डिल्लीबजार बस्न खोजेका शरणार्थी प्रकरणका थुनुवालाई यसकारण पठाइयो सेन्ट्रल जेल – Nepal Press

डिल्लीबजार बस्न खोजेका शरणार्थी प्रकरणका थुनुवालाई यसकारण पठाइयो सेन्ट्रल जेल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेश आएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती उनलाई डिल्लीबजार कारागारमा पठाइदिनु पर्‍यो भन्दै फाँटसम्म पुगेका थिए ।

तर, फाँटका कर्मचारीले न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेशमा केन्द्रीय कारागार सुन्धारामा पठाउनु भनेर लेखेको बताएपछि खाती खिन्न भए । खाणमात्र होइन, यो प्रकरणमा मुद्दा पुर्पक्षका लागि कारागार चलान हुने आदेश भएका १६ जनै प्रतिवादी डिल्लीबजार कारागारमा बस्न चाहन्थे ।

तर, आदेशमै केन्द्रीय कारागार लेखिएका कारण प्रहरीले उनीहरूलाई केन्द्रीय कारागार पुर्‍यायो । डिल्लीबजार कारागार हाइप्रोफाइइल थुनुवाको रोजाइमा पर्नेगर्छ । कम थुनुवा रहेको, बस्न सजिलो भएको र भेटघाट गर्न पनि सजिलै पाइने भएकाले डिल्लीबजार कारागारमा थुनुवाहरू जान चाहने गरेको बताइन्छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पान्डेले पछिल्लो समय काठमाडौं जिल्ला अदालतले अधिकांश थुनुवालाई केन्द्रीय कारागार पठाउने गरेको बताउँछन् ।

‘प्रायजसो काठमाडौं जिल्ला अदालतले केन्द्रीय कारागार पठाउने गरेको छ’, पाण्डले भने । केन्द्रीय कारागारका अधिकारीहरू सुरूमा केन्द्रीय कारागार पठाउने र त्यसपछि आवश्यकता र चाहनाअनुसार अन्य कारागार स्थानान्तरण हुने गरेको बताउँछन् ।

‘थुनुवा व्यवस्थापनमा सजिलो होस् भनेर सुरूमा काठमाडौं जिल्ला अदालतले केन्द्रीय कारागार पठाउने गर्छ। त्यसपछी यहाँबाट आवश्यकताअनुसार अन्य कारागार स्थानान्तरण गर्छौँ’, केन्द्रीय कारागार स्रोतले भन्यो । आइतबारको तथ्यांकअनुसार केन्द्रीय कारागारमा मात्र ३ हजार ३ सय ९५ कैदीबन्दी छन् । त्यसमा २ सय ४७ जना विदेशी र ४ सय ३२ जना महिला छन् । उता डिल्लीबजार कारागारमा भने करिब ७ सयको हाराहारीमा कैदीबन्दी रहेका छन् ।

केन्द्रीय कारागार स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कसैलै पनि कारागार स्थानान्तरणका लागि हालसम्म निवेदन दिएका छैनन् । यसअघि चार्ल्स शोभराजलगायत उच्च सुरक्षा जोखिममा रहेकालाई राखिँदै आएको गोलघरमा अहिले ४ जना कैदीबन्दी छन् । त्यसमा ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा नाइकेको भूमिकामा रहेका चुणामणी उप्रेती ‘गोरे’ सहितका छन् ।

हाल डिल्लीबजारमा कारागारमा रहेका हाइप्रोफाइल कैदीबन्दीमा इच्छाराज तामाङ छन् । उनी पूर्वसांसद हुन् । टीकापुर घटनामा आममाफी पाएर छुटेका रेशम चौधरी पनि सोही कारागारमा थिए । जबर्जस्ती करणी उद्योगको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा पनि डिल्लीबजार कारागारमै बसेका थिए ।

सुडान घोटालामा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वआईजीपीहरूलाई पनि डिल्लीबजार कारागारमा राखिएको थियो । काठमाडौं उपत्यकामा रहेका तीनवटा कारागारमध्ये ललितपुरस्थित नख्खु कारागारमा नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम र पूर्वसांसद सञ्जय शाह छन् । दुवैजना दुई फरक विस्फोटका घटनामा थुनामा रहेका छन् ।

कारागार व्यवस्थापन विभागको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार देशभर रहेका ७४ कारागारमा २७ हजार ६ सय ३१ जना केदीबन्दी छन् । त्यसमा महिला १५ सय ३८ जना र विदेशी १३ सय ६८ जना रहेका छन् । यस्तै देशभर रहेका ८ वटा बाल सुधारगृहमा ११ सय २० जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर