गर्न नहुने बताए । उनीहरुले युवाहरुलाई उद्यमी बनाउने नीति, योजना र कार्यक्रम नभई गाँजा खेतीलाई वैधानिकता दिँदा उनीहरु गँजेडीमात्रै बन्नेतर्फ सबै सचेत हुनुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर